पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई स्वदेश फर्केलगत्तै पक्राउ गर्ने तयारी

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई स्वदेश फर्केलगत्तै पक्राउ गर्ने तयारी


भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् ।

उनी बेलायतको लन्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । लाहोरबाट प्राप्त समाचारअनुसार उनलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरूले जनाएका छन् ।

उनलाई शुक्रबार विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गर्न सकिने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका छन् ।

स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका छन्, ‘म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन् ।’

सरिफलाई १० वर्षको जेल सजायको फैसला हालै मात्र सुनाइएको हो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष काराबासको फैसला गरेको हो ।

यही जुलाई २५ मा पाकिस्तानमा आमनिर्वाचन हुन लागेको छ । त्यस निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् ।

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लन्डनमा बस्दै आएका थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।

नेता सरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनीमाथि लागेको आरोप सरिफ र उनका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो ।