प्रिय चेलोलाई गणेशमानको त्यो आशीर्वाद !

प्रिय चेलोलाई गणेशमानको त्यो आशीर्वाद !


■ नारदेश्वरप्रसाद सिंह ‘कर्णकायस्थ’

प्रेम अपरिवर्तनीय हुन्छ भनिन्छ । वास्तविक रूपले गरिएको प्रेम वा स्नेहलाई विशेष समय–परिस्थितिले पनि डगाउन सक्दैन भन्छन् अनुभवी–भुक्तभोगीहरू । नेपालका नेताहरू जनतालाई असाध्यै प्रेम र स्नेह गर्छौं भन्छन् । तर प्रेमको पनि विकल्प रहेको विषय भनेको सायद राजनीति नै होला भन्ने यहाँका कथित नेताहरूको व्यवहारले दर्शाउँछ । राजनीतिभित्र अनेकन विकल्प वा ‘टुल्स’हरू प्रयोग हुन्छन् । त्यसैले त राजनीतिज्ञहरू कहिले कसैलाई औधी प्रेम गर्छन् त कहिले औधी घृणा गर्न पनि पछि पर्दैनन् । यसै भनिएको होइन होला– राजनीतिमा स्थायी शत्रु र मित्र दुवै हुँदैनन् ।

विषय प्रसङ्ग नेपालको सबैभन्दा जेठो पार्टी र यससँग जोडिएका ठूला त्यागी नेता स्व. गणेशमानसिंह श्रेष्ठ र त्यसबखत अब्बल ठहरिएका युवा नेता जो गणेशमानका अत्यन्तै प्रिय बन्न सफल भएका थिए, सँग सम्बन्धित छ । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो । समाजवादी दल नेपाली कांग्रेसको तर्फबाट वैदेशिक अध्ययनका लागि विशेष सिफारिस पाएर बेलायत अध्ययन गर्न गएका एक होनहार ठहरिएका युवा अब देशमै सम्भावना देखेर जीवन नै राजनीतिमा बिताउने आशा र भरोषाका साथ फर्किएका थिए । नेविसङ्घको संस्थापक सदस्यसमेत भइसकेका उनको पनि नेपाली राजनीतिमा कम योगदान थिएन । देश वापसी हुनासाथ नेपालको सुदूरपश्चिमको जिल्ला डडेलधुराबाट चुनाव लड्ने उहिलेदेखि अहिलेसम्मै एकल रूपमा पाइरहने भाग्यमानी पनि उनै हुन् । ठूला नेताबाट विश्वास गरी खटाइएकाले होला, चुनावमा अत्यधिक बहुमतले जित्न तिनि सफल पनि भए ।

त्यसपछि लगत्तै उनले गृहमन्त्री बन्ने अवसरसमेत पाइहाले । हुनत उनी स्थानीय विकासमन्त्री बन्नकै लागि विज्ञहरूबाट सुझाइएका थिए, तैपनि आफ्ना खास हितैषीको आग्रह शिरोपर गरेर उनी गृहमन्त्री नै भइछाडे । आफूले प्रेम गरेका पात्रको सुझाव–सल्लाह अलि गहिरिएरै सुन्ने स्वभावका कारण विकासवादी नेता होइन शासकको रूपमा उदाउने भाग्य उनलाई जुऱ्यो ।

यति भनिसक्दा बुझ्नेले सहजै बुझ्न सक्छन् कि ती भाग्यमानी अरू कोही नभई मुलुकमा चार–चार पटक प्रधानमन्त्री भइसकेका र काङ्ग्रेस जस्तो ऐतिहासिक दलको शीर्ष कमाण्ड सम्हाल्ने अवसरसमेत पाएका शेरबहादुर देउवा नै हुन् । देउवा त्यतिबेलाता मुलुककै हर्ताकर्ता ठहरिएका गिरिजाप्रसाद कोइरालासमेतका अति विश्वास पात्र नै थिए । यही विश्वासलाई विनिमय गरेर उनी आफ्ना समकालीनलाई पछि पार्दै तुलनात्मक हिसाबले युवा उमेरमै प्रधानमन्त्रीसमेत बन्न सफल भएका थिए ।

‘शेरबहादुर तिमीले ढिलै भए पनि विवाह त गऱ्यौ तर विवाह त के पानी–पैँचोको सम्बन्धसमेत जोड्नै नहुने कुलघरानामा तिम्रो विवाह भयो । म यसबाट असन्तुष्ट मात्र नभई निराश नै भएको छु । मैले तिमीबाट धेरै ठूलो आशा गरेको थिएँ, अब त्यो टुट्यो । यद्यपि तिमीलाई आशीर्वाद दिनबाट भने म चुक्दिनँ । यो मेरो व्यक्तिगत भए पनि कर्तव्य नै हो भन्ने म ठान्दछु ।’

