अन्तिम १६ मा पुग्न कोलम्बियाले सेनेगललाई जित्नैपर्ने

अन्तिम १६ मा पुग्न कोलम्बियाले सेनेगललाई जित्नैपर्ने


फिफा विश्वकप समूह ‘ए’ अन्तर्गत भएको निकै महत्वपूर्ण खेलमा कोलम्बियाले पोल्यान्डलाई पराजित गरेको छ । कोलम्बियाले पोल्यान्डलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो विजयसँगै कोलम्बियाले अन्तिम १६ मा पुग्ने आशालाई जीवितै राखेको छ । त्यस्तै पोल्यान्ड भने लगातार दुई खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

पहिलो खेलमा जापानसँग पराजित भएको कोलम्बिया यो खेलमा निकै दबाबमा थियो । ४३ हजार दर्शक उपस्थित रंगशालामा पहिलो हाफमा दुवै टिम आक्रामक रूपमा प्रस्तुत हुँदै गोल गर्न आतुर भए पनि असफल भएका थिए । पहिलो हाफको उत्तराद्र्ध अर्थात् ४०औँ मिनेटमा उत्कृष्ट तालमेलका साथ कोलम्बियाले पहिलो गोल गर्न सफल भएको थियो । उक्त गोल डिफेन्डर येरी मिनाले हेडद्वारा गरेका थिए ।

दोस्रो हाफमा पनि कोलम्बिया निकै आक्रामक रूपमा प्रस्तुत हुँदै पोल्यान्डलाई दबाबमा राखेको थियो । यही दबाबका कारण कोलम्बियाले ७० मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो । उक्त गोल फाल्काओले गरेका थिए । यो गोलसँगै फाल्काओ कोलम्बियाको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए । यो गोलसँगै महत्वपूर्ण खेलमा कोलम्बियाले आफ्नो अग्ररता दोब्बर पारेको थियो ।

त्यस्तै कोलम्बियाले तेस्रो गोल ७५औँ मिनेटमा गरेको थियो । उक्त गोल काडाडोले गर्दै पोल्यान्डको खेलमा फर्कने सम्पूर्ण आशालाई समाप्त गरेका थिए । अब कोलम्बियाले अन्तिम १६ मा पुग्न सेनेगलसँग खेल्नेछ । एक खेलमा विजय र एक खेल ड्र खेलेको सेनेगलको ४ अंक छ ।