पोखराको पर्यटन प्रवर्द्धनका लागि व्यवसायी र पत्रकारको टोली भारततर्फ

पोखराको पर्यटन प्रवर्द्धनका लागि व्यवसायी र पत्रकारको टोली भारततर्फ


पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली आज बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

पश्चिमाञ्चल होटेल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो ।

विशेषगरी भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारततर्फ प्रस्थान गरेको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए ।

‘पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवम् पहाडी दृश्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ,’ उनले भने, ‘विगत ६ वर्षयता निरन्तर सञ्चालन गरिएको यो कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा निकै वृद्धि भएको छ ।’

पोखरा आउने भारतीय पर्यटक हिमाली दृश्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् ।

पश्चिमाञ्चल होटेल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

पोखरामा आउने कुल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको पनि उनले जानकारी दिए ।

पाँचदिने सो भ्रमण कार्यक्रमका क्रममा टोलीले लखनउ, पटना, बनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिने होटेल संघका सचिव गणेश पहारीले जानकारी दिए ।