उल्टो गतिमा सरकार

उल्टो गतिमा सरकार


■ विनोद त्रिपाठी

आलोचना तीतो हुन्छ । यथार्थ आलोचनाले सही बाटो देखाउँछ । जथाभावी हुने टिप्पणीले झन् कठोर बनाउँछ । आलोचना सापेक्ष रूपमा खराब हुँदैन । शासक आलोचनाप्रति गम्भीर बन्न सक्नुपर्छ । शासकको गति आलोचना समाधान गर्ने हो । प्रतिवाद गर्ने शासकले सुशासन दिँदैन । अहिलेको कम्युनिस्ट सरकारले बलियो प्रतिपक्षको चुनौती झेल्नुपरेको छैन । करिब सबै दल एकछत्र सरकारमै छन् । काङ्ग्रेस बलियो प्रतिपक्षीको भूमिकामा अभ्यस्त हुँदै छ, भइसकेको छैन । ठूला विरोधका स्वर सरकारले सुन्नुपर्ने अझै सङ्केत देखिएको छैन । ढुक्कले काम गर्न सरकारलाई छुट छ । यो छुट जनताले छुटकारा पाउन दिएका होइनन् । जिम्मेवार बन्न अभिमतको छुट हो । जनमत त्यो हो, जुन सधैँ प्राप्त हुँदैन । जनताले त्यो विश्वास र भरोसाले कम्युनिस्टलाई भोट दिए, जुन सुशासनका लागि दिएका हुन् । तर, त्यो सुव्यवस्थाको सूर्योदय लक्षण अझै देखिएको छैन । पारि क्षितिजमा अझै अस्ताइरहेकै सन्ध्या कायमै छ ।

महँगीको आलोचना के गर्नु, आजित भइयो । स्कुलको शुल्क बढ्यो, कसलाई भनेर के हुन्छ ? उपचार पाउन सकिन्न, उपचार पाए पैसा तिर्न सकिन्न, कसलाई भन्ने हो ? सडकमा हिँड्न सकिन्न । धुलो–हिलो छ । नहिँडी सुखै छैन । यो कसले बनाउने हो ? परारै तुइन हटाउने भनियो, अझै हटेको छैन । साँघुरा पुल छन्, दुर्घटना भएकै छन् । बनाउने सुरसारै छैन । देशको राजधानीमा खानेपानी छैन । बोटलको पानी दूषित छ । धारामा पानी ल्याउने मेलम्ची आयोजनाको सौदाबाजी कहिले सकिने हो ? सरकारी कार्यालयमा अजिङ्गरजस्ता कर्मचारी छन् । सेवा लिन मेवा दिनुपर्छ । खाने मुख मात्र छन् । सेवा गर्ने हातहरू कुनै कार्यालयमा छैनन् । यी यावत् विषयहरू अहिले जनताले सरकारलाई सोधिरहेका छन् ।

हामी ऋण वा अनुदानमा केन्द्रित छौँ । कुन सरकारले कति सहयोग जुटाउन सक्यो त्यसैलाई सरकारको सफलता–असफलतासँग दाँज्छौँ । यो अहिलेसम्मको सबैभन्दा गलत मूल्याङ्कन हो । यो गलत परिपाटीलाई कम्युनिस्ट सरकारले पनि निरन्तरता दिनु लाजमर्दो हो ।

