असार या मङ्सिरमै किन ?

असार या मङ्सिरमै किन ?


pathakmanchगत ०६९ साल जेठ १४ गते संविधानसभाको स्वर्गारोहण हुँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसै वर्षको मङ्सिरमा निर्वाचन गराउने भन्नुभयो, तर भएन । अर्कोपल्ट पनि उहाँले निर्वाचन गराउन सक्नुभएन । जसको परिणाम बहुदलीय व्यवस्थाको असफलता सावित गर्दै ०४७ सालको संविधानले समेत परिकल्पना नगरेको र विगतको पञ्चायती व्यवस्थाको झल्को आउने गरी दलविहीन र गैरसंवैधानिक रेग्मी सरकार गठन भयो । भनियो– रेग्मी सरकारलाई चारदलीय संयन्त्रको सुझावले चलाइनेछ ।
त्यसरी सुझावको भरमा सरकार चल्छ भन्दै उद्घोष गर्नेे, चार दलका नेता या चारदलीय संयन्त्रका हर्ताकर्ता हौँ– जनता र देशको भलाइ गर्छौं भन्नेहरू कि असारमा कि मङ्सिरमै चुनाव गराउँछौँ, योबाहेक अरू बेला सम्भव छैन भनी रट लगाइरहेका छन् । उनीहरूले बाली लगाउने र बाली भित्याउने यामलाई नै किन चुनावको तिथि तुल्याउने जिद्दी गरिरहेका छन् ? यो पनि अब एक शङ्काको विषय बन्न पुगेको छ । चुनाव कि असारमा कि त मङ्सिरमा अनिवार्य हुन्छ अरू बेलामा हुँदैन भनिएकोमा बुझ्नुपर्ने कुरा के छ भने कतै कुनै परचक्री तत्वको प्रलोभन र कमिशनमा डुबेर नेताहरूले नेपालमा खाद्यान्नको अभाव सिर्जना गरी मुलुकमा अर्को भयावह अवस्था निम्त्याउने खेल खेलिरहेका त होइनन् ? खाद्यान्नमा पनि पूरै परनिर्भर गराएर गुलाम तुल्याउने चालअन्तर्गतको मोहरा यी नेताहरू नबनेका होलान् भन्ने कसरी ? यो जालझेल भइरहेको हुनसक्छ, विचार गरौँ । नत्रभने पुस अथवा माघमा निर्वाचन गर्ने किन भन्दैनन् यी ? संविधानसभाको निर्वाचन कि त खेती लगाउने बेलामा कि भने भित्याउने बेलामा हुनुपर्छ भन्नुलाई जनघात र राष्ट्रघात नभनेर के भन्ने ?
अब दलविहीन निर्दलीय रेग्मी सरकारले चारदलीय सिन्डिकेटको पर्वाह नगरेर कुनै पनि हालतमा खेती लगाउने महिना असारमा र खेती भित्याउने महिना मङ्सिरमा निर्वाचन हुन सक्दैन भन्ने आँट गर्नुप-यो नत्रभने रेग्मी सरकारको दलविहीन बेग्लै पहिचान के त ? अझै रेग्मी सरकारलाई अलिकति भए पनि देश र जनताको माया छ भने चुनाव गराउने गोलचक्कर छाडेर सर्वप्रथम मन्त्रिपरिषद् बैठकबाट २०४७ सालको संविधान क्रियाशील भएको निर्णय पारित गराए भने कहीँ–कतै नेपाल सग्लै रहन्थ्यो कि भन्ने आशा नेपाली जनतामा छँदै छ ।
नेपालमा संवैधानिक सङ्कट यतिबेला झ्वाट्ट आएको होइन । सम्झना गर्न सक्नुपर्छ– २०४७ सालको संविधानबमोजिम नियुक्त भई राजासमक्ष २०४७ सालको संविधान मान्न प्रतिबद्ध छु भन्दै शपथ लिएर त्यही संविधानविपरीत तिनै राजालाई निलम्बन गरेर अघि बढ्दाको परिणाम मुलुकले भोगिरहेछ । यो महसुस गरेर जबसम्म प्रायश्चित गरिँदैन तबसम्म मुलुकले निकास पाउने छैन । – लालकृष्ण धमला

