भ्रष्टाचारको मुद्दामा तानिँदै विश्वका नेता

6 Shares

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर, यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ ।

यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एकपछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।

शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सम्पत्तिको हिनामिना गरेको भन्दै पछिल्लो दुई सातामा मलेसिया र पाकिस्तानका पूर्वप्रधानमन्त्री यो मुद्दामा तानिए । संसारभर नै भ्रष्टाचारका कारण नैतिकता र राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनताप्रति इमानदार छैनन् भन्ने पनि पछिल्ला यी घटनाले प्रस्ट पारेको छ ।

विश्व बैंकको पछिल्लो एक तथ्याङ्कअनुसार हरेक वर्ष एक खर्ब २५ अर्ब डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । विश्वभर नै भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न ट्रान्सपरेन्सी इन्टरनेसनले भ्रष्टाचार संस्कृतिको रूपमा फैलँदै गएको र त्यो भयावह रहेको जनाएको छ ।

उसले भनेको छ, ‘सार्वजनिक खरिद प्रक्रियामा रहने छिद्रका कारण आममानिसले थाहा नपाउने गरी नै भ्रष्टाचार हुने गरेको छ ।’ ट्रान्सपरेन्सीले थप भनेको छ, ‘संसारका धनी वा गरिब सबै देशमा भ्रष्टाचार महारोगका रूपमा फैलिएको छ र त्यसले हरेक वर्ष ४०० बिलियन अमेरिकी डलरबराबरको हानी नोक्सानी गरेको छ ।’

सत्ताको बलमा कानुन मिच्ने, आफ्ना नातागोता र आफन्तमार्फत अकुत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारमै रोगजस्तै फैलिएको छ । सभ्य भनिने संसारलाई चुनौती दिने अनियमितता रोक्न भनेर गरिएका प्रयाससमेत फितलो र कामकाजी बन्न सकेका छैनन् ।

केही दिन पहिले मात्रै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक पक्राउ परे । ९२ वर्षीय महाथिर पुनः सत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दा बढी समय बिताएका रजाकमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । यो एउटा सामान्य परिघटना मात्रै थिएन । शक्तिको बलमा राज्यको साधन र स्रोतमाथि कुन हदसम्मको बदमासी गरिन्छ भन्ने उदाहरण पनि हो ।

पूर्वप्रधानमन्त्री रजाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ । सो आरोपको पुष्टि होला वा नहोला त्यो भने आगामी दिनमा नै थाहा होला तर, जुन प्रवृत्तिका कारण पूर्वप्रधानमन्त्री समातिए त्यसले भने भ्रष्टाचारविरुद्धको लडाइँ सरल र सहज छैन भन्ने देखाइदिएको छ ।

मलेसियाको एक अनुसन्धान निकायले रजाकका श्रीमतीका गरगहना, बहुमूल्य सामान र नगद गरी २७ करोड डलरबराबरको सम्पत्तिसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वप्रधानमन्त्रीका आफन्त, नातागोता तथा उहाँको कार्यकालमा हर्ताकर्ता बनेकामाथिसमेत छानबिन शुरु गरेको अनुसन्धान संस्थाले जनाएको छ ।

रजाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर, सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारबाही गर्ने जनाएको छ । पूर्वप्रधानमन्त्रीमाथिको आरोपको पुष्टि भए या नभए पनि राजनीतिक नेतृत्व जनताप्रति इमानदार रहेनछ भन्ने सो घटनाले प्रस्ट देखाउँछ । सत्ता र शक्ति पाएपछि विगतमा इमानदार भनिएका पनि भ्रष्टाचारको आहालमा नराम्ररी डुब्दा रहेछन् भन्ने सो घटनाले प्रस्ट संकेत गर्दछ ।

राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सम्पत्ति जोडने संस्कृति राजनीतिक नेतृत्वमा हाबी भएको छ ।

यस्तै पछिल्लो उदाहरण बनेको छ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नीको मुद्दा । प्रधानमन्त्रीको सरकारीनिवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरुपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोप पूर्वप्रधानमन्त्रीपत्नी सारामाथि लागेको छ ।

उनान्साठी वर्षीया सारामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलिरहेको छ । सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उहाँको परिवार र पाहुनाका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरी नक्कली बिल पेस गरेको आरोप लागेको छ ।

त्यस्तै, भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तीन दिन पहिले दश वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले उहाँलाई लन्डनमा किनेको चारवटा सुविधासम्पन्न ‘फ्ल्याट’सँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अदालतले सरिफकी छोरी मर्याम नवाज सरिफलाई सात वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दिएको छ । नवाज सरिफले भने यसलाई राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । सरिफ र उनकी छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलायतमा छन् । न्यायाधीश मोहम्मद बासिरले सरिफलाई आफ्नो आम्दानीभन्दा बढीको सम्पत्ति राखेकोमा दश वर्ष र भ्रष्टाचारको मुद्दा हेरिरहेको नेसनल एकाउन्टबिलिटी ब्युरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाएको छ ।
राज्यको साधनस्रोतको दुरुपयोग गर्ने, व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको यी घटनाक्रमले पुष्टि गरेको छ ।

कतिपय मुद्दा भने राजनीतिक विचार र सिद्धान्तसँग जोडिएर आएका छन् । तर, धेरैजसो मुद्दा भने चरम राज्य शक्तिको दुरुपयोगले निम्त्याएको लुटको शृंखलाको रूपमा देखिन्छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गे उन हाईलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा गत वर्ष पक्राउ गरियो । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको छ ।

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गेउन हेई पहिलो महिला भए पनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनी तेस्रो राष्ट्रपति हुन् । उनीपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ ।

पदमा नै रहेका बखत उनीमाथि लागेको अभियोगले संसार हल्लाइदिएको थियो । उनलाई अदालतले दोषी ठहर गर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्वराष्ट्रपतिको बाँकी जीवन काराबासमा नै बित्ने निश्चित भएको छ ।

यसैवर्ष दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिए । उनलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । सन् २००९ देखि लागेको आरोप २०१८ मा आइपुग्दा पुष्टि भयो र पद छाडे ।

भ्रष्टाचारको शृंखलाबाट बंगलादेश पनि अछुतो छैन । पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ । खालिदाले बंगलादेशमा १० वर्ष प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेकी थिइन् । उनमाथि राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बंगलादेशमा राजनीतिक रूपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकले बताएका छन् ।

यस्तै, फुटबलको महाशक्ति मानिने ब्राजिलका पूर्वराष्ट्रपति लुला डी सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ । सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ । तर, सिल्भाले भने निकट भविष्यमा हुन लागेको राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्न भ्रष्टाचारको नाटक रचिएको प्रतिक्रिया दिँदै आएका छन् ।

पेरूमा पनि पूर्वराष्ट्रपति पाब्लोमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ । भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।

कुनै समय शक्तिशाली र लोकप्रिय नेता एकपछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् । यसले राजनीतिक इतिहास र बिरासतको बदनाम गर्ने मात्र होइन कि विगतका आदर्शका शिखरहरू पनि एकाएक ढलेका छन् । कानुनभन्दा माथि कोही पनि रहेका छैनन् र हुँदैनन् भन्ने पनि पछिल्ला यी उदाहरणले देखाएको छ । धेरैजसो मुलुकमा भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि नै प्रश्नचिह्न लाग्न थालेको छ । यसलाई सम्बोधन गर्न विश्व समुदायले कस्तो प्रयास गर्ने हो भन्ने विषय त भविष्यकै गर्भमा छ ।

– रमेश लम्साल (रासस)

6 Shares

प्रतिक्रिया