नेपाल-भारत अन्तरदेशीय रेल सेवा सञ्चालनको तयारी

नेपाल-भारत अन्तरदेशीय रेल सेवा सञ्चालनको तयारी


भारत–नेपाल अन्तरदेशीय रेल सेवा सञ्चालनसम्बन्धी समझदारी पत्रमा छलफलका लागि हिजो मंगलबार काठमाडांैमा संयुक्त कार्य समूहको तेस्रो बैठक आयोजना गरियो । उक्त बैठक भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक यातायात) मनोजकुमार श्रीवास्तव र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको अगुवाईमा सम्पन्न भएको हो ।

संयुक्त कार्य समूहको तेस्रो बैठकले जयनगर–बिजलपुर–बर्दिबास र जोगवनी–विराटनगर रेलवेमा भइरहेको प्रगतिको सराहना गर्दै जयनगरदेखि जनकपुर (कुर्था)सम्म र जोगवनीदेखि नेपाल भन्सार क्षेत्रसम्म रेल सेवा सञ्चालनका लागि आइपर्ने आवश्यकतामाथि विस्तृत छलफल गरेको बुझिएको छ । यी आयोजनाहरू आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

संयुक्त कार्य समूहले रेल सेवा सञ्चालन, समझदारीपत्रको अन्तिम स्वरुप टुङ्ग्याउने विषयको आवश्यकता पहिचान गर्दै उक्त कार्य शीघ्र सञ्चालन गर्न जोड दिएको सम्बद्ध पक्षले जनाएको छ । यस समूहको बैठकभन्दा पहिले भारत–नेपाल अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक काठमाडौंमा यही असार ५–६ मा सम्पन्न भएको थियो ।

सामान तथा सवारी आवागमनको सहज आवतजावत, दुवै देशका जनताबीच सम्बन्ध विस्तार तथा दुई देशबीच व्यापार, वाणिज्य र आर्थिक सहकार्यलाई सुदृढ गर्नका लागि भारत–नेपाल सीमामा रेलमार्ग पूर्वाधार साथै अन्य पूर्वाधारका विकासका लागि भारत र नेपाल सरकार प्रतिबद्ध रहेका जनाइएको छ । जयनगरदेखि जनकपुर÷कुर्था र जोगबनीदेखि नेपाल भन्सार क्षेत्रसम्मको रेल सेवा सञ्चालनले दुई देशबीच रहेको जनता–जनता बीचको सम्बन्ध तथा आर्थिक क्रियाकलापलाई सुदृढ गरी भारत–नेपाल सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्ने अपेक्षा लिइएको छ ।