नेइमारको नौटङ्कीको विश्वभरि आलोचना

नेइमारको नौटङ्कीको विश्वभरि आलोचना


फिफा विश्वकप २०१८ मा ब्राजिलले औसत किसिमको प्रदर्शन गरे पनि उक्त टिमका विश्व चर्चित स्ट्राइकर नेइमारले भने उत्कृष्ट प्रदर्शन गरेका छन् । रसिया विश्वकपमा नेइमारले दुई गोल गोल गरेर जति चर्चा कमाए त्योभन्दा बढी फुटबलको मैदानमा नौटङ्की गरेर चर्चित बने । नेइमारले यो विश्वकपमा गरेको नौटङ्की अहिले विश्वभरि भाइरल बन्नुको साथै नेइमारको निकै आलोचना पनि भइरहेको छ । एउटा विश्वचर्चित स्ट्राइकरले गरेको यो हर्कतले नेइमार मात्र नभई पूरै ब्राजिलियन टिमको समेत आलोचना भइरहेको छ ।

नेइमारलाई यो विश्वकपमा ५ वटा खेल खेल्ने अवसर मिलेको थियो । उनले यी पाँचवटा खेलमा १६ मिनेट फुटबल मैदानमा लडिबुडी गरेर बिताएका थिए । फुटबलमा धक्कामुक्की हुनु स्वाभाविक कुरा हो, तर नेइमारले सामान्य धक्कामुक्कीलाई समेत गम्भीर देखाउन फुटबलको मैदानमा जुन हर्कत गरेर देखाए त्यो अहिले हास्यास्पद बन्नुको साथै नेइमार नौटङ्कीवाज भएकोसमेत प्रमाणित गरेको छ । विपक्षी खेलाडीसँग सामान्य ठक्कर लाग्दा गम्भीर चोट लागेको नाटक गरेर मैदानमा गरेको ड्राइभ र लडिबुडीले नेइमानर फुटबल खेलाडी हुन् कि अभिनेता खुट्याउन गाह्रो भएको छ ।

आफ्नो टिमलाई जसरी पनि जिताउनुपर्ने मानसिकताका साथ मैदानमा उत्रिने नेइमारले यस्तो गम्भीर चोट लागेको नाटक गरेर पेनाल्टीको समेत माग गरेका थिए । पछि भीएआरमा रेफ्रीले हेर्दा उक्त नाटक मात्र सावित भएको थियो । त्यस्तै उनले विपक्षीको ‘डी’ बक्समा पेनाल्टी पाउन त्यत्तिकै ढलेको दृश्यले अहिले सोसल मिडियामा त्यत्तिकै चर्चा पाएको छ । त्यसबाहेक मैदान केही नभए पनि असाध्य पीडामा भएको जस्तै गरी मैदानमा लडेर गरेको लडिबुडी पनि अविष्मणीय बनेको छ । रेफ्रीको ध्यान आफूतर्फ आकर्षित गर्न नेइमारले पटकपटक यस्तो हर्कत दोहो¥याए पनि उनलाई रेफ्रीले कारबाही भने गरेनन् । विश्वकपको लाइभ कमेन्ट गरिरहेका कमेन्टरहरूले नेइमारको यो नाटकको बदलामा कार्ड दिनुपर्नेसमेत चर्चा गरेका थिए ।

यो विश्वकपमा ५ खेल खेलका नेइमारलाई फाउल गरेको आधारमा रेफ्रीले २८ वटा निर्णय ब्राजिलको पक्षमा दिएका थिए । त्यसमा आधाभन्दा बढी फाउल नेइमारको नाटकीय भूमिकाबाट ब्राजिलले पाएको थियो । नेइमारको यो नाटकले त्यतिबेला ब्राजिललाई फाइदा पुगे पनि यतिबेला नेइमार भने नौट्ङकीवाजको रूपमा विश्वभरि चर्चित बनेका छन् । सोसल मिडियामा नेइमारको यही नाटकलाई मध्येनजर गर्दै अहिले थुप्रै भिडियोहरू बनेका छन्, जसमा नेइमारलाई हल्काफुल्का रूपमा प्रस्तुत गर्दै उनको हुर्मत लिने कार्य गरिएको छ ।

नेइमारले सबैभन्दा लामो नाटक प्रिक्वार्टरफाइनलमा मेक्सिकोविरुद्ध गरेका थिए । उक्त नाटक ५ मिनेट २९ सेकेन्डसम्म चलेको थियो । यो विश्वकपमा कुनै पनि खेलाडीले फाउलको लागि लिएको सबैभन्दा बढी समय हो । त्यस्तै, लिग चरणमा पनि स्विट्जरल्यान्डविरुद्ध पनि नेइमारले ३ मिनेट ४० सेकेन्ड, सर्बियाविरुद्ध ५६ सेकेन्ड नाटक गरेका थिए । यसरी उनले पाँच खेलमा १६ मिनेटको समय किल गरेका थिए । जुन यो विश्वकपको कीर्तिमान बनेको छ ।