स्वीस बैंकमा नेपालीको अर्बौं रुपैयाँ रहेको खुलासा

स्वीस बैंकमा नेपालीको अर्बौं रुपैयाँ रहेको खुलासा


अवैध रकम सञ्चित गर्नेहरुका लागि सहज मुलुकको रुपमा समेत चिनिने स्वीजरल्याण्डका बैंकमा नेपालीको अर्बौं रुपैयाँ रहेको खुलासा भएको छ । तर उक्त रकम क-कसको हो ? भन्नेबारे केही खुलेको छैन । विदेशी बैंकमा नेपालीले अर्बौ रुपैयाँ राखेको खुलासा हुँदा नेपाल राष्ट्र बैंक भने बेखबर छ ।

स्वीस नेशनल बैंक (एसएनबी)ले हालै मात्र सार्वजनिक गरेको सन् २०१७ को वार्षिक प्रतिवेदन अनुसार नेपाली नागरिकहरुले उक्त बैंकमा ठूलो मात्रामा रकम जम्मा गरेको रहस्य खुलेको छ । सन् २००८ मा स्वीजरल्याण्डका बैंकहरुमा ८ करोड ६२ लाख २१ हजार स्वीस फ्रैंक बराबरको नेपाली रुपैयाँ रहेको तथ्यांक सार्वजनिक भएको थियो । अहिले उक्त रकम बढेर ३२ करोड २८ लाख ८४ हजार पुगेको छ । विभिन्न विदेशी बैंकहरुमा खाता खोलेर रकम जम्मा गर्नु गैरकानुनी भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् ।

सन् २०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्रैंक रहेको तथ्यांक छ । यस्तै, १ करोड ४७ लाख ८५ हजार स्वीस फ्रैंक अन्य ग्राहकको भएको एसएनबीले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । तर बैंकको प्रतिवेदनमा भने ८ लाख २९ हजार स्वीस फ्रैंक बचतकर्ताको परिचय भने खुलाइएको छैन ।

यता, नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकहरुले बिरामीको उपचार, अध्ययन, भ्रमण र वस्तु खरिदका लागि मात्रै विदेशी बैंकहरुमा रकम जम्मा गर्न पाउने कानुनी व्यवस्था रहेको जनाएको छ । कुनैपनि नेपालीले विदेशका बैंकहरुमा रकम जम्मा गरेकोबारे नेपाल आएको ३५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको डेपुटी गभर्नर शिवाकोटीको भनाई छ ।

‘पछिल्लो समय नेपालका सिमाक्षेत्रका नागरिकहरुले छिमेकी मुलुकका बैंकहरुमा रकम जम्मा गर्ने गरेका छन् ।’ उनले भने, ‘विदेशका बैंकहरुमा गैरकानुनी रुपमा रकम जम्मा गर्नु अपराध हो । त्यस्तो रकमको स्रोत देखाउनु पर्नेछ ।’