हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’ सञ्चालन

हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’ सञ्चालन


कञ्चनपुरको भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र (सेफ हाउस) सञ्चालन गरिएको छ ।

भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कभर्डहलनजिक सेफ हाउस सञ्चालन गरिएको हो ।

सञ्चालनमा आएको सेफ हाउस सञ्चालनका लागि दुई कर्मचारी राखिएका छन् । भीमदत्त नगरपालिकाले सेफ हाउसका लागि सहकारीलाई अनुदान दिने सम्झौता गरिएको छ ।

सेफ हाउसले हिंसामा परेका महिला र बालबालिकालाई समस्यामा परेको बेलामा राहत दिने नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले बताइन् । भीनपाको महिला तथा बालबालिका समाज कल्याण उपशाखा प्रमुख डम्मरा पन्त लेखकले हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनस्र्थापन नहुँदासम्म सेफ हाउसमा राखिने बताइन् ।

अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा सञ्चालन गरिएको सेफ हाउसका लागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ ।

यसअघि महिला तथा बालबालिका कार्यालयको अनुदानमा कार्यालयनजिक सेफ हाउस सञ्चालनमा थियो । स्थानीय तह निर्वाचनपछि विषयगत कार्यालय स्थानीय तहमा आएपछि आर्थिक स्रोत नभएर सेफ हाउस बन्द गरिएको थियो ।