सरकार दर्जन स्थानमा चुकेको छ । यो नै अहिलेको उल्टो गति हो । सामान सस्तो हुनुपथ्र्यो, झन् महँगो भयो । आयात कम हुनुपर्ने, बढ्यो मात्रै । निर्यात पो ठप्प भो । असारे विकास होइन, वर्षभरि निर्माण पो खोजेको हो । अझै झमझम झरीमा कालोपत्रे सडक बन्छ यहाँ । बजेट सक्न असारमा मात्रै काम गर्ने आलोचना गरेको धेरै भो । दुर्गममा स्वास्थ्य सेवा लानुपर्ने । राजधानी र ठूला शहरमा मात्र बग्रेल्ती अस्पताल र मेडिकल कलेजहरू छन् । चिकित्सा क्षेत्रमा फेरि मेडिकल माफियाहरूको पक्षमा कानुन निर्माण गर्न सरकार कम्मर कसेको छ । सरकारी स्कुल सुधारको लक्षण छैन । ठूलो रकम खर्चने बोर्डिङ विस्तारको होड छ । उपचार गर्न नसक्ने विपन्नमाथि महँगा अस्पताल निर्माणमा ध्यान छ । सरकारी अस्पतालको सुधार कहीँकतै छैन । यस्ता सयौँ विषय छन्, जुन तथ्यहरूले सरकार ‘काशी जाने कुतीको बाटो’ अख्तियार गरिरहेछ ।

चुनाव भयो । सांसद बने । मन्त्री भए । प्रदेश बने । सङ्घीय सरकार गठन गरिए । स्थानीय जनप्रतिनिधि बनाइए । यसको खर्च जनताले कर तिरेर सुझाए । वर्षदिन नाघ्यो, स्थानीय सरकारहरू बनेका । आधा वर्ष लाग्यो केन्द्रको सरकार बनेको । अर्थमन्त्रीको बजेटले उल्टो समृद्धिको बाटो कोरेको छ । निर्यातमुखी बजेट छैन । रोजगार दिने सङ्केत छैन । साना व्यवसायीहरू हतोत्साहित बनाउने बजेट छ । अझै शेयर बजार उठ्न सकेको छैन । बजेटका नाममा कालाबजारी फैलिए । उत्पात महँगी बढ्यो । सरकारमा बसेका मन्त्रीदेखि खरदारसम्म कुनैमा जिम्मेवारीबोध देखिँदैन ।

सरकारको काम सडकमा देखिनुपर्छ । विभागमा होइन । गरिबको सरकार जनताको भान्सामा छाउनुपर्छ, गोष्ठी र सेमिनारमा होइन । पानी धारामा आउनुपर्छ, संस्थानका फाइलमा होइन । रिजल्ट प्रमाणपत्रमा देखिनुपर्छ, शिक्षा कार्यालयमा होइन । पढाइ विद्यार्थीको क्षमतामा देखिनुपर्छ, कापीका पानामा मात्र होइन । जलविद्युत् योजना झोलामा थन्किने होइन, एलईडी बल्बमा बल्नुपर्छ । प्रविधिको उपयोग व्यावहारिक हुनुपर्छ, देखावटी फेसनमा होइन । हरेक सरकारी कार्यालयका फाइल मुसाले खाने कागजमा होइन, कम्प्युटरमा राख्नुपर्छ । सार्वजनिक बस यात्रुका लागि हुनुपर्छ, साहुका लागि होइन । पार्क र पेटी सर्वसाधारणलाई हुनुपर्छ, ठेकेदारको स्केच र नक्सामा मात्र होइन । विश्वविद्यालय सङ्ख्यामा थप्ने होइन, रोजगार पाउने गुणस्तरमा हुनुपर्छ । पर्यटक भित्र्याउने प्रचारले मात्र पुग्दैन । राजधानी झर्ने पर्यटक फेरि नेपाल आउन मान्दैनन् । धुलोधुवाँको ट्विट गर्दै फर्कन्छन् । यसले कति नकारात्मक प्रचार दिन्छ ? सरकारले चेतेको छ ? प्राकृतिक स्रोतसाधनको प्रचारले अबको युगमा पुग्दैन । आवश्यक भौतिक पूर्वाधार अनिवार्य चाहिन्छ ।

