तेस्रो नजर

तेस्रो नजर


pathakmanchसिंहदरबारमा घोटाला पुल्चोकमा पिकनिक
नेपाल सरकारले बीपी कोइरालाको नाममा सिंहदरबारका हर्ताकर्ताका लागि मागिखाने एउटा संस्था खडा गरेको छ । खगोल विज्ञान सङ्ग्रहालय नामक उक्त संस्थाले आफ्ना गतिविधि पारदर्शी बनाउन चाहेको छैन । जसको कारण संस्थाको आधिकारिक वेबसाइट बन्द अवस्थामा छ । आमनेपालीको सटिक पहँुचका रूपमा लिइएको वेबसाइट बन्द भएपछि सरोकारवालालाई जानकारी पाउन मुस्किल परेको छ ।
आर्थिक सूचना लुकाउन भने संस्थाले गतिलो चाल चलेको छ । अरू एनजीओ र आईएनजीओले जस्तै संस्थाले प्रेसकर्र्मीलाई तालिमको नाममा पुल्चोकको एक तारेहोटलमा पिकनिक आयोजना ग-यो । यसो गर्दा तालिम लिएका प्रेसकर्मीले सङ्ग्रहालयबारे भनेजस्तो समाचार र आलेख प्रचार गर्छ भन्ने विश्वास लिएको छ । सङ्ग्रहालयले गत वर्ष पनि यस्तै सातदिने तालिम आयोजना गरेको थियो । यसको उपलब्धि कोही–कसैले पनि नखोजेकोमा संस्थाका मानिस विन्दास छन् ।
सङ्ग्रहालय भन्नेबित्तिकै आममानिसको पहुँचमा हुने निकाय हो । तर, यहाँको खगोल विज्ञान सङ्ग्रहालय भने सही सूचना लुकाएर नजिकका मानिसलाई पिकनिक बोलाउने थलो मात्र भएको छ । सरकारी तालिम भएकोले हाजिर गर्ने बेलामा लामो लाइन देखियो । तर, विषयगत छलफल हुने मानिसहरू कोही निदाए भने कोही भागिसकेका थिए । उता पुल्चोकमै प्रेसकर्मीलाई चुनावी अभियानमा साथ दिलाउन दिवाभोजको आयोजनासमेत गरियो । एकातिर सरकारी र गैरसरकारी निकाय प्रेसकर्मीको हकहितका लागि भाषण गरिरहेका छन् अर्कोतिर बेइमानहरूले प्रेसकर्मीलाई भ्रष्ट बनाउन तालिम र क्षमता अभिवृद्धिको नाममा आफ्नो अनुकूल हुने समाचार र आलेख तयार पार्न षड्यन्त्र गरिरहेको बुझिन्छ ।
– दामोदर श्रेष्ठ

विदेश जाने कागज काठमाडौंमै !
सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सम्बन्धित देशको चेम्बर वा दूतावास प्रमाणित अनिवार्य गरेपछि म्यानपावर व्यवसायी र एजेन्टहरूले बंगलादेश र काठमाडौंमा सम्बन्धित देशको नक्कली ‘चेम्बर’ बनाउन थालेका छन् । उनीहरूले आवश्यक छाप र कागजातहरू बंगलादेश र काठमाडौंमै तयार पार्दै व्यक्तिगत, पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल पेस गरिरहेका छन् ।
साउदी अरबको चेम्बर र विदेश मन्त्रालयको छाप बागबजारमा तयार पारी पूर्व र अन्तिम स्वीकृतिका लागि पेस गर्ने गरेको विभागका कर्मचारीलाई पनि जानकारी छ । तर, उनीहरूकै मिलेमतोमा काम भएकोले उनीहरूले आँखा चिम्लिदिएका छन् । वैदेशिक रोजगार विभागले गत हप्ता दुईवटा म्यानपावरले अन्तिम श्रमस्वीकृतिका लागि पेस गरेका फाइलमा नक्कली चेम्बर फेला पारेपछि पनि चेतावनी मात्र दिएर छाडेको छ । कुन–कुन म्यानपावरले त्यसो गरेका हुन् भन्ने कुरा उनीहरूले खुलाउन चाहेनन् । उनीहरूलाई चेतावनी मात्र दिएर छाडेबाट विभागकै मिलेमतोमा अनियमित र फर्जी काम भइरहेको स्पष्ट हुन्छ ।
कतारको चेम्बर अङ्ग्रेजीमा टाइप गरेर बनाइन्छ भने साउदी अरबको चेम्बर स्ट्याम्पमा तयार गरी सोहीअनुसार साउदी परराष्ट्रको छाप अरबी भाषामा नेपालमै बन्ने गरेको छ । यसरी नक्कली फाइल तयार पारेर वैदेशिक रोजगारीमा पठाउँदा नेपालीहरू विदेशमा अलपत्र पर्ने गरेका छन् । यस्ता नक्कली फाइलमा म्यानपावर व्यवसायीहरूले प्रतिबद्धता जाहेर गरेपछि अन्तिम श्रमस्वीकृति दिने गरिएको छ । नक्कली फाइलमा ठूलो अवैध रकमको चलखेल हुने गर्दछ । विदेशस्थित नेपाली नियोग र कर्मचारीको सही सम्बन्धित म्यानपावर र एजेन्ट स्वयम्ले गर्ने गरेको वर्षौं बितिसक्दासमेत सम्बन्धित निकाय मौनप्राय: रहेकाले रोजगारीका लागि बिदेसिने नेपाली ठगिने र विदेशमा दु:ख पाउने नियतिबाट मुक्त हुन नसक्ने नै भए भन्ने चिन्ता उत्पन्न भएको छ ।
– नेपालप्रेमी नागरिक, काठमाडौं