उम्किएकै हो त एनसेल ?

उम्किएकै हो त एनसेल ?


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड करिब डेढ साताको सिंगापुर बसाइपछि चार दिनअघि मात्र स्वदेश फर्किए । उनको सिंगापुर यात्राको उद्देश्य थियो– अस्वस्थ रहँदै आएकी श्रीमती सीता दाहालको स्वास्थोपचार । सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा प्रचण्डपत्नी सीताको विशेष उपचार भएको बुझिएको छ । महँगो मुलुक सिंगापुरको उक्त महँगो अस्पतालको उपचार खर्चको बिल निश्चय पनि मोटै आएको हुनुपर्छ । तर, नेता प्रचण्डले उक्त खर्चको चिन्ता गर्नुपरेन । ठूला तथा चर्चित नेताहरूलाई विदेशमा उपचार गर्न सघाउँदै आएका विवादित कम्पनी एनसेलका एजेन्ट सतिशलाल आचार्यले नै प्रचण्डपत्नीको पनि उपचार खर्च व्यहोरिदिएका बुझिएको छ ।

यसरी नेताहरूलाई विदेशमा उपचार गराइदिने रकमचाहिँ आचार्यलाई कहाँबाट उपलब्ध होला त ? आमतप्कामा यस्तो जिज्ञासा उठ्नु स्वाभाविक छ । र, यसको जवाफ पनि त्यत्तिकै सजिलै मिल्छ– अर्बौं राजस्व छलीका कारण विवादमा परेको एनसेल कम्पनी रहिन्जेल नेतालाई विदेशमा गई उपचार गराउन खर्चको के दुःख ?

हो, एनसेल खरिद–बिक्री भएको अढाइ वर्ष व्यतीत भइसक्दा पनि नेपाल सरकारले ६५ अर्ब ४० करोड पुँजीगत लाभकर उठाउन नसकेको सन्दर्भ सचेत नागरिक तप्काबीच उत्तिकै ताजा छ । आयकर ऐन २०५८ अनुसार एनसेलको खरिदबिक्रीमा लाग्ने पुँजीगत लाभकरबापतको रकम एक्जिएटाले अढाइ वर्षसम्म पनि तिरेको छैन । मलेसियन कम्पनी एक्जियटाले टेलियासोनेरासँग १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख रुपैयाँमा एनसेल खरिद गरेको थियो । एनसेल खरिद गर्दा टेलियासँग एक्जिएटाले लाभकरसमेत जोडेर शेयर खरिद गरेको भए पनि ठूला करदातालाई अहिलेसम्म पनि लाभकर बुझाएको छैन । एनसेलबाट कर असुली गर्नुपर्ने निकाय ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्मा नै एनसेलको प्रवक्ता रहेको विषय पनि उदेककै छ । धनीरामका अनुसार सो खरिदबिक्री प्रकरणबापत तिर्नुपर्ने लाभकरको दायित्व टेलियासोनेराको हो, जब कि सो कम्पनी भने उम्किसकेको छ ।

एनसेलको करछलीका मुख्य योजनाकार सतिशलाल आचार्य र सचिनलाल आचार्य हुन् भन्छन् सम्बन्धित जानिफकारहरू । तर, सतिशलाल र सचिनलाल कर तिर्नेतिर नभई प्रधानमन्त्री, मन्त्री एवम् उच्चाधिकारीहरूलाई रिझाएर उन्मुक्ति प्राप्त गरिरहेका छन् । सांसददेखि उच्च प्रशासकहरूलाई करोडौँको प्रलोभनमा पारेर लाभकर तिर्नबाट एक्जिएटालाई उनीहरूले रोक्दै आएका छन् ।

तर, यसरी गुमराह र प्रलोभनमा पारेर कर छल्न खोजिए पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एनसेलको करछलीलाई कुनै हालतमा नछोड्ने अभिव्यक्ति दिएर आशा जगाइदिएका छन् ।