मैले अनशन तोडेको होइन् स्थगित गरेकी हुँ : गंगामाया

मैले अनशन तोडेको होइन् स्थगित गरेकी हुँ : गंगामाया


यो धर्तिमा आमालाई मात्रै आफ्ना सन्तानको माया हुन्छ । यही मायाले गर्दा नै होला सशस्त्र माओवादी द्धन्दकालमा आफ्नो छोरा गुमाएकी गोरखा फुजेलकी गंगामाया पटक पटक आमरण अनशनमा बस्दै आएकी छिन् । उनले त्यही न्याय प्राप्तीका लागि आफ्नो श्रीमान् पनि गुमाउनुभएको छ । सरकार भने उनलाई न्यायको आश्वासन दिन्छ तर न्याय भने दिदैन् ।
जेठ १५ देखि अनशनमा बसेकी गंगामाया अधिकारीले शुक्रबार साँझ अनशन स्थगित गरेकी छिन् । उनले १० दिनभित्र माग पुरा नभए ११ औं दिनदेखि पुनः अनशन बस्ने चेतावनी सरकारलाई दिएकी छिन् ।
न्यायका लागि पटक पटक अनशन बस्दै आउनुभएकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानूनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस पिलाएर अनसन तोडाएका हुन् । अनशन तोडेसँगै पीडित गंगामायाले आफूले अनशन नतोडेको भन्दै केही दिनका लागि स्थगित गरेको बताइन् । उनले मुलुकमा शान्ति स्थापना भएपछि धेरै सरकार आएको तर न्याय नपाएकोमा दुखी भएको स्पष्ट पारिन् ।
पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने र त्यसको अनुगमन गरी प्रतिवेदन तयार पार्न सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहने समिति बनाउने सहमतिका साथ गंगामायाले अनशन स्थगित गरेकी हुन् ।
उनको उपचार खर्च सरकारले ब्योहोर्ने, जीवन व्यवस्थापनका लागि सरकारले एक करोडको अक्षयकोष खडा गर्ने, त्यसको ब्याजबाट उनको जीवन निर्वाहका लागि खर्चको व्यवस्था गर्ने, द्वन्द्वकालका अपराधिक घटनामा कारवाही गर्नुपर्छ भन्ने उनको धारणा छ । गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छिन् । गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादको २०६१ सालमा माओवादीले चितवनमा हत्या गरेका थिए । छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले असनसन सुरु गरेका थिए । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असार ६ गते निधन भएको होे । अधिकारीको शव अझै त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छ ।