के देखेनन् र यी आँखाले ?

संयोगका पानाहरू-११

185 Shares

– गोपाल पराजुली

म करिव ५ वर्षको हुँदा गाउँकै एउटा स्कूलको चौरलाई पुलिसहरूले घेरावन्दी गरेर डोरीले छेकेका थिए । चौरभित्र जान दिइएको थिएन । माइकबाट ठूलो–ठूलो आवाजमा ‘धानको वाला झुल्यो हजुर देशै रमाइलो’ बोलको गीत घन्किएको थियो । रुख चिन्ह अङ्कित पोष्टरहरू घरका भित्ता–भित्तामा टाँसिएका थिए । त्यहि नै नेपालको पहिलो आम निर्वाचन रहेछ । पछि थाहा भयो ।

२०१५ सालको उक्त चुनावमा दुई तिहाई बहुमत पाएको काङ्ग्रेस पार्टीको सरकार अपदस्त भएको भनेर शुरु भएको राजाको शासन पनि देखियो । पञ्चायती व्यवस्था, गाउँफर्क अभियान, विपक्षीलाई अराष्ट्रिय तत्वको नामाकरण, प्रकृतिको दोहन, सांस्कृतिक सम्पदाहरू विदेशी संग्राहलयमा बिक्री, चारकोशे झाडीको फडानी, हुकुमवासी नै सुकुमवासी, पुनर्वासको नाममा जंगलको विनास, मण्डलेहरूको उत्पत्ति, उनीहरूको दबदबा, राजाको सवारी, काठमाडौंको काउली सुर्खेतमा फलेको भनी देखाउने र राजालाई खुशी पार्ने प्रवृत्ति, हात्ती, गैँडा, बाघ लगायतका जनावरको वासस्थानमा पूर्व–पश्चिम राजमार्ग बनेको, केही जनताको आवाज– ‘आउ सबै जन बनौँ अब राष्ट्रवादी, पाइन्छ खान मदिरा रक्सी आदि । पर्दैन झुम्न अनुशासनमा रहेर, भन्दैछ जनता पनि धेर थोर’ जस्ता आफ्नै रचना र चेतनाको अनुभव पनि गरियो ।

आरआईबी नामका गुप्तचरहरूदेखि क्याम्पसमा मण्डलेहरूको रजाइँ, इतर विद्यार्थीहरूको हुंकार र परिवर्तनकामीहरूको भाषण तथा एक–आपसको अविश्वास पनि हेरियो । लामो निर्वासनपछि बीपी कोइरालाको फिर्ती, उनलाई देख्न–हेर्न जाने म जस्ता मानिसहरूमाथि आक्रमण भएको र हप्तौसम्म अस्पतालको बसाइ पनि भोगियो । विमान अपहरण र अतिवादी सोँच पनि देखियो ।

झापा विद्रोह र सुतिरहेका मानिसहरूको टाउको गिँडेको, नक्सलवादी आन्दोलन र त्यसको विस्तार, हर्रे, बर्रे, छिन्ताङ, चुलाचुली र इलाममा विद्यार्थीलाई हत्या गर्ने योजना, टिमुरबोटेकाण्ड, जेल सार्दा ठगी, लीला समेतका विद्यार्थीहरूलाई गोली हानी हत्या गरेको र बीपी कोइरालाकै योजनामा आतंककारी गतिविधि, ठाउँठाउँमा गोला बारुदको आतंक, यज्ञबहादुर, भीमनारायणको मृत्युदण्ड, मृत्यदण्डको विरोधमा उठेको आवाज, प्रदर्शनीमार्ग भरी पम्पलेट, पञ्चायतको विरुद्धमा भित्रभित्रै जनमत तयार, ३५ सालको विद्यार्थी आन्दोलन र मलगायत कैयौँ विद्यार्थीहरूको कारावास, पटक–पटकको जेल जीवन र त्यहाँको अनुभव, सम्झौताबाट विद्यार्थीहरूको सबै माग पूरा, फेरि अर्को विद्रोह, विद्यार्थी बलबहादुर लगायतलाई ठेलामा राखेर मोसो दलेर काठमाडौं उपत्यका परिक्रमा गराएको र सोही राती गोरखापत्र संस्थानमा आगलागी भएको पनि देखियो ।