उनी गृहमन्त्री भइसकेपछि पश्चिमा कूटनीतिज्ञहरूको सल्लाहमा एउटी अभिजात वर्गकी महिलासँग लहसिन पुगे । अन्तमा योजनाबद्घ ढङ्गबाट तिनै महिलासँग उनको विवाह सम्पन्न भयो । आफ्नी नवदुलहीलाई लिएर आफ्ना अग्रजहरूसामु आशीर्वाद लिन जानेक्रममा एकदिन उनी स्व. गणेशमान सिंहको चाक्सीबारी ठमेलको घरमा पुगेका थिए, एकाबिहानै । गणेशमानले भेट दिन आनाकानी गर्दै थिए, तर केही सीप नलागेर ढिलै भए पनि भेट त दिए, तर देउवा र उनकी नवदुलहीसमेतले मागेको आशीर्वादको जवाफमा स्व. गणेशमान सिंहले भनेका शब्दका आसय भने यस्तो थियो भन्ने चर्चा पुराना काङ्ग्रेसीबीच अहिले पनि चलेको सुनिन्छ, जो यस्तो छ– ‘शेरबहादुर तिमीले ढिलै भए पनि विवाह त गऱ्यौ तर विवाह त के पानी–पैँचोको सम्बन्धसमेत जोड्नै नहुने कुलघरानामा तिम्रो विवाह भयो । म यसबाट असन्तुष्ट मात्र नभई निराश नै भएको छु । मैले तिमीबाट धेरै ठूलो आशा गरेको थिएँ, अब त्यो टुट्यो । यद्यपि तिमीलाई आशीर्वाद दिनबाट भने म चुक्दिनँ । यो मेरो व्यक्तिगत भए पनि कर्तव्य नै हो भन्ने म ठान्दछु ।’

गणेशमान सिंहले अन्त्यमा पुनः थपे– ‘मैले अहिलेसम्म भनेको कुराको आसय बुझ्यौ त होला नि ? जसको शासन र शोषणतन्त्रलाई हराउन हामीले यत्तिका वर्षसम्म लड्नुपऱ्यो । जुन कारणले यो देश सयौँ वर्ष पछि पऱ्यो । जसका कारणले जनता जनार्जन बन्न पाएनन् सधैँ रैती नै बन्नुपऱ्यो । जसका कारण शिक्षाको उज्यालो घामबाट नेपाली समुदाय ओझेलमा पर्नुपऱ्यो । जसका हुकुमी न्याय पद्धतीले हजारौँ अन्यायमा परे । जसका कारण हजारौँ छोरी–चेली शोषित–पीडित छन् । लाखौँ विधवासमेत भए । एउटा सिङ्गो देश लुटियो । यो समाजलाई अन्धकारबाट जोगाउन म काजीको छोरा–नाति यिनका हण्डी फ्याँकेर राजनीतिमा उत्रिएँ । यिनकै कारण र जनतालाई न्याय दिलाउनाका खातिर ज्यान माया मारेर महिलाको भेषमा ढलबाट भाग्नुपऱ्यो । के मैले यिनको शासन स्वीकारेका भए आजीवन मन्त्री पाउने थिइनँ ? के बीपी बाबुले आजीवन सत्ता पाउने थिएनन् । धिक्कार छ तिमीमाथिको हाम्रो भरोसा र लगानी । हाम्रो प्रशिक्षण व्यर्थ भयो । अब यत्तिको कार्यकर्ता र भविष्यको नेता उत्पादन गर्न पार्टीलाई पचासौँ वर्ष लाग्न सक्दछ । जो–कोही होनहार कार्यकर्तास्तरले यस्ता अभिजातको सङ्गत गरेका छन् उनीहरूबाट ठूलो आशा नगरे पनि हुन्छ । त्यसमाथि स्त्रीहठ पालना गर्ने, आफ्नो निर्णय नभएको, योजनाबद्घ बन्धनमा बाँधिएको तिमीबाट पार्टीले समेत धेरै आशा नगर्दा नै राम्रो । अब तिमी जाऊ तिम्रो वैवाहिक जीवन सफल रहोस् ।’

सर्वमान्य नेता गणेशमान सिंहका मुखबाट यति सुनेपछि देउवा एक शब्दसमेत नबोली लुरुक्क फर्किएका थिए । आज गणेशमानको बोलीले सिङ्गो काङ्ग्रेसलाई गला लागेको अनुभव भइरहेको होला–नहोला, योचाहिँ पर्गेल्नैपर्ने सन्दर्भ बनेर रहेको छ ।