कारबाहीबाट बच्न आयुक्तका आफन्तकहाँ कोसेली
सुनसरीे इटहरीस्थित नेपाल सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका पूर्वडिभिजन प्रमुख राजेशप्रसाद सिंहले उक्त कार्यालयको जिम्मेवारी लिएको चारवर्षे अवधिमा गरेको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दा पनि कारबाही नहुनुले गणतन्त्रमा भ्रष्टाचारीका सात खत पनि माफ हुने रहेछ कि भन्दै सो कार्यालयका कर्मचारी वर्ग, स्थानीय जनता तथा राजनीतिक दलका नेताहरू नै आश्चर्यमा परेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीमा रहँदाको चारवर्षे अवधिबीच निजले खानेपानीको ट्याङ्की निर्माण एवम् त्यसका लागि आवश्यक पाइप फिटिङलगायतका सामान खरिदमा गरेको भ्रष्टाचारका विषयमा उजुरी पर्दा खानेपानी तथा ढल निकास विभागले कुनै कारबाही नगरी सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमा सरुवा गरेपछि त्यहाँ पनि सिंहले लाखौँ रकम भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेका छन् । त्यसबारे पनि आयोग र विभागमा उजुरी परेको छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत मिथिला श्रेष्ठकहाँ फाइल पुगेकोमा अनुसन्धान अधिकृत श्रेष्ठ पनि मौन बस्नु र भ्रष्टाचारी सिंहलाई कारबाही नचलाउनुले सुनसरीका सचेत जनतामा आशङ्का बढेको हो ।
भ्रष्टाचारबारे परेको उजुरीमाथि कारबाही नहोस् भनेर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विराटनगरवासी भएको नाता लगाएर कार्कीका आफन्तकहाँ कोसेली लिएर धाउने गरेको पनि खानेपानी तथा ढल निकास विभागका सरसफाइ कार्यालय इटहरीकै कर्मचारीहरूले बताउन थालेका छन् ।
– पुष्पराज गड्तौला, विराटनगर

सुनप्रेमी राजा र किसानको हालत
सुन भनेपछि हुरुक्कै हुने एक सुनप्रेमी राजाले वरदान पाएछन्– ‘तिमीले आज दिनभरि जे छोए पनि सुन हुन्छ ।’ लोभी राजाले दिनभर हरेक सामान छुँदै जाँदा आफ्नै श्रीमतीलाई पनि छुन पुगेछन् । श्रीमती तत्कालै निर्जीव सुनमा परिणत भइछिन् । अनि राजाले भगवान्सँग विलौना गर्दै आधा दिनमै वरदान फिर्ता लिएछन् र श्रीमती बाँचिछन् । मानिसमा सुनप्रतिको मोह कस्तो हुन्छ भनी बुझाउन यो कथा उपयोगी छ । हरेक तह वा तप्काका मानिसमा सुनप्रतिको मोह अहिलेको मात्र होइन, सुनका कारण धेरैको ज्यान गएको छ, गइरहेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको छ, ‘हातको मैला सुुनको थैला के गर्नु धनले !’ एउटा गाउँखाने कथा– सुन कुट्दा निस्कियो चाँदी, चाँदी पकाई मुखमा खाँदी ! जसको जवाफ धान हो ।
हामी किसानले धानलाई सुनसँग जोडेर भए पनि आत्मसन्तुष्टि लिएका छौँ । नेपालमा सुनैसुन भयो तर धानचाहिँ फल्दैफलेन भने के हुन्छ ? कथाका राजाको जस्तो हालत हुन्छ । सुन खान नमिल्ने भएकाले हामी भोकै मर्छौं । सुन सम्पन्नताको होइन घमण्डको प्रतीक हो । एकतोला सुन लगाउँदा जति मान पाइन्छ त्योभन्दा लाखौँ गुणा मान ग्रामीण भेगका कुनै विपन्न विद्यालयलाई सुनबराबरको रकम दान गर्दा पाइन्छ । गरिबलाई खान नुन छैन धनीलाई प्रदर्शन गर्न र चोर, लुटेराहरूलाई धनि बनाई आफैँलाई असुरक्षित गरिरहेका छन् । हेर्नुस् न सुनको भाउ बढेको ! कुन्ती मोक्तानले गाएकी छिन्, ‘सुनकै भाउ छ, सुन्तला भारीको !’ यो पनि अहिले किसानका लागि गफ मात्रै भएको छ । सुनको भाउमा सुन्तला, धान तथा अन्य किसानका खेतमा उत्पादित चिजहरू सुनको भाउमा बिके हाम्रा किसान कति धनी हुन्थे होलान् ? तोला होइन किलोका किलो सुन सङ्ग्रह गर्नेहरूले नेपाली सुन्तला खाँदैनन् । विदेशबाट आयातीत सुन्तलाको जुसचाहिँ खान्छन् ।
मारमा छन् जनता ! सरकारबाट एक दिनमा ५३ रुपैयाँ कमाउने गरिब हुँदैन भन्ने नियम बनाइएको पनि पढ््न पाइयो । तर, बजारमा अरुवा चामलको भाउ प्रतिकिलो ५५ रुपैयाँ छ । बजारमा अहिले नक्कली सुनको गहनाका पसलहरूमा धनीहरूको पनि भीड देखिन्छ । दिनरात मिहिनेत गरी उत्पादित धान अन्य देशहरूले आयातीत गरी पुन: नक्कली बनाई हामी आफँै करोडौंको चामल, तरकारी, दालदेखि खुर्सानीसम्म आयात गरिरहेछौँ । सरोकारवाला निकाय तथा अर्थविद्हरूले सोच्नुपर्ने बेला भएन र ?
– दामोदर पौडेल (त्रि.वि. शिक्षण अस्पताल)
पो.व.नं. ३०५२, काठमाडौं