मौद्रिक नीतिले पत्याएन शेयर बजारलाई, बिहीबार दोहोरो अंकको गिरावट

मौद्रिक नीतिले पत्याएन शेयर बजारलाई, बिहीबार दोहोरो अंकको गिरावट


साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा गिरावट देखिन थालेको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान उन्मुख मौद्रिक नीति आएको प्रतिकृया आइरहेका बेला शेयर बजार १३.६६ अंकले घटेको छ । १.१३ प्रतिशतले घटेको शेयर बजारमा ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक तथा उपसूचक ओरालो लागेका छन्। आज सबैभन्दा धेरै लक्ष्मी बैंकको ६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागवेली लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशतले गुमाएका छन्।

लगानीकर्ताले शेयर धितो ऋणको सिमा ५० प्रतिशतबाट बढाउन सुझाव दिए पनि मौद्रिक नीतिमा संवोधन नहुँदा लगानीकर्ता निरास भएका छन ।

बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा केही राम्रा व्यवस्थाहरु गरिएको भए पनि बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको कारण लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसअघि प्राथमिक पूँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । तर, मौद्रिक नीतिले सेयर बजारको दायरालाई फराकिलो बनाउन वाणिज्य बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स खुल्ला गरेको छ ।