अमेरिकामा ‘ड्रिङकिङ एन्ड ड्राइभिङ’पछि हुने सजाय र बच्ने उपाय

अमेरिकामा ‘ड्रिङकिङ एन्ड ड्राइभिङ’पछि हुने सजाय र बच्ने उपाय


– सानुबाबु सिलवाल

ड्रिङ्क गरेर गाडी चलाउँदा प्रहरीको कारबाहीमा पर्नु भनेको साढे सातको दशाले कुत्कुत्यायो भनेर जान्दा भयो अमेरिकामा । उता नेपालतिरचाहिँ मापसे भन्दारहेछन् । साना मानिस, पहुँच नभएका मानिस र पुलिस एवम् सत्ता र नेताको नातेदार नभए मात्र कारबाहीको फन्दामा पर्ने नेपालको मापसेजस्तो छैन अमेरिकामा । कडा छ कानुन, फेला परे आमा–बा, नातेदार वा प्रहरी वा पहुँचवाला जेसुकै भए पनि ड्रिङकिङ एन्ड ड्राइभिङको नियम उल्लङ्घन गरे चाइँचुइँ नै गर्न पाइएन । अमेरिकामा विभिन्न राज्यहरूमा विभिन्न नामले सवारी चलाउँदा मादक पदार्थ सेवन वा लागूऔषध प्रयोग, अन्य डाक्टरी अनुमतिमा सेवन गरिएका औषधि वा अन्य विविध गैरकानुनी चाहे गाँजाको सेवनबाट प्रभावित भई वा यस्ता वस्तु वा चिजहरूको सेवनबाट हुन सक्ने अनियन्त्रण र यसको जोखिमलाई विभिन्न नामले कारबाही, सजाय वा कानुनी नियन्त्रण गरिएको छ ।

कुनै राज्यहरूमा डीयूआई अर्थात् ड्राइभिङ अन्डर दी इन्फ्ल्युयन्सस, कुनै राज्यमा डीडब्लूआई अर्थात् ड्राइभिङ ह्वायल इनटक्सिकेटेड वा ड्राइभिङ ह्वायल इम्पेर्ड भनिन्छ भने कुनै राज्यहरूमा ओयूआई अर्थात् अपरेटिङ अन्डर दी इन्फ्ल्युयन्सस त कुनै राज्यहरूमा ओडब्लूआई अर्थात् अपरेटिङ ह्वायल इम्पेर्डबाट नियम उल्लङ्घन गर्ने जुनसुकै ड्राइभर सजायको भागीदार बन्ने गर्दछन् । हेर्दा उस्तैउस्तै हुन् यी विभिन्न नामबाट गरिने कारबाहीहरू । डीयूआईचाहिँ मादकपदार्थ सेवनको असर र प्रभावमै सवारीसाधन चलाउने र डीडब्लूआईचाहिँ अलि फरक जस्तो छ यो पनि रक्सी वा लागूऔषधको लतमा वा अत्यधिक प्रभावमा गाडी चलाउने मानिन्छ ।

अमेरिकामा रक्सीको मातको मापन आधार र कानुनी लेभल भनेको शून्य दशमलव शून्य आठ हो । यो मात्रा काट्नेबित्तिकै डीडब्लूआई अर्थात् डीयूआईको सजायको भागीदार बन्नुपर्ने हुन्छ । ड्राइभिङ सडक ¥यान्डम चेकिङ, मादकपदार्थ वा लागूपदार्थ सेवनबाट गाडी यता र उता रेकलेस ड्राइभिङ, दुर्घटना गर्नु वा पर्नु, सडकमा ट्राफिक चिह्न र कानुनको पालना नगरेको देख्नेबित्तिकै प्रहरीले पिछा गरी नै हाल्दछ । यस्तो अवस्थामा पायक हेरी दायाँतर्फ साइड लागी गाडी रोक्नुपर्छ र गाडी रोकिसकेपछि प्रहरीले ड्राभरको अनुहार र हाउभाउको अध्ययनपश्चात् लागूऔषध प्रयोग गरिएको वा मादकपदार्थ सेवन गरेको लागेमा जाँचबुझ थाल्दछ र लागूऔषधको केसमा छुट्टै प्रहरी विशेषज्ञ बोलाउनेछ र मादकपदार्थ सेवन गरेको केसमा ब्रेथलाइजरको माध्यमबाट निम्नतम कानुनी मात्राभन्दा माथि देखिए डीडब्लूआई वा डीयूआईको कारबाही प्रक्रिया थाली गाडीको साँचो प्रहरीले लिनेछ । मात्रा नाघेको मात्र भए डीयूआई र अत्यधिक भए डीडब्लूआईको चार्ज लगाई जेल लैजान सक्नेछ र गाडी सम्बन्धित व्यक्तिको आफन्तलाई बोलाई साँचो जिम्मा लगाउन सक्दछ ।

