कवि वसन्तको पुस्तक गायक सोनुद्वारा लोकार्पण

कवि वसन्तको पुस्तक गायक सोनुद्वारा लोकार्पण


मुम्बई (भारत) । प्रसिद्ध कवि एवं गीतकार वसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको छ । बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जे. डब्लु मेरोइटमा आयोजित एक सांगीतिक कार्यक्रमका बीच पुस्तकलाई लोकार्पण गरेका हुन् ।

चौधरीको यो पाँचौ कविता सङ्ग्रह हो जसमा अत्यन्तै सुरुचीपूर्ण तवरले प्रेमका विविध आयामहरुलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरिएको छ । ‘चाहतो के साये मे’मा प्रेममा आधारित भएर हिन्दी तथा उर्दुमिश्रित भाषामा लेखिएका सयौं कविता, नज्म तथा गजलहरुलाई समेटिएको छ । पुस्तकलाई सुन्जोय शेखरले अंग्रेजीमा समेत अनुवाद गरेका छन् ।

पुस्तक लोकार्पण कार्यक्रमको सुरुवात ‘प्रेमका विविध अयाम’ विषयक अन्तक्र्रियाबाट गरिएको थियो । हिन्दी कविताका प्रखर व्यक्तित्व प्रसिद्ध गीतकारद्वय हसन कमाल र समीरको उपस्थितिले कार्यक्रमको रौनकता बढाएको थियो । हिन्दी साहित्य तथा काब्य जगतका प्रसिद्ध ब्यक्तित्वहरु क्रमश सागर त्रिपाठी, शाहिद हम्दाने, डेनिश जाबेद आदिको उपस्थितिले कार्यक्रमको महिमा बढाएको थियो । प्रसिद्ध गजल गायिका पिनाज मसानी र सञ्चारहस्ती मार्कण्ड अधिकारी समेत समारोहमा उपस्थित थिए ।

त्यसमाथि गायक सोनु निगमले शीर्ष कवितालाई सांगीतिक धुनमा सजाउँदा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए ।

टाइम्स म्युजिक प्रकाशनले गरेको ‘चाहतो के साये मे’बोलको शीर्ष गीतलाई बलिउडका चर्चित संगीतकार रिन्को सुशान्त–शंकरले कम्पोज गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोलाई प्रथमेश पाटिलले निर्देशन गरेका छन् । जसमा विश्वास किनी र सुलेनको अभिनय रहेको छ ।

‘चाहतो के साये मे प्रेमलाई अत्यन्तै सुक्ष्म दृष्टिकोणबाट बुझ्ने मेरो एउटा यात्रा हो । मेरो यो यात्रामा धेरै व्यक्तित्वहरुको साथ रहेको छ जसमध्ये केही विशेष व्यक्तित्वहरु आज यहाँ उपस्थित हुनुहुन्छ’, कार्यक्रममा कवि चौधरीले भने, ‘मधुर स्वरका धनी सोनु निगमले आज मलाई मो. रफी साहवको त्यो सुनौलो सांगीतिक युगको सम्झना गराउनुभयो र उहाँको स्वरमा पुस्तकको शीर्ष गीत सुन्न पाउँदा हामी निकै हर्षित छौँ ।’

प्रशिद्ध गायक एवं कार्यक्रमका प्रमुख अतिथि सोनु निगमले भने, ‘धेरै लामो समय पछि मैले अत्यन्तै सुन्दर रचना गाउने अवसर पाएँ । पहिलो पटक सुन्नेवित्तिकै यसले मेरो मन छोयो । नेपालका लोकप्रिय कवि, लेखक एवं समाजसेवी बसन्त चौधरीजीले अत्यन्तै मन छुने गीत लेख्नुभएको छ, त्यसमा संगीत पनि उत्तिकै राम्रो छ र छायाकंन पनि अत्यन्तै सुन्दर तवरले गरिएको छ ।’

अन्त्यमा बलिउडका लोकप्रिय गीतकार समीरले भने, ‘कविजीले मेरा गीत असाध्यै मनपर्छ भन्नुभयो, तर आज मैले उहाँका यति सुन्दर रचनाहरु सुन्ने दुलर्भ अवसर पाएँ । पुस्तकका केही कविताहरु पढ्दा मैले भन्नै पर्छ, बसन्तजीको सिर्जनात्मक अनुराग सीमाहरु पार गरेर अगाडि बढेका छन् र यसले हामीलाई गर्वको अनुभूति भएको छ ।’

वसन्त चौधरी एक प्रखर कवि तथा गीतकार हुन् जसले धेरैजसो हिन्दी र नेपाली भाषामा कलम चलाउने गरेका छन् । उनले ‘सागर’को नामबाट गजल लेख्ने गरेका छन् । सन् १९९९ मा प्रकाशित पहिलो सांगीतिक एल्बम ‘माया बल्झेछ’बाट उनी सिर्जनात्मक क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनको पहिलो कविता संग्रह ‘मेघा’ (हिन्दी र ई–बुकमा पनि उपलब्ध) सन् २०१२ मा प्रकाशित भएको थियो । यसैगरी सन् २०१४ मा ‘मेरा कविताहरु’, सन् २०१५ मा ‘आशुओ के स्याही से’ र सन् २०१७ मा ‘बसन्त’ (अंग्रेजी, हिन्दी, नेपालीसहित अन्य चार भाषामा) प्रकाशित भइसकेका छन् । यसका साथै उनले विशेषगरी नेपाली सांगीतिक क्षेत्रमा बसन्तको नामबाट आठभन्दा बढी गीति एल्बम तथा भिडियो स्रोता तथा दर्शकसमक्ष पस्किसकेका छन् ।

उनको पछिल्लो कृति ‘चाहतो के साये मे’ टाइम्स म्युजिकको सहकार्यमा टाइम्स ग्रुप बुक्सले प्रकाशन गरेको हो । उक्त पुस्तक नेपाल तथा भारतका पुस्तक पसलहरुमा पाइनुका साथै एमेजन, फ्लीपकार्ट र इन्फीबीम आदि जस्ता अनलाइन स्टोरहरूमा समेत उपलब्ध रहेको बताइएको छ ।