मत फकाउन यस्तो पनि गर्छन् उम्मेदवार

मत फकाउन यस्तो पनि गर्छन् उम्मेदवार


चुनावको बेला मतदाताबाट भोट फकाउन उम्मेदवारले हात जोडेर झुक्नु, अनेक आश्वासन तथा लोभ–प्रलोभन दिनु त सामान्य कुरा नै हो । चुनावअघि आश्वासन दिएर लोभ्याउने, जित हासिल भएपछि तिनै मतदातालाई नचिन्ने, चिने पनि बहानाबाजी गरेर पन्छिने तेस्रो मुलुकका नेताहरूको मिल्दोजुल्दो चरित्र हो । यो विशेषता आममतदाताले पनि बुझेकै हुन्छन्, तर हरेक निर्वाचनमा फेरि तिनै नेताका नौटङ्कीको सिकार हुन्छन् मतदाता ।

यसरी हात जोडेर अभिवादन गर्दै भोट माग्ने परम्परागत शैलीभन्दा एक कदम अगाडि बढ्दै पाकिस्तानका एक स्वतन्त्र उम्मेदवारले भोट माग्न बेग्लै काइदा अपनाएका छन् । पाकिस्तानमा छिट्टै हुन लागेको आमनिर्वाचनका उम्मेदवार अयाज मेमन मोतीवालाले अपनाएको अनौठो प्रचार–शैली यतिबेला सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

मोतीवालाले शहरको फोहोर तथा दुर्गन्धलाई भोटर रिझाउने माध्यम बनाएका छन् । उनी दूषित पानी बगिरहेको ढलमा ढुक्कैले सुतिदिन्छन् । यति मात्र होइन, दुर्गन्धित फोहोरको थुप्रोमाथि बसेर स्वादसँग खाना पनि खान्छन् । यसरी ढलमा सुतेको, फोहोरमाथि बसेर खाना खाएको दृश्यलाई उनी फेसबुकमा लाइभ पनि गर्छन् । उनीसँग मुस्कुराउँदै तस्बिर खिचाउने प्रशंसकहरूको जमात पनि दिनानुदिन बढिरहेको छ । सरकारले फोहोर तथा ढल व्यवस्थापनमा ध्यान नदिएकोले यसैलाई आफ्नो मूल एजेन्डा बनाएको सन्देश दिन यस्तो प्रचारशैली अपनाएको मोतीवालाले दाबी गरेका छन् ।