२० प्रतिशत महसुल बढाउने तयारीमा भारत, नेपालद्धारा अस्वीकार

२० प्रतिशत महसुल बढाउने तयारीमा भारत, नेपालद्धारा अस्वीकार


भारतबाट आयात भइरहेको ४ सय ५० मेगावाट विद्युतको महसुल बढाउन भारत सरकारले गरेको प्रस्ताव नेपालले अस्वीकार गरेको छ । भारतले बीस प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको थियो ।

विद्युत आदान–प्रदान प्रावधानअनुसार २० प्रतिशतसम्म महसुल बढाउन भारतले राखेको प्रःताव नेपालले अस्वीकार गरेको छ । हाल खरिद गरिरहेको दर नै महँगो भएकाले थप वृद्धिको निर्णय मान्य नहुने भन्दै अस्वीकार गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘भारतको नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बसेको विद्युत आदानप्रदान समिति (पिइसी) को १२ औं बैठकमा नेपाल विद्युत प्राधिकरणले महसुल बढाउन नहुने अडान राखेको थियो ।’ उनले भने, ‘अहिले खरिद गरिरहेको दर नै महँगो छ । भारतले भन्दैमा नेपालले एक रुपैयाँ पनि बढाउन मिल्दैन् ।’

बैठकमा भारतले हाल खरिद भइरहेको विद्युत मूल्यमा १५ देखि २० प्रतिशतसम्म बढाउने प्रस्ताव राखिएको बताइएको छ । ‘यसबारे थप छलफल गर्न आगामी ३ महिनाभित्र अर्को बैठक बस्ने निर्णय भएको छ ।’ प्रवक्ता अधिकारीले भने, ‘प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने विद्युतको परिमाण र मूल्य तोक्ने पिइसीको ११औं बैठक ६ वर्षपछि २०७४ साउन २४ र २५ गते दिल्लीमा बसेको थियो ।’

समितिको बैठक सन् २०११ मा पहिलो पटक बसेको थियो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका विन्दुबाट आयात हुने विद्युतको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढी तिर्दै आएको थियो । हरेक वर्ष ५ प्रतिशत बढ्ने प्रावधान गत वर्षको बैठकले हटाएको थियो ।

कुशाहा–कटैया, जोगबनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबी लगायत विन्दुबाट विद्युत आयात हुन्छ । प्राधिकरणले बिहार, उत्तर प्रदेशलगायत नाकाबाट प्रतियुनिट ८.८८ रुपैयाँ (५.५५ भारु) मा विद्युत किन्ने गरेको थियो । सन् २०११ मा बसेको बैठकले कुनै कारणवश बैठक बःन नसके यसरी किन्ने विद्युतको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढ्ने सर्त राखेको थियो । गत वर्षको बैठकले ११ केभीदेखि १३२ केभी प्रसारण लाइनबाट आयात हुने विद्युतको नयाँ मूल्य निर्धारण गरेको थियो । नयाँ मूल्यअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ निर्धारण भएको थियो ।

प्राधिकरणले विद्युत किन्दा ११ केभीमा प्रतियुनिट १०.३२ रुपैयाँ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिरिरहेको छ । बैठकले कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट आयात हुने विद्युतको मूल्य पनि तोकेको थियो । यी दुई लाइनबाट ५०–५० मेगावाट प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) थियो ।