अमेरिकी सरकारले स्वागत गऱ्यो १४ हजार नयाँ नागरिक

अमेरिकी सरकारले स्वागत गऱ्यो १४ हजार नयाँ नागरिक


– मनोज रिजाल, न्युयोर्क

डोमिनिकन रिपब्लिकमा जन्मिएकी करिना बोर्बोनको निम्ति यो दिन जीवनकै एक ठूलो दिन थियो । उनले यो दिन देख्नको निम्ति कहिले धैर्य त कहिले अधीर भएर १० वर्षसम्म कुरिन् । आफ्नो अमेरिका बसाइको १० वर्षसम्म एक असल मानव हुँ र एक असल अमेरिकी नागरिक समेत बन्न सक्छु भन्ने तथ्य प्रमाणित गर्दै लगिन् र जुलाई ३ तारिख मंगलबारका दिन एक भव्य समारोहका बीच अमेरिकी नागरिकता प्राप्त गररै छोडिन् ।

‘म आज असाध्यै उत्साहित छु । म असाध्यै खुसी पनि छु’ उनले यस पङ्क्तिकारलाई भनिन्, ‘यो मेरो लागि एउटा सम्मान हो र म बुझ्न सक्छु कि हरेक फाइदा जिम्मेवारीसँग जोडिएर मात्रै प्राप्त हुने गर्छ ।’

न्युयोर्क म्यानहटनको फिफ्थ एभेन्युमा अवस्थित न्युयोर्क पब्लिक लाइबे्ररीमा आयोजित समारोहमा नागरिकता प्राप्त गर्ने २०० जना मध्येकी एक थिइन् बोर्बोन ।

ती २०० जना संसारभरिका ५० विभिन्न देशबाट आएका व्यक्तिहरू थिए, जसमा नेपाल, इजरायल, श्रीलंका, दक्षिण कोरिया, कोसोभो, घाना, लेबनन र फ्रान्स आदि देशहरु पर्दछन् ।

‘आजको दिन तपाईंको निम्ति परिवर्तनको दिन हो,’ न्युयोर्क पब्लिक लाइब्रेरीका अध्यक्ष डा. टोनी माक्र्सले उक्त समारोहलाई सम्बोधन गर्दै भने ।

‘अमेरिका आप्रवासीहरूले बनाएको र आप्रवासीहरुले नै आवाद गरेको देश हो । हामी सबैजना आप्रवासी नै हौँ । अब उप्रान्त लोकतन्त्रका दायित्वतर्फ पनि तपाईंहरुलाई स्वागत छ, जुन तपाईंहरुले जीवनका हरेक पक्षहरुमा लागु गर्नुपर्नेछ, जस्तै– मतपत्र खसाल्दा, बाटोमा हिँड्दा, भेटघाटहरूमा र तपाईंका हरेक वार्तालापहरूमा ।’

‘बधाइ छ मेरा अमेरिकी मित्रहरू !’ अमेरिकी सरकारको नागरिकता र आप्रवास सेवासम्बन्धी अंग युस्सिआइएस्का न्युयोर्क जिल्लाका उपनिर्देशक टिमोथी हुटोनले उक्त समारोहलाई सम्बोधन गर्दै भने ।

‘अब तपाईंहरुसँग आफ्नो देश संयुक्त राज्य अमेरिकाको निम्ति सकारात्मक योगदान पुऱ्याउने उचित अवसर छ !’ उनले भने ।

हुटोनले २०० नव नागरिकहरुलाई नागरिकताको शपथ ग्रहण गराएको उक्त समारोहको संचालन न्युयोर्क जिल्लाका लागि युस्सिआइएस्का आप्रवासन अनुगमन सम्बन्धी अधिकारी स्कट भेलेजले गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका भरी सञ्चालन गरिएका यस्ता समारोहहरुको निम्ति एक भिडियो सन्देश जारि गरेका थिए । उक्त सन्देशमा नयाँ अमेरिकी नागरिकहरूलाई राष्ट्रपति ट्रम्पले बधाइ दिनुका साथै स्वागतसमेत गरेका थिए ।

युससिआइएसका अनुसार यस वर्ष जुन २८ देखि जुलाई १० तारिखसम्म अमेरिका भरि आयोजना हुने १७५ अंगीकृतिकरण समारोहहरुमा १४,००० नयाँ अमेरिकी नागरिकहरूलाई स्वागत गरिने छ ।

अमेरिकाको जन्मदिन अथवा २४२औं स्वतन्त्रता दिवस जुलाइ ४ तारिखका दिन मनाउनका निम्ति एक हप्ताअघि र एक हप्ता पछिसमेत हुने गरि ती समारोहरू आयोजना गरिएका हुन् ।