ओलम्पिक कमिटीको विवाद सकियो-श्रीविक्रम भण्डारी

ओलम्पिक कमिटीको विवाद सकियो-श्रीविक्रम भण्डारी


लामो समयसम्म चलेको नेपाल ओलम्पिक कमिटीको विवाद हालै समाप्त भएको छ । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानको चारवर्षो कार्यकाल समाप्त भएपछि गरिएको विशेष साधारणसभाले पुन: प्रधानलाई ओलम्पिक कमिटीको नेतृत्व सुम्पिएको हो । देशकाल र परिस्थितिलाई आत्मसात् गर्दै एनओसीले गत फागुन २७ मा साधारणसभा गरी दुई वर्षका लागि आफ्नो कार्यकाल बढाएको थियो । एनओसीको उक्त कदमलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आईओसी) ले मान्यता नदिएपछि एनओसीले पुन: विशेष साधारणसभा गर्न बाध्य भएको थियो । सातदोबाटो स्थिति एनओसीको भवनमा सर्वसम्मतबाट भएको उक्त निर्वाचनमा अन्तर्राष्ट्रिय प्रतिनिधिको रूपमा आईओसीका एनओसी रिलेसन म्यानेजर ओलिभियर नेम्किन र ओसिएका एसियन गेम्स म्यानेजर हैदर फरमानको उपस्थिति रहेको थियो ।
एनओसीको नयाँ १७ सदस्यीय कार्यसमितिमा ध्रुवबहादुर प्रधान अध्यक्ष (जिम्न्यास्टिक) रहेका छन् भने उपाध्यक्षमा उमेशलाल श्रेष्ठ (हकी), गंगाबहादुर थापा (भलिबल), सीताराम मास्के (भारोत्तोलन) र धीरेन्द्र प्रधान (फुटबल) रहेका छन् । त्यस्तै महासचिवमा जीवनराम श्रेष्ठ (स्की), सहमहासचिवमा टेन्डी शेर्पा (बास्केटबल) र कोषाध्यक्षमा छिमी उर्गेन गुरुङ (साइक्लिङ) रहेका छन् । साथै सदस्यहरूमा गीता राणा (पौडी), ज्योति राणा (लनटेनिस), चतुरानन्द वैद्य (टेबुलटेनिस), राजीव श्रेष्ठ (बक्सिङ), रामजीबहादुर श्रेष्ठ (ब्याडमिन्टन), लक्ष्मण श्रेष्ठ(आर्चरी), रवि राजकरि्णकार(एथलेटिक्स), पुरेन्द्रविक्रम लाखे (कराते) र सुनिल राजकरि्णकार? कबड्डी) रहेका छन् । एनओसीको २५ सदस्य सङ्घमध्ये २३ सङ्घको विशेष साधारणसभामा उपस्थिति रहेको थियो । वर्तमान एनओसीको कार्यसमितिमा सातवटा नयाँ अनुहार परेका छन् ।
त्यस्तै ध्रुवबहादुर प्रधानको नेतृत्वमा रहेको ओलम्पिक कमिटी नै आधिकारिक भएको बताउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुक्मशमशेर राणालाई पत्राचार गरेको छ । पत्रमा राष्ट्रिय ओलम्पिक कमिटीको आधिकारिकताको बारेमा निर्णय गर्ने अधिकार आईओसीलाई मात्र भएको उल्लेख गर्दै ओलम्पिकको नाम र लोगो प्रयोग गर्ने अधिकार आईओसी र उसका सदस्यको मात्र भएको खुलासा गरिएको छ । साथै राणालाई पठाइएको पत्रमा नेपालको निर्वाचनको प्रक्रियाको बारेमा आईओसीलाई सम्पूर्ण जानकारी भएको उल्लेख गर्दै प्रधानको नेतृत्वको एनओसी नै आधिकारिक भएको बताइएको छ । स्मरणीय छ, सर्वोच्च अदालतले राणाको नेतृत्वमा रहेको एनओसीलाई वैधानिक भएको फैसला सुनाएको थियो । जसको आधारमा नेपालमा दोस्रो ओलम्पिक कमिटी पनि अस्तित्वमा आएको छ ।
ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतको फैसला आफ्नो ठाउँमा भए पनि एनओसीको नयाँ कार्यसमितिको गठनले खेलकुदको नयाँ मार्ग भने खुलाइदिएको छ । एनओसीको विवादले नेपाली खेलकुदमा परेको प्रत्यक्ष प्रभाव र अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको भविष्यको बारेमा लागेको प्रश्नचिह्नलाई नयाँ निर्वाचनले प्रसस्त पारिदिएको छ । अझ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटी मात्रै आधिकारिक भएको खुलासा गर्दै रुक्मशमशेर राणालाई पत्राचार गरेपछि राणाको नेतृत्वको एनओसी ओझेलमा परेको छ । सर्वोच्चले फैसला सुनाएको महिनौँ बितिसक्दा पनि राणाको एनओसीले अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै पहल गर्न सकेको छैन । आफूलाई वैधानिक भन्दै छुट्टै कार्यालय खोले पनि राणाको एनओसी अस्तित्वमा समेत आउन सकेको छैन । वास्तविक रूपमा भन्नुपर्दा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले समेत राणाको एनओसीसँग अहिलेसम्म कुनै समन्वय गरेको छैन । खालि सर्वोच्चको निर्णयलाई पालना गर्ने बताउँदै आएको राखेपले पनि व्यवहारमा कुनै त्यस्तो कदम पनि उठाएको छैन ।
