तेस्रोआँखा

तेस्रोआँखा


pathakmanchठेला व्यवसायीसँग प्रहरीको लाप्पा !
रुपन्देहीका सडक किनारमा ठेला व्यवसाय सञ्चालन गरेका व्यवसायीले वैकल्पिक व्यवस्था नगरी ट्राफिक प्रहरीले आफूहरूलाई हटाएकोप्रति आपत्ति प्रकट गरेका छन् । मुख्य राजमार्ग किनारमा ७५ र ८२ फुट छाडेर व्यवसाय गर्दा पनि ट्राफिक प्रहरीले अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ । ठेला व्यवसाय सञ्चालन गरी दैनिक गुजारा चलाउँदै आएको भए पनि पछिल्ला केही दिनयता प्रहरीले सडक किनारमा ठेला राखी व्यवसाय सञ्चालन गर्न नदिएपछि दैनिकी चलाउन गाह्रो परेको रूपन्देही ठेला व्यवसायी सङ्घर्ष समितिका संयोजक मोतीलाल कँडेलले बताए ।
अहिले रूपन्देही आसपासका क्षेत्रमा करिब १२ सयभन्दा बढी ठेला व्यवसायी सञ्चालनमा रहेका छन् । सडक किनारमा व्यवसाय गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने र दुर्घटनासमेत बढ्ने हुनाले आफूहरूले त्यस्ता ठेला व्यवसायीलाई सडक किनारबाट हटाएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी विभूतिराज पाण्डेले बताए । पछिल्लो समयमा ठेला व्यवसायीले इलाका वन कार्यालयअगाडि र बसपार्क क्षेत्रमा ठेलामार्फत व्यवसाय गर्दै आइरहेका थिए । आफ्नो रोजीरोटीका लागि व्यवसाय सञ्चालन गर्दै आएको भए पनि एसपी पाण्डेले ज्यादती गरेको उनीहरूको आरोप छ । ठेला व्यवसायीले आफ्नो माग सम्बन्धमा ट्राफिक प्रहरीसँग छलफल गर्ने भने पनि ट्राफिक प्रहरीले छलफलप्रति चासो नदेखाएको संयोजक कँडेलले बताए । आयआर्जन र जीविकोपार्जनको एक मात्र विकल्प ठेला व्यवसाय नै भएकाले जसरी भए पनि आफूहरूलाई वैकल्पिक स्थानको व्यवस्था गर्न आग्रह गरे । प्रहरीले अहिले भित्री सडक तथा मुख्य राजमार्ग किनारमा ठेला व्यवसाय सञ्चालनमा रोक लगाएको छ । सडकलाई चुस्त र दुरुस्त राख्न प्रहरीले सडक किनारमा रहेका विभिन्न निर्माण सामग्री, स्थायी तथा अस्थायी भौतिक संरचनालाई हटाउँदै आएको छ ।
– रामप्रसाद खनाल, बुटवल

सत्य कुरा त यो पो हो
लोकप्रिय साप्ताहिक घटना र विचारको जेठ २९ गतेको अङ्कमा ‘अख्तियारका गीताको सीता बटुल्ने काइदा’ शीर्षकको समाचारमा मलाई बिचौलियाको रूपमा प्रस्तुत गरिएको सन्दर्भप्रति मेरो ध्यानाकर्षण भएको छ । जनताको माझमा रहेर काम गर्ने मजस्तो व्यक्तिले सधैँभरि एउटा सचेत नागरिकको दायित्व निर्वाह गर्दै आएको छु । यसक्रममा भारतीय नागरिकले नेपाली नागरिकता प्रमाणपत्र लेओस् वा त्यसबारेको छानबिन प्रभावित होस् भन्ने कल्पनासम्म गर्दिनँ । बरु कांग्रेसका वीरगञ्ज अध्यक्ष शाहबुद्दिन भारतीय नागरिक रहेको भनी अख्तियारमा पुगेको छु, कारबाही गराउन । अख्तियारले पनि प्रथम दृष्टि (प्रारम्भिक अनुसन्धान) मै उनी भारतीय नागरिक रहेको ठहर गरेको छ । यसरी देश, जनताप्रति कर्तव्यनिष्ठ भएर काम गरिरहेको मलाई समाचारमा जुन किसिमले प्रस्तुत गरिएको छ, यसले मलाई गहिरो आघात पुर्‍याएको छ । मेरो समाचारमा उल्लेख भएका व्यक्तिहरूसँग कुनै व्यक्तिगत वा निकटताको सम्बन्ध नरहेको जानकारीसमेत गराउँछु ।