गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालले सुविधासम्पन्न नयाँ भवन पाउने

गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालले सुविधासम्पन्न नयाँ भवन पाउने


– हेमशंकर सिंह

राजविराज । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सबैको साथ र सहयोगबाट मात्र विकास सम्भव रहेको बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा आयोजना गरेको सप्तरीको समग्र विकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विकासका लागि सामाजिक चेतना अति आवश्यक रहेको भन्दै उनले विकास हाम्रो हो भन्ने भावना सबैको मानसिकतामा परिवर्तन आउन जरुरी रहेको बताए । सप्तरी विकासको क्रममा धेरै पछि परेकोमा चिन्ता व्यक्त गर्दै यादवले परम्परागत सोचलाई त्यागेर सबै मिली सप्तरीको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कसैको एक्लो प्रयासले मात्र विकास नहुने प्रष्ट पार्दै उनले विकासका निम्ति सरकार र जनता दुवै मिले मात्र विकासले गति लिनेमा जोड दिए ।

परीक्षामा अभिभावकले चिटिङ गराउने गलत प्रवृत्तिका कारण सप्तरीमा शिक्षाको गुणस्तरमा कमी आएको आरोप लगाउँदै यादवले भने, अभिभावकले परीक्षा दिएर पास भएको विद्यार्थीको भविष्य के हुन्छ ?

गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने सुझाव दिँदै उनले स्वस्थ शरिर र तिखो मस्तिष्कका जनशक्ति उत्पादनले मात्र विकासमा टेवा पुग्ने बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा चाँडै ७६ करोडको लगानीमा आधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने जानकारी उनले दिए ।

कार्यक्रममा प्रदेश नम्बर २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको विकासमा लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानको अध्यक्षतामा सम्पन्न अन्तिरक्रियामा सप्तरीका स्थानीय तहका प्रमुख, उद्योगी व्यावसायी, राजनीतिकर्मी, संचारकर्मी, नागरिक समाज, सरोकारवाला संस्था र सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।