‘यस्तै हो भने पढेर किन देश फर्कने ?’

‘यस्तै हो भने पढेर किन देश फर्कने ?’


सम्माननीय प्रधानमन्त्रीज्यु,

राजनीति नै गरेर मात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर मजस्ता व्यक्तिहरु किन स्वदेश फर्किने ? अध्ययन र कार्यक्षमताको मुल्याङकन नहुने र ठुला नियुक्ति जति राजनीतिक दलका कार्यकर्ताले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्किने ?

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाए । मेरो नियुक्तिलाई राजनीतिक भनिएकोमै मेरो असहमति छ । म कहिल्यै कुनै पनि राजनीतिक दलको समर्थक, विरोधि, नजिक या टाढा भइनँ । यो मैले कहिल्यै पनि नजानेको विषय हो । हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तिको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ति भनेर तपार्इंको सरकराले नियुक्ति वदर गर्यो । म जस्ता स्वतन्त्र व्यक्तिहरुले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाउने हो त ? देशको मात्रै झण्डा बोकेर नपुग्ने ? कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो त ?

म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्किएकी नागरिक हुँ । लाइट, क्यामेरा, एक्सन मैले गर्भमा नै सुनेका शब्द हुन् । यस अर्थमा चलचित्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पित हुने उद्देश्यले मैले अ‍‍ेमरिकाको युनीभर्सीटीबाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरेँ र मनभरी उमङ्ग, जोश, जाँगर र सर्टिफिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्किएँ । १८ वर्षको इतिहास बोकेको चलचित्र विकास बोर्डका पुर्वअध्यक्षज्युहरुले गर्नुभएको कार्यको मुल्याङ्कन गर्ने हैसियत त मेरो छैन तर विगत ७ वर्षदेखि यो वा उ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागु हुन तयार पारेका छौँ । यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मेहनतको दिल खोलेर प्रंशसा गरेकी हुँ । यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो आखिरी समयमा गरिएको नियुक्ति बदरले हाम्रो ७ महिनाको मेहेनत पानीमा जाने प्रवल सम्भावना छ ।

मपछि नियुक्त हुने अध्यक्षज्युको कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबैभन्दा सक्षम नै मै हुँ भन्ने दाबी पनि गरेकी छैन । तर केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धिबाट साँच्चै नै तपार्इंको सरकार र माननीय संचार तथा सुचना प्रविधिमन्त्रीज्युले गर्व गर्न पाउनुहुन्थ्यो ।

मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावी योजनाको मुक्तकण्ठले तारिफ गर्नुहुने माननीय सुचना तथा संचारप्रविधि मन्त्रीज्यु, र आदरणीय सचिवज्युका स्यावासी मेरो मानसपटलमा ताजा छन् । तर त्यो स्यावासी र यो निर्णयको बीच कुनै तारतम्मे नमिलेकोमा दुःखी मात्र भएकी हुँ ।

मैले बकाइदा जाँच दिएर, अन्तरर्वाता दिएर, खुल्ला प्रतिस्पर्धामा आफूलाई सबै प्रतिस्पर्धीभन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ति हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तिको नियुक्ति कसरी राजनीतिक नियुक्ति भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्रमार्फत मैले आफ्नो पुनर्वहालीको याचना गरेकी पनि होइन । म २१औँ शताब्दिकी सक्षम महिला हुँ प्रधानमन्त्री ज्यु, यो देशको संविधानले दिएको हकअधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु ।

जति समय मैले चलचित्र विकास बोर्डका लागि दिएँ त्यति समय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो । चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ । बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हुँ ।, आफ्नै भाइले निर्माण गर्दै गरेको चलचित्र ‘रोजी’को सुटिङ आफैँ गएर रोकेकी छु र यस्ता अनगिन्ती दृष्टान्त छन् जसलाई प्रस्तुत गरिरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ । मलार्इ सरकारी तलब, सुविधा, पद आदि कुनै कुराको पनि लोभ थिएन र छैन । खाली एउटा दुःखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशीला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नुपर्छ भनेर लागिपरेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ ? चाकडी बजाउनै पर्छ ? यदि कुनै पनि राजनीतिक दलको आशिर्वादविना स्वतन्त्र नागरिक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइको समृद्ध नेपाल सुखी नेपालीको नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ । यो मेरो व्याङग्य होइन चिन्ता हो ।

आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरि पनि मिल्ने छ भन्ने कुरामा म आशावादी छु । र, म चलचित्र विकास बोर्डमा भए पनि नभएपनि मेरो नाभीसँगै गाँसिएको चलचित्र क्षेत्रको उत्थान, प्रवर्द्धनका लागि मेरो पुरै जीवन समर्पित छ । नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेशनमा विश्वभरका सिनेकर्मीलाई सुटिङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्मसिटी निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजीटाइज गरी भावी पुस्ताका लागि संरक्षित पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ पुस्ताका नवयुवक चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कयौँ मेरा योजनामा ब्रेक लागेको छ । तर चलचित्र विकास बोर्ड मेरो जागिर होइन सामाजिक जिम्मेवारी हो । योगदान दिन पद नै चाहिन्छ भन्ने पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो काष्टिङ मात्र हो, मध्यान्तर पनि हैन, दि इन्ड त हुँदै होइन । प्रधानमन्त्रीज्युलाई हेक्का रहोस् ।

निकिता पौडेल

प्रस्तुति : राजन घिमिरे