‘एनआरएन अस्ट्रिया’ चरम आन्तरिक विवादमा

‘एनआरएन अस्ट्रिया’ चरम आन्तरिक विवादमा


Sagar Subedi, Austria

चुनावको समयमा मेला अरू बेला झमेला हुने गरेको एनआरएनका पदाधिकारीहरूको यथार्थ हो भन्दा कसैलाई अप्ठ्यारो नपर्ला । हो, गएको राष्ट्रिय अधिवेशनमा ठूलो मेला गर्न सफल अस्ट्रियाको समन्वय परिषद् यतिखेर ठूलो झमेलामा गुझुल्टिएको छ । भेट हुने, भोज खाने, दोसल्ला ओढ्ने र ताली बजाउनेजस्ता क्रियाकलाप एनआरएनको स्थापनाकालदेखि नै हो । त्यसलाई अब सबैले बुझिसकेका छन् ।

एनआरएन अस्ट्रिया कहिले चम्कने कहिले नामोनिशाना नै नरहने अवस्थामा पुग्दै फेरि जाग्ने गरेको पहिलेदेखि नै देखिँदै आइरहेका छन् अस्ट्रियावासी नेपालीहरू । २०१७ -२०१९ कार्यसमितिमा चुनिएपछि खादा मात्र ओढेर बस्ने भयो भने संस्थाको औचित्य रहँदैन र विस्तारै सेलाउँछ भन्ने कुरा आमअस्ट्रियावासीको थियो । तर यतिखेर संस्थाका पदाधिकारीहरूको गलत प्रवृत्तिले संस्था नै चुर्लुम्म भइसकेको अवस्था छ । यतिसम्म कि संस्थाको औचित्व नै धरापमा पुग्न लागेको अवस्था देखिँदै छ, (यो विषयमा फेरि अर्को लेखमा सविस्तार बताउँला) सामाजिक संस्था भनेको के हो ?

संस्थालाई बलियो बनाउन सबैलाई एकजुट बनाउन नेतृत्वले कस्तो भूमिका खेल्नुपर्छ भन्ने ज्ञान नै नभएका प्रतिनिधिहरूसहितको जत्थाले एनआरएन अस्ट्रियाको निर्वाचनमा जित हासिल ग¥यो । एउटा यस्तो गुटले निर्वाचनमा सफलता पायो जसलाई अस्ट्रियाको बौद्धिक समूहले पत्याउनै सकेको थिएन र अहिले पूरै अविश्वास गरेको अवस्था छ । जस्तो तबरले सफलता हात पारे त्यसरी नै बृहत् क्रियाकलाप नहुनाले र सीमित वर्गको ऐन आरएनजस्तो व्यवहार गर्नाले एनआरएन अस्ट्रिया यतिखेर गहिरो खाडलमा खस्न पुगेको प्रस्ट देखिन्छ तथा आमअस्ट्रियावासीको विश्वास अब यो संस्थासँग नरहेको यो संस्थाले गरेको कार्यक्रममा उपस्थित गैरआवासीय अस्ट्रियावासी नेपालीहरूको अनुपस्थितिले प्रस्ट पारेको छ ।

एनआरएन अस्ट्रियाले विगतका धेरै कार्यकालदेखि गरिने समर पिकनिक तथा उक्त अवसरमा गरिने बृहत् विभिन्न मनोरञ्जनात्मक क्रियाकलापको आयोजना गर्दथ्यो र अत्यन्तै चर्चा पनि बटुलिरहेको थियो । तर, यसपटक आन्तरिक तथा बाह्य चरम विवादमा मुछिएको नवनिर्वाचित यस कमिटीले अघिल्लो समरमा पाएको सफलताजस्तै यस कार्यक्रमबाट चाहिँ सफलता पाउन सकेन भने यसपटक त आयोजना नै गर्न सकेन । हरेक वर्ष एनआरएन अस्ट्रियाले आयोजना गर्ने एक मात्र उत्कृष्ट कार्यक्रम जहाँ छिमकी मुलुकका गैरआवासीय भुटानीहरू तथा तिब्बतीयनहरू समेतलाई फुटबल खेल्न आमन्त्रित गरिन्थ्यो र समन्वय परिषद् अस्ट्रियाले गौरवका साथ फुटबल प्रतियोगिताको आयोजना गर्दथ्यो जुन सदाको लागि अन्त्य भएको प्रस्ट देखिन्छ ।

एनआरएन अस्ट्रियाले गरेका कमी–कमजोरीहरू धेरै छन् तर जुन क्रियाकलापले समाजमा विभेद ल्याउन सफल भयो तथा निर्वाचित भएपछि ब्रह्माण्ड नै जितेजस्तो गरी पुराना कमिटीसँग छलफल र मिलेमतो, सहकार्य तथा कुनै पनि आपसी सदभाव झल्काउने क्रियाकलाप नगरी नयाँ धारबाट एकलौटी रूपमा भूमिगत एनआरएन बनाउने असफल प्रयास नवनिर्वाचित कार्यसमिति त्यसमा पनि वर्तमान अध्यक्षबाट गरियो । किन अध्यक्षबाट गरियो भने संस्थाको विधानले दिएको अधिकारलाई संस्थाको हितमा उपयोग गर्न नसकेको तथा हरेक व्यक्ति तथा समुदायसँग छलफल तथा सहकार्य नगरेको स्पष्ट देखियो । यतिसम्म कि अध्यक्षको कार्यक्षमतालाई उनकै आसेपासेले संस्थाको अहितका लागि प्रयोजन गरेको देखियो तथा अध्यक्षले लिन नसक्ने संस्थाका हित पक्षमा लिइनुपर्ने अडान नभएका कारण पुराना कमिटिका पूर्वपदधिकारीहरूलाई पूर्ण रूपमा बाइकट गरियो । जतिसुकै मनमुटाव भए पनि संस्थागत मान्यतासमेत ख्यालमा नगरी पुराना कमिटिका साथीहरूसँग छलफल, सहयोग, सल्लाहको साटो दोष लगाउने र आफू चोखो बन्ने काम मात्र ग¥यो अध्यक्ष तथा नवनिर्वाचित कमिटीले ।

यसै झमेलाको जालोमा फसेको संस्थामा अचानक अन्तर्राष्ट्रिय सम्मेलनमा (काठमाडौं) भोट हाल्दा पैसाको चलखेल गरेको हल्ला बाहिर आयो । भोट हाल्नेको नाम सार्वजनिक नगरिनु । गोप्य नामावली तयार पारिनु । कमिटीका अरू सदस्यहरूलाई समेत जानकारी नगरिनु, भोट हाल्न जान्छु नभनेका अथवा अनुरोध नगरिएका सदस्यहरूको समेत नामावलीमा नाम हुनुजस्ता विविध कुराहरूले पैसाको चलखेल भएको पुष्टि गर्दथ्यो ।

संस्थासँग जोडिएको गम्भीर विषयमा गैरआवासीय नेपाली सङ्घ अस्ट्रियाका पूर्वआईसीसी सदस्य रविचन्द्र भट्टराईले यस विषयमा छलफल होस् तथा छानबिन होस् भनी अस्ट्रियाका पदाधिकारीलाई प्रथमतः मौखिक अनुरोध गर्नुभयो भने तत्पश्चात् गैरआवासीय नेपाली सङ्घ अस्ट्रियाका अध्यक्षको मौखिक अनुरोधमा ‘लिखित दिएको खण्डमा हामीलाई आरोपित पदधिकारीलाई कारबाही गर्न सहज हुन्छ’ भन्ने सुझाव आएपछि उहाँले लिखित निवेदन दिई यो भ्रष्टाचारमा आरोपित संस्थाका पदाधिकारीमाथि छानबिनको लागि आग्रह गर्नुभयो । तर, उक्त आग्रहसमेतको निवेदनलाई एकाएक एनआरएन अस्ट्रियाको आधिकारिक फेसबुकको वालपेजमा कसैले राखिदियो ।

त्यसपछि झन् थाहा भयो आधिकारिक फेसबुक पनि एनआरएन अस्ट्रियाका महासचिवले नचलाई संस्थाभन्दा बाहिरका व्यक्तिले चलाउन सक्ने गरिएको रहेछ ।कमिटीबाहिरका अरूलाई पनि फेसबुकको एडमिन बनाउने गैरजिम्मेवार व्यक्ति ‘को’ भन्नेमा कमिटी चुप बस्यो । तर, भ्रष्टाचारको छानबिन होस् भनी निवेदन दिने पूर्वआईसीसी सदस्यविरुद्ध कमिटी जाइलाग्यो । यतिखेर पूर्वआईसीसी सदस्य र कमिटीका साथीहरूबीच छलफल हुन सकेको छैन । कारण पूर्वआईसीसी सदस्य कमिटीमाथि विश्वास गर्न सक्नुहुन्न र छानबिन कमिटी माग होस् भन्दै सार्वजनिक बहसको माग गर्नुभएको छ भने कमिटी सार्वजनिक बहस गर्न तयार नभएको देखिन्छ ।

यो प्रकरणमा गैरआवासीय नेपाली सङ्घ अस्ट्रियाका अध्यक्षसँग आधिकारि रूपमा सम्पर्क गर्न खोज्दा उहाँले मिडियासँग प्रस्ट कुरा राख्ने हिम्मत गर्नुभएन भने वर्तमान महासचिवले चाहिँ म यो विषयमा कुरा गर्न तयार छु भन्ने आशयको एसएमएस पठाउनुभएको र आफूले कुनै पैसा नखाएको तर लिएर दिएको जिकिर गर्नुभयो तथा ‘आफूले खाँदै नखाएको पैसाको कुरामा मेरो चरित्रहत्या भएको छ भन्ने आफ्नो अनौपचारिक गुनासो पनि राख्नुभयो’ (महासचिवको आधिकारिक कुरा अर्को शृङ्खलामा समावेश गरिनेछ यदि उहाँ आफूलाई प्रस्ट पार्न चाहेको खण्डमा) । यसै सिलसिलामा भ्रष्टाचारको विषयमा निवेदन दिनुभएका पूर्वआईसीसी रविचन्द्र भट्टराईसँग सम्पर्क गरी यो प्ररकरणबारे चासो राख्दा भन्नुभयो ‘यो विषय मेरो व्यक्तिगत होइन र यो विषय केवल अब मसँग मात्र सीमित छैन र मैले कसैको चरित्र हत्या गर्न पनि पाउँदिनँ ।

तर, आफूले देखेको गलत क्रियाकलापमा आफ्नो कुरा राख्ने तथा संस्थासँग जोडिएका एकपछि अरू थप विषय छन् सार्वजनिक बहस हुनु जरुरी छ । अब छलफल गर्नुपर्ने भ्रष्टाचार मात्र विषय होइन, कमिटीको कार्यदक्षतामाथि नै प्रश्न उठेको अवस्था छ । के होला त अब यदि भ्रष्टाचार भएको प्रमाणित भएमा ? अबको मुख्य चासो बनेको छ । किनभने अस्ट्रियाका महासचिवले आफँै स्वीकार गरिसक्नुभएको भएको छ कि मैले पैसा लिएर दिने काम गरेको हो । भोट हाल्न गएकाहरूले पनि फेसबुकमा नै लेखिसकेका छन् पैसा पाएको हो भनेर । उहाँले थप्नुभयो– यस्तो अवस्थामा गैरआवासीय नेपालीको गरिमामय संस्थाले जुलाई १४ तारेकमा हुने सार्वजनिक छलफल कार्यक्रमले कुन गरिमा कसरी जोगाउन सक्ला ? हामी संसारभर रहने सम्पूर्ण गैरआवासीय नेपालीहरूमाझ जानकारी गराउन प्रतीक्षारत छौँ ।

हामी यो संस्थासँग सम्बन्धित लेख तथा आन्तरिक विवादको पर्दाफास, संस्थाबाट गरिएका अवैधानिक क्रियाकलाप, कार्यसमितिभित्र समितिका उपाध्यक्षले संस्थासँग सम्बन्धित गलत क्रियाकलापको नालीबेलीसमेत गैरआवासीय नेपाली सङ्घ युरोपियन संयोजक तथा उपसंयोजकलाई दिएको उजुरी र कारण तथा संस्थाका अवैधनिक पदाधिकारी तथा संस्था नै नरहन सक्ने कानुनी पाटोको विश्लेषण विस्तृतमा आगामी लेखमा पस्कनेछौँ !

– सागर सुवेदी, अस्ट्रिया