५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो

५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो


कृषिमा यान्त्रिकीकरण बढाउन बाग्लुङको जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ ।

यान्त्रिक हलो पाउनेमा नगरपालिकाभित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालू आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

वडा नं. ७ को धवलागिरि कृषि सहकारी, वडा नं. ३ को प्रगतिशील कृषक समूह, वडा नं. ५ को सूर्यदल कृषक समूह तथा वडा नं. ३ का सूर्यबहादुर पुन, २ का गंगाधर सापकोटा, ५ का तिलबहादुर जीसी, ८ का होमनाथ पौडेल, शिव शर्मा र नरबहादुर पुन तथा वडा नं. १० का नरबहादुर श्रीसलाई यान्त्रिक हलो प्रदान गरिएको हो ।

५० हजार रुपैयाँ पर्ने यान्त्रिक हलो कृषकले रु. २५ हजारमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्नेछ । कृषकलाई ११ हजार कागती र सुन्तलाका बिरुवा पनि निःशुल्क वितरण गरिएको छ ।