अभिभावकविहीन बालबालिकाको पठनपाठनका लागि सहयोग

अभिभावकविहीन बालबालिकाको पठनपाठनका लागि सहयोग


जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आमाबाबु दुवैको मृत्यु भएपछि बिचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु. १५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका बिचल्लीमा परेका हुन् ।

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताए ।

अभिभावकविहीन बनेकी सविना काठमाडौंमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्रछात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

हाल एउटै कोठामा बसिरहेका कोठा पार्टेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु. २५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

सुस्तमनस्थिति छात्रछात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्रछात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ ।