आफ्नै गीतको म्यूजिक भिडीयो अपलोड नगर्न भनेपछि पंगेनी आलोचित

आफ्नै गीतको म्यूजिक भिडीयो अपलोड नगर्न भनेपछि पंगेनी आलोचित


लण्डन/ लोकगायक बद्री पंगेनीले आफैले गाएको तीजको म्यूजिक भिडीयो यूट्युबमा अपलोड नगर्न दबाब दिएपछि निकै आलोचित बन्न पुगेका छन् । गायक पंगेनीले हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर गायिका कला पंगेनी र आफ्नो स्वर अनि बेलायतको लण्डनमा स्थायी बसोबास गर्ने गोर्खा अनलाइन रेडियो संचालक नरेन्द्र बस्नेतको लय तथा शब्द रहेको तीजगीत ‘चिटिक्कै मलाई सुहायो’ शीर्षकको म्यूजिक भीडीयो यूट्युबमा अपलोड गर्न नदिने अडान लिएपछि यस्तो परिस्थिति निम्तिएको हो ।

गत बिहीबार यू ट्युब च्यानलमार्फत् सो भिडीयो सार्वजनिक भएको थियो, तर पंगेनीले ‘तीज आउन अझै धेरै बाँकी छ, अहिले अपलोड गर्ने होइन’ भन्दै अपलोड भइसकेको भिडीयो डिलिट गर्न लगाएका थिए । बजारमा तीजका सयौँ म्यूजिक भिडीयो आइसकेको भन्दै गायिका कला पंगेनीले प्रतिवाद गरेपछि सो भिडीयो यूट्युब च्यानलमा उपलब्ध भएको थियो ।

हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर गायिका कला पंगेनी र गायक बद्री पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्दमा ‘चिटिक्कै मलाई सुहायो’ बोलको म्यूजिक भिडीयो भर्खरै मात्र गोर्खा रेडियो यूकेले आफ्नो यू ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । पत्रकार समेत रहेका बस्नेतले सामाजिक संजाल फेसबुकमार्फत् सो भिडीयो सार्वजानिक गर्न ठूलो संघर्ष गर्नुपरेको बताएका छन् । बस्नेतले भनेका छन्- ‘गीत रेकर्डिङदेखि यू ट्युब सम्मको लामो संघर्षपश्चात् मेरो तीजको गीत (चिटिक्कै मलाई सुहायो) सार्वजनिक भएको छ, आशा छ सबैले हेरेर मन पराउनुहुनेछ र सल्लाह सुझाव दिनुहुनेछ ।’

परदेशिएको आफ्नो मायालुसँग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोली मात्र होइन, परदेशदेखि गाउँघर अनि मेलापात समेतलाई समेटिएको छ । बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत् प्रस्तुत गर्न खोजिएको छ । उक्त गीतको म्यूजिक भिडीयोमा अहिले सर्वाधिक लोकप्रिय बनेको म्यूजिक भिडीयो ‘बोल माया’मा सफल अभिनय गरेकी अन्जली अधिकारी र निकै व्यस्त मोडल महेन्द्र गौतमको जोडदार अभिनय रहेको छ । यस गीतको म्यूजीक भिडीयोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रालिको भूमिका रहेको छ ।