विगतका दिनमा ओलम्पिककै विवादका कारणले नेपाली खेलाडीहरूले भोग्नुपरेको पीडालाई कदापि बिर्सन सकिँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुवै एनओसी साँढेझैं जुध्दा नेपालको खेलकुद र अन्तर्राष्ट्रिय सहभागितामा समेत प्रश्नचिह्न लागेको थियो । तर, अन्त्यमा राष्ट्रिय प्रतिष्ठाको कुरा अगाडि आएपछि प्रधानले नेतृत्व गरेको एनओसीले नेपाली खेलाडीलाई ग्वान्झाउ एसियाडमा पुर्‍याएको वास्तविकता कसैबाट छिपेको छैन । यसरी अन्तर्राष्ट्रिय मान्यताका अगाडि राष्ट्रिय मान्यताको औचित्य कति भन्ने कुरालाई जसले पनि सोझै अनुमान लगाउन सकिन्छ । ग्वान्झाउ एसियाडमा राष्ट्रियस्तरमा अवैधानिक भएर पनि सरकारकै अनुरोधमा वैधानिक कार्य गरेको प्रधानको एनओसीमाथि अहिले औंला उठाउनु भनेको नकचरो कार्य मात्रै हुनेछ । खेलकुललाई भाँड्ने र बिथोल्ने मानसिकताको उपज मात्रै हुनेछ । सबैलाई थाहा भएकै कुरा हो नकचरो औषधि पाइन्न भनेर । तर्सथ यहाँ एकले अर्कालाई आरोप-प्रत्यारोप गर्नुभन्दा एनओसीको वास्तविकता ‘ओलम्पिक चार्टर’ हो भन्ने कुरालाई बुझ्नु आवश्यक भइसकेको छ । के राणा, के प्रधान दुवैको गाइडलाइन भनेकै ओलम्पिक चार्टर भएकोले एनओसीको अस्तित्व र स्वायत्तताका लागि पनि आपसमा हातेमालो गर्नुबाहेक अर्को विकल्प देखिँदैन ।
अहिले जे भएको छ त्यो समग्र नेपाली खेलकुदको विकास र विस्तारका लागि राम्रो भएको छ । विवादको भुमरीमा परेर कुइरोमा हराएरको कागजस्तै बनेको नेपाल ओलम्पिक कमिटीको भविष्यमा निर्वाचन प्रक्रियाले नयाँ ज्यान हालिदिएको छ । खेलाडीहरूलाई ढुक्क भएर खेल्ने वातारणको सिर्जना गराइदिएको छ । जसले गर्दा अहिले खेलाडीहरूको अन्तर्राष्ट्रिय सहभागिता पनि पक्का भएको छ । मुलुकको विषम राजनीतिक परिस्थिति र दलीय स्वार्थले दिनप्रतिदिन खेलकुद राजनीतिक अखडाको रूपमा विकसित भइरहेको अवस्थामा नेपाल ओलम्पिक कमिटीको निर्वाचन हुनु आफैंमा स्वागतयोग्य छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यो वास्तविकतालाई आत्मसात् गर्दै वर्तमान एनओसीसँग होस्टेमा हैंसे गरेर अगाडि बढेमा नेपालको खेलकुदले फड्को मार्ने कुरोमा दुईमत छैन । समस्याको समाधान वार्ता र छलफल भएकोले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी र खेलकुदको सर्वोच्च निकाय राखेप एकै थलोमा बसेर विवादको निकास निकाल्नु अनिवार्य भइसकेेको छ । यदि कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर हिँड्यो भने त्यो समग्र नेपाली खेलकुदको दुर्भाग्य हुने कुरामा दुईमत छैन । पशुपतिनाथले समयमै सबैलाई सद्बुद्धि दिऊन् ।

भारत विश्वच्याम्पियन
डेढ महिनासम्म चलेको विश्वकप क्रिकेट प्रतियोगिताको दसौँ संस्करण सफलताका साथ सम्पन्न भएको छ । यो विश्वकपमा पहिलोपटक दुई दक्षिण एसियाली मुलुक फाइनलमा पुगेका थिए । फाइनल भिडन्त आयोजक भारत र सहआयोजक श्रीलङ्काबीच भएको थियो । लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दुबै टिमले फाइनलसम्मको यात्रामा विश्वकपका प्रमुख दाबेदार टिमलाई पराजित गरेका थिए । यही कुरालाई विश्लेषण गर्दै क्रिकेटका विज्ञहरूले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अड्कल काटेका थिए । आखिर भयो पनि त्यस्तै । मुर्म्बईको वानखेडे रंगशालामा भएको फाइनल खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै दुई सय ७५ रनको चुनौती भारतसामु खडा गरेको थियो । श्रीलंकालाई यो स्थितिमा पुर्‍याउन महिला जयबर्द्धनेले एक सय तीन रनको नटआउट शतकीय पारी खेलका थिए ।