२०३६ जेठ १० गते राजाबाट जनमत सङ्ग्रहको घोषणा, बहुदल र निर्दल पक्षधरहरूको लडाइँ, जनमत सङ्ग्रहमा बहुदलले जिते काङ्ग्रेसको शासन हुने ठानी वामपन्थीहरूले निर्दलीय व्यवस्थाका पक्षमा मतदान गरेको गोप्यता, बामपन्थी नेता र सूर्यबहादुर थापा समेतको साँठगाँठ, बहुदललाई हराई ३५ हजार बामपन्थी कार्यकर्ताहरूलाई पञ्चायतमा जागिर खुवाउने र त्यसैको आडमा संगठन विस्तार गर्ने योजना, काङ्ग्रेसलाई कोशी गण्डकी बिक्री गर्ने विदेशी दलाल भन्ने प्रचार र त्यसबाट पक्ष–विपक्षमा बहस, बीपी र राजाबीचको सम्वाद, देश घुम्न जान राजाको सल्लाह र कट्टर पञ्चहरू एअरपोर्टमा सुतेर प्लेन ल्याण्ड गर्न नदिने कर्तुतहरू पनि हेरियो ।

स्नातक Constituent Assembly बाट रामराजाको जीत, संवैधानिक राजतन्त्र नफर्कीए गणतन्त्रमा जाने उहाँको विचार, विशेष अदालतको बयान र त्यसबाट उत्पन्न तरङ्ग पनि देखियो । बीपीलाई फाँसी दिनुपर्छ भन्ने नारा–जुलुश र सीपी मैनालीलाई राजद्रोह मुद्दा अनि उनले जेल तोडेर भागेको समाचारको तरङ्ग, लोकसेवा आयोग उत्तीर्णलाई पुलिस रिपोर्टमा रोक्ने (वसन्तराम भण्डारी) हरकत र पञ्चायतको विरोध गरेवापत हजारौँलाई सार्वजनिक अपराध मुद्दा चलाई वर्षौँसम्म कारागारमा राखेको पनि हेरियो ।

आखिर जनमत सङ्ग्रपछि राष्ट्र बहुदल र निर्दलमा विभक्त भएको, प्रतिबन्धित पार्टीको नामबाट भित्रभित्र चुनाव लडी काङ्ग्रेस–कम्युनिष्टका अभियन्ताहरूको जालो राष्ट्रभरी फैलिएको पनि देखियो । २०४५ सालमा गणेशमान सिँहकहाँ काङ्ग्रेस–कम्युनिष्टको संयुक्त मोर्चा गठन भएको, पञ्चायत व्यवस्थाविरुद्ध प्रहार, पछि बहुदलिय व्यवस्थाको पुनःस्थापना, अन्तरिम सरकार, २०४७ सालको संविधान र नेपाली काङ्ग्रेसको बहुमतको संख्या, कम्यूनिष्ठहरूको विद्रोह, सडक सदनमा उत्तेजनात्मक भाषण, मदन भण्डारी समेत चढेको गाडी दुर्घटना कि षड्यन्त्र ? भन्ने वहश, हत्यारा गिरिजाप्रसाद कोइराला भनी चर्का नारा, भित्ताभरी पोष्टर र व्यानर अनि कृष्णप्रसाद कोइरालाको मन्त्रीपरिषदबाट ७ महिनामा संविधान बनाएको सफल कथा र उनलाई चुनावमा हराउन खेलिएका भूमिका र तिनका पात्रमा आफ्नै पार्टीबाट भएको अन्तरघात पनि बुझियो ।

अमर लामालाई सवारी दुर्घटना र ज्यान मुद्दा लगाई सजाय गरेको, उनको डायरीमा प्रकाशित तरङ्गपछि दिउँसै रत्नपार्कबाट अपहरण गरी कीर्तिपुर लगेर हत्या गरिएको र तिनका मतियार अनि त्यो करतुतमा संलग्नहरूको हंसमुख चेहरा र सत्तारोहण पनि देखियो ।