हामी ऋण वा अनुदानमा केन्द्रित छौँ । कुन सरकारले कति सहयोग जुटाउन सक्यो त्यसैलाई सरकारको सफलता–असफलतासँग दाँज्छौँ । यो अहिलेसम्मको सबैभन्दा गलत मूल्याङ्कन हो । यो गलत परिपाटीलाई कम्युनिस्ट सरकारले पनि निरन्तरता दिनु लाजमर्दो हो । अब विदेशी सहयोग होइन, प्रविधि र सीपको सिकाई भित्र्याऊँ । अब सामान र अन्न होइन, उत्पादनका नियम र तरिका ल्याऊँ । विकास र समृद्धिमा योभन्दा अर्को विकल्प कुनै छैन । किनकि यदि ऋण र अनुदानबाट हामी सम्पन्न हुने थियौँ भने आजका मितिसम्म हामी समृद्ध मुलुकको श्रेणीमा चढिसक्थ्यौँ । यो असम्भवको यात्रालाई कम्युनिस्ट सरकारले जारी राखेर फेरि उही ऋण र अनुदानका चाङ लगाउनु अर्को निरर्थकको सपना हो ।

सरकारको काम सडकमा देखिनुपर्छ, विभागमा होइन । गरिबको सरकार जनताको भान्सामा छाउनुपर्छ, गोष्ठी र सेमिनारमा होइन । पानी धारामा आउनुपर्छ, संस्थानका फाइलमा होइन । रिजल्ट प्रमाणपत्रमा देखिनुपर्छ, शिक्षा कार्यालयमा होइन । पढाइ विद्यार्थीको क्षमतामा देखिनुपर्छ, कापीका पानामा मात्र होइन ।

मुलुक बन्न ठूलो रकम चाहिँदैन । काम गर्ने योजनाका खाका हुनुपर्छ । प्रणाली विकास गर्ने हो । प्रणालीलाई लागू गर्ने हो । प्रणाली लागू गर्न पैसा लाग्दैन । न्यायोचित व्यावहारिक प्रणालीले नै विकासलाई तीव्रता दिने हो । यसको उदाहरण दिन कहीँ हेर्नुपर्दैन । वर्षौँदेखि ठेक्का लगाएर अलपत्र परेका निर्माणाधीन सडकको विजोग हेरे पुग्छ ।

तीव्र रूपमा बढेका शहरहरू भद्रगोलमा परिणत भएका छन् । शहरीकरणको विकास होइन, असभ्य बस्तीहरूमा रूपान्तरित बनेका छन् । हिजो भएका संरचना त जोगिएनन्, नयाँ सिर्जना गर्ने कुनै दीर्घकालीन योजना छैन । अहिले सरकार रेल र पानीजहाजमा मात्रै रोकिएको छ । जनताले पहिला सडक अनि मात्र रेल भनेका छन् ।

चुनावपछि धेरैलाई कम्युनिस्ट सरकारले राम्रो गर्छ भन्ने लागेको थियो । विपक्षीहरू पनि भित्रभित्रै आशावादी थिए । ‘बिहानले दिनको सङ्केत’ गर्छ भनेझैँ अझै सरकारले देश बनाउने कामको शुरुवात गरेकै छैन । जनतालाई समृद्धि दिने कामको थालनी गरेकै छैन । मन्त्रीहरूका गतिविधि जनविरोधीतर्फ उन्मुख छन् । आशा गरिएका मन्त्रीहरू अहिले बदनाम हुन थालेका छन् । रघुवीर महासेठहरू अझै जम्दै छन् । पार्टीमा यस्तैको पकड बलियो हुन थालेको छ । सिन्डिकेट हट्ने निर्णय हल्लाभित्र सीमित भएको छ । सरकार यी सबै विषयमा मूकदर्शक मात्र होइन दोषी करार भइसकेको छ । सरकार आफैँले उल्टो गतिमा गइरहेको प्रमाणित गरिसक्यो । यो उल्टो गतिले देशले ठूलो क्षति व्यहोर्नुपर्नेछ । स्वयम् कम्युनिस्ट पार्टीका लागि आउने चुनावमा कति क्षति पु¥याउनेछ, त्यो अनुमान गरेभन्दा धेरै गुना बढी हुन सक्नेछ ।