दुई सय ७५ रनको लक्ष्य पाएको भारतका लागि शुभारम्भ राम्रो हुन सकेन । भारतका विस्फोटक ब्याट्म्यान वीरेन्द्र सेहवागले खातासम्म खोल्न सकेनन् । सेहवाग मालिङ्गाको दोस्रो बलमै एलबीब्लुको धरापमा परेका थिए । अझ यो विश्वकपमा उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै आएका मास्टर ब्लास्टर सचिन तेन्दुलकर व्यक्तिगत १८ रनमा आउट भएपछि भारत निकै दबाबमा परेको थियो । त्यसपछि श्रीलंकातर्फ ढल्किएको खेललाई गौतम गम्भीर र विराट कोहलीले सम्हाल्दै भारतको विश्वकप जित्ने आशालाई जीवितै राखेका थिए । कोहली व्यक्तिगत ३५ रनमा आउट भएपछि भारतीय कप्तान महेन्द्रसिंह धोनी र गम्भीरले शतकीय साझेदारी गर्दै भारतलाई विजयको मुखमा पुर्‍याएका थिए । यसपछि ब्याटिङ गर्न आएका युवराज सिंहले धोनीलाई साथ दिँदै भारतलाई विश्वच्याम्पियन बनाएका थिए । धोनीले फाइनलमा भारतलाई विजय गराउन आकर्षक छक्का प्रहार गर्दै व्यक्तिगत अविजित ९१ रनसमेत बनाएका थिए । फाइनलमा भारतले श्रीलंकामाथि ६ विकेट विजय हासिल गरेको थियो ।
यसरी २२ वर्षको अन्तरालपछि भारतले विश्वकप चुम्ने सौभाग्य पाएको थियो । यसअघि सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले पहिलोपटक विश्वकप जितेको थियो । दोस्रोपटक भारतले विश्वकप जितेपछि आफ्नो जीवनमा छैटौँ विश्वकप खेलिरहेका लिटिल मास्टर तेन्दुलकरलाई भारतीय खेलाडीहरूले विश्वकप समर्पित गर्दै रंगशालाको परिक्रमा गराएका थिए । दसौं विश्वकपको म्यान अफ दि सिरिजको उपाधि युवराज सिंहले प्राप्त गरेका थिए । युवराजले विश्वकपमा तीन सयभन्दा बढी रन बनाउनुको साथै १५ विकेटसमेत लिएका थिए । विश्वकपमा विजय हासिल गरेपछि भारतीय सरकारले विश्वकपमा सहभागी प्रतेक खेलाडीलाई जनही १ करोड दिने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षकहरूको टोलीलाई ५० लाख र छनोट समितिका सदस्यलाई जनही २५ लाख दिने भारतीय क्रिकेट बोर्डले घोषणा गरेको छ ।

कीर्तिमानी मुरलीको सन्न्यास
विश्वकपअगाडि नै सन्न्यासको घोषणा गरेका श्रीलंकाका महान् स्पिनर मुथैया मुरलीधरनको विश्वकप फाइनलसँगै अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लागेको छ । आफ्नो १९ वर्षो खेलजीवनमा विश्वकै उत्कृष्ट बलर बन्न सफल भएका मुरलीले दसौँ विश्वकपमा १५ विकेट लिएका थिए । मुरली विश्वकपमा ६८ विकेट लिएर म्याग्राभन्दा तीन विकेटले पछि परेका थिए । विश्वकपको फाइनलमा मुरली विकेट लिन असफल भएका थिए । टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिएर विश्वकीर्तिमान कायम गरेका मुरलीले टेस्ट क्रिकेटमा आठ सय र एकदिवसीयमा पाँच सय ३४ विकेट लिन सफल भएका थिए । पाँचवटा विश्वकप खेलेका मुरलीले तीनपटक विश्वकपको फाइनलमा खेल्ने मौका पाएका थिए । श्रीलंकाले सन् १९९६ मा विश्वकपको उपाधि जित्दा उनी उक्त टिमको सदस्य थिए । मुरली पूर्णरूपमा फिट नहुँदा पनि श्रीलंकाले आफ्ना चर्चित खेलाडीलाई विश्वकपको फाइनलमा खेलाएको थियो । क्रिकेटबाट सन्न्यास लिँदा मुरली निकै भावुक बनेका थिए । उनको चाहना श्रीलंकालाई विश्वकपको उपाधि दोस्रोपटक दिलाएर सन्न्यास लिने भए पनि त्यसो हुन नसक्दा उनी निकै दु:खित देखिएका थिए । श्रीलंकाली क्रिकेटलाई विश्वस्तरीय बनाउन अहम् भूमिका निभाएका मुरलीधरनको सन्न्यासले अहिले श्रीलंकालाई ठूलो घाटा भएको छ । सन्न्यासपछि मुरलीले क्रिकेटसँग नाता नतोड्ने बताएका छन् ।