२०५२ साल भदौ १२ गतेको संसद स्थापनाको फैसलालाई लिएर पक्ष–विपक्षमा बहस, द्वन्द्व र प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायविरुद्ध अनर्गल प्रचार, १८ करोड खाएर भाग्न लाग्दा पक्राउ परेर नजरबन्दमा भन्ने संगठित झुठको प्रचार, नेपालको संविधान २०४७ बमोजिम न्यायपरिषदको व्यवस्था, स्वतन्त्र न्यायालयसम्बन्धी पहिलो दस्तावेज र मौलिक हकहरूलाई संविधानले संरक्षण गर्ने संवैधानिक व्यवस्थालाई सक्रिय पारिएको न्यायाधीशहरूलाई सुविधासम्पन्न पारिएको पनि देखियो ।

के देखेन यो आँखाले ? कुनै शत्रुराजाले अर्को शत्रुराज्यमाथि आक्रमण गरेको शैलीमा भएको आक्रमण र निर्दोष एवम् सवल सक्षम विद्वान अधिवक्ता यादवनाथ आलोकको हत्या, आफ्नै आँखाको अगाडि आक्रमण गरेर ज्यान लिएका मण्डले जत्था र त्यसको पछाडि अञ्चलाधीश र सीडीओको हात अनि उनीहरूलाई प्राप्त सत्ताको आड पनि हेरियो । विद्यार्थी नेता मित्रसेन र विजय गच्छदारप्रतिको आक्रमण पनि देखियो ।

परिवर्तनको लागि २०३५ सालको विद्यार्थी आन्दोलनमा म स्वयमले भोगेको अनुभव, मैले गरेको क्रियाकलाप र परिवर्तनको लागि जीवनको आहुति दिन तैयार मनस्थितिलाई अहिले सम्झिँदा पनि गौरवको अनुभूति हुन्छ । तर परिवर्तनछिका दिनहरूमा खासगरी काङ्ग्रेस नेतृत्वमा युवाहरूप्रति गरिएको हेपाहा प्रवृत्ति र हरेक पार्टीमा शीर्ष नेताहरूको इर्दगिर्दमा वसेका युवाहरूको मात्र पदोन्नती हुने परिपाटी पनि देखियो ।

पजेरो संस्कृति, निजीकरण र उदारीकरण, शिक्षा, स्वास्थ्य, सञ्चार र वित्तिय क्षेत्रमा निजीकरणपछि ठूला बैंकहरू, अस्पतालहरू, विद्यालयहरूको स्थापना, संचारक्षेत्रको विकाशपछि हातहातमा मोवाइल र निजी क्षेत्रले पनि छुट्टै सुरक्षा संयन्त्र राखेको समेत देखियो । आफ्नै पार्टीको बेमेलपछि बहुमतको सरकार भंग गरी भएको मध्यावधि निर्वाचन, पुनः एमालेको सत्तारोहण, आफ्नो गाउँ आफैँ बनाउँ जस्ता कार्यक्रमहरू, असहायहरूलाई वृद्ध भत्ता, ठूला ठूला बाढी र विनास, वैदेशिक रोजगारमा वृद्धि, इराकमा १२ नेपालीको क्रुर हत्यापछि काठमाडौँमा भड्किएको हिंशा, दिनदहाडै सडकमा सांसद र संचारकर्मीको हत्या, राजनैतिक खिँचातानी, सत्ताको चरम दुरुपयोग, सांसदको किनबेच, पूर्ण वैश्य मार्गको संस्कृति, ठूला–ठूला सञ्चारगृहहरूको स्थापना, पूर्ण प्रेस स्वतन्त्रता, प्रेसमा अनुत्तरदायीपनको विकास, वेलगाम बेथिति र बाहुबलको पकड पनि हेरियो ।