यसखाले कारबाहीमा पहिलोपटक भए वा साधारण केसमा डीयूआईको चार्ज कम हुनेछ डीडब्लुआईभन्दा ।

यसखाले कारबाहीमा पर्दा जेल नै जान सक्ने, ठूलो जरिवाना लाग्ने, ड्राइभिङ लाइसेन्स खारेज हुने, निलम्बन हुन सक्ने, कम्युनिटी सर्भिस, शैक्षिक क्लास वा निश्चित समय ६ देखि वर्ष दिन वा सोभन्दा माथि कानुनी प्रोबेसनमा वा नियमसीमामा बस्नुपर्ने हुन सक्दछ । यस्तोखाले कारबाहीमा वकिल लगाउनुपर्ने र वकिलको सहायताबाट सजायमा कमी भए पनि आर्थिक एवम् मानसिक टर्चरको भागीदार बन्नुपर्ने हुन्छ । वकिल लगाउँदा, अदालतको सजाय शुल्क तिर्दा, शैक्षिक एवम् कम्युनिटी सर्भिस गर्दा लाग्ने खर्च त महँगो छँदै छ त्यसमा पनि लाइसेन्स पुनप्र्राप्तिका लागि तिर्नुपर्ने शुल्क सबैको हिसाबकिताब गर्दा एउटा ड्राइभरलाई डीडब्लूआईको सजायबाट मुक्ति पाउन एक हजार डलरदेखि १५ हजार डलर वा सोभन्दा बढी लाग्न सक्दछ र जुन सामान्य अमेरिकनको औकातभन्दा धेरै माथि छ र खर्चिलो पनि । त्यसैले अमेरिकामा डीडब्लूआई र डीयूआईको सजायबाट ड्राइभिङ लाइसेन्स गुमाउने र यसको सजाय भोग्नेहरू अनगिन्ती हुने गर्दछन् वर्षेनी ।

अमेरिकन प्रहरीको नजरमा एक ड्राइभर यसखाले कारबाहीबाट समातिनु भनेको उक्त ड्राइभरले निम्नतम ३ वा सोभन्दा बढी पटक यसखाले ड्रिङकिङ एन्ड ड्राइभिङ वा लागूऔषध सेवन गरी गाडी चलाइसकेको बुझ्ने गर्दछ ।

पार्टी हो के फरक पर्दछ र यसो खाइदिऊँ वा के गर्ला र प्रहरीले वा के समाउला वा के भेट्ला र भन्ने हल्का सोचाइले ड्रिङकिङ एन्ड ड्राइभिङ गर्दै हुनुहुन्छ र गाडी चलाउँदै हुनुहुन्छ भने आजैबाट छोडिदिनोस् । बरु लाइसेन्स भएको र ड्रिङ्क नगर्ने साथीभाइ वा परिवारको सदस्यलाई गाडी चलाएर घर जानुहोला । साथी भेटघाट रेस्टुरेन्ट वा बार आदि स्थानमा ड्रिङ्क गरी सडकमा सवारीसाधन नहाँक्नु होला । मर्ने, मार्ने वा जनधनको क्षतिग्रस्त हुने गरी दुर्घटना हुने वा अङ्गभङ्ग हुने त एकातिर छँदै छ अर्कातिर ड्रिङकिङ ड्राइभिङ, मेडिसिन वा लागूऔषधको सेवनपछि यसको मातमा गाडी चलाउँदा पाइने आर्थिक एवम् मानसिक सजायको नजरअन्दाजको अनुमान पनि गर्न सकिँदैन ।

अमेरिकामा छोराछोरी पढ्न पठाउने आमाबा र आफन्त एवम् यही अमेरिकामै रहने बाबुआमाले आफ्ना थुप्रै सन्तान यसखाले घटनाबाट गुमाइसकेका छन् र थुप्रै नेपाली ड्रिङकिङ एन्ड ड्राइभिङको फन्दामा परिसकेका छन् । त्यति मात्रै कहाँ हो र ? ड्रिङकिङ एन्ड ड्राइभिङले अमेरिकामा थुप्रै परिवारको छिन्नभिन्न एवम् दुःखद अन्त्य भइसकेको छ ।

सजग हुने, सेवन नगर्ने र घटना भइहाले वकिल लगाउने र यसखाले सजायको भागीदारबाट जति सक्दो चाँडो मुक्ति दिलाउनुहोस् आफूलाई ।