माओवादीको उत्पत्ति र विस्तार, ‘किलो शेरा टु’ को अपरेसन, चन्दा आतंक, सैन्य तालिम, पाल्पा, म्याग्दी, सोलु, अछाम, रुकुम, रोल्पा, आदिका सदरमुकाममा सरकारी भवन ध्वस्त, नाइटभिजन हेलिकोप्टरको गस्ती, नेता संरक्षित तर निरिह कार्यकर्ताको हत्या, माओवादीको सफाया अभियान, दिनदहाडै विद्यालयका शिक्षक, किरियापुत्री र निर्दोष मानिसहरूको हत्या, समय समयमा युद्ध विराम, वार्ता र माग संशोधन, पुनः आक्रमण, संसद विघटन, राजा वीरेन्द्रको वंश नास, त्यसपछिका राजनैतिक खिँचातानी, फेरि संसद विघटन, कमजोर शासन र त्यसैको आडमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, दलहरूमाथिको प्रतिबन्ध, तुलसी गिरी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष भएको पनि हेरियो ।

काङ्ग्रेस, एमाले र माओवादीको गोप्य सहमति, १२बुँदे सम्झौता, ०६३ सालमा दरबार समेतका विरुद्ध जनआन्दोलन, ०४७ सालको संविधान निलम्वित, अन्तरिम संविधान जारी, गणतन्त्र घोषणा, माओवादी र एमालेलाई बराबरी स्थान, संविधानसभाद्वारा संविधान जारी गर्ने प्रतिवद्धता, फेरि चुनाव, माओवादीलाई करिव करिव बहुमत, फेरि पनि काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिँह जस्ता नेताहरूको स्वर्गवास, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा पालैपालो प्रधानमन्त्री भएको पनि देखियो ।

दुई वर्षभित्र संविधानसभाको चुनाव गराउने प्रतिबद्धता र संवैधानिक व्यवस्थाप्रति कुठाराघात, सोही विषयमा पटक–पटक सर्वोच्च अदालतमा मुद्दा, अन्तरिम संविधानको पटक–पटक संशोधन, चुनाव गराउनै पर्ने वाध्यात्मक अवस्थाको श्रृजना, प्रधानन्यायाधीश नै मन्त्रीपरिषदको अध्यक्ष हुनेगरी अन्तरिम संविधानको संशोधन, चार वर्षसम्म संविधानसभाको चुनाव हुन नसकी चुनावको निष्पक्षतामाथि वहश, राजनैतिक पार्टीहरूमा खिचातानी, पार्टीहरूकै सहमतिमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व प्रदान, त्यसैमा पक्ष–विपक्षको वहश, चुनाव सम्पन्न, संविधानसभाद्वारा संविधान निर्माण र राष्ट्रपति रामवरण यादवद्वारा ०७२/०६/०३ मा संविधान जारी भएको पनि देखियो ।

संवैधानिक व्यवस्था अनुसार काङ्ग्रेसलाई सरकार छोड्नुपर्ने वाध्यता, केपी ओलीको नेतृत्वमा सरकार गठन, संविधान कार्यान्वयनको दायित्व, त्यसप्रति सचेतना भन्दा पनि फेरि राजनीतिक खिचातानी, पुष्पकमल दाहाल पुनः प्रधानमन्त्री, काङ्ग्रेस र माओवादीको संयुक्त सरकार, पुनः शेरबहादुर देउवा प्रधानमन्त्री, फेरि वाम गठवन्धन, चुनावी अन्यौलको अवस्था, एकपल्ट फेरि प्रधानन्यायाधीशलाई नै चुनावी सरकारको नेतृत्व दिनुपर्ने विचारको मन्थन, त्यसैको सेरोफेरोमा आग्रह र अनुरोध, चुनाव गर्ने घोषणा, पुनः चुनाव सार्ने चलखेल, त्यसभित्र मेरो असहमति, राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब, चुनाव मिति पछाडी धकेल्ने असफल प्रयत्न, राष्ट्रपतिसँगको विचार विमर्श, चुनाव सम्पन्न, करिव दुई तिहाइ मतको वाम सरकार गठन र त्यसभित्रको उन्माद, राष्ट्रपतिको सपथलाई विवादित बनाउने खेल र कोशिस, षड्यन्त्रकारीहरूद्वारा ‘कु’को शैलीमा मलाई अपदस्त गर्ने योजना, सर्वोच्च अदालतका वहालवाला केही न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा समेत नहेरेको अनौठो गैरसंवैधानिक, गैरकानूनी र न्यायिक विचलनको घटना, केही न्यायाधीशहरूद्वारा आचारसंहिताको उल्लंघन, उनीहरूलाई कार्यवाही गर्नुको साटो सुझबुझमा ल्याउने मेरो प्रयत्न, दुई दिनको हडतालपछि आठ न्यायाधीशद्वारा २ दिनको विदा बस्ने पत्र प्राप्त, घरभित्रै सर्पको वास भएको अनुभुति, गैरकानूनी पत्रलाई बदर गरेपछि मेरो राजीनामा, कान्तिपुर मिडियाको म प्रतिको दुराग्रह, झुठा समाचार संप्रेषण, न्यायिक स्वतन्त्रतामा अनवरत हस्तक्षेप, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेतको सक्रियतामा डा. गोविन्द केसीलाई मेरा विरुद्द उक्साउने परिपञ्च, ३० हजार जनता मर्नसक्ने उद्घोष सहितको पूर्व प्रधानन्यायाधीश कार्कीको उत्तेजनात्मक भाषण र अभिव्यक्ति, गंगामायाप्रति गोहीको आँसु, गोविन्द केसीजस्ता अराजक र अशिष्ट व्यक्तिलाई उचाल्ने खेल, त्यसैको सेरोफेरोमा काङ्ग्रेसको अनुत्तरदायी कार्यशैली, आफैँले ल्याएको निजीकरणको आफैँद्वारा विरोध र अतिरञ्जना, आदि इत्यादि अनेकौँ घटनाहरू देखियो भोगियो ।

यी घटनाक्रम इतिहासको पानामा सुरक्षित शीर्षक हुन सक्छन् । ती शीर्षकका पृथक पृथक केस्रा केलाएर लेख्ने र विश्लेषण गर्ने कार्य समयक्रममा हुँदै जाला । यी त फगत संस्मरण मात्र हुन् यसभित्र केलाउँदै जाँदा अझ थुप्रै कुराहरू होलान् । यद्यपि न्यायालयका गतिविधि र न्यायिक स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप र मानवअधिकार तथा Milan Declaration को भावना प्रतिकूल भएका अनेक गतिविधिहरू के कसरी हुन गए ? न्यायालयमा किन, कसरी, कोबाट गुटबन्दी श्रृजना गरियो ? न्यायपरिषदमा मेरो उपस्थिति ६ घण्टापछि हुने निश्चित भएकोमा त्यसलाई किन कुर्न सकिएन ? काठमाडौँमा मेरा ८ वटा घर छन् भनी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले किन सफेद झुठको दुष्प्रचार गर्नुभयो ? न्यायालयलाई सुधार्ने मेरो जिम्मेवारी के हो ? आदि इत्यादि विषयमा प्रकाशोन्मुख पुस्तकमा चर्चा गर्ने नै छु । आँखाले देखेको, आफूले भोगेको र न्यायालयभित्रै न्यायाधीशहरूको बीचमा भएका अनेकन तस्बिर एवम् १८ वटा उच्च अदालत गठनको रहस्य समेत प्रकाशित गर्नेछु ।

माथि उल्लेखित शीर्षकहरूभित्रका रौँ चिरा मेरा समकक्षीहरूलाई त ज्ञात भएकै विषय हुन सक्ला । यद्यपि मैले संयोगवश देखे–भोगेका यि घटना–परिघटनाहरू नयाँ पुस्ताका लागि भने नेपाली न्यायिक इतिहासको अध्ययन र विधिशास्त्रीय विश्लेषणका लागि पनि एउटा ऐतिहासिक सूचना हुनेछ भन्ने आशा गरेको छु ।

यो पनि हेर्नुहोस् –

न्यायिक स्वतन्त्रता जोगाउन बेलैमा सोचौँ
http://www.ghatanarabichar.com/107121

185 Shares

प्रतिक्रिया