ग्रेट हिमालयलाई सान क्रिकेट कप उपाधि

ग्रेट हिमालयलाई सान क्रिकेट कप उपाधि


वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यू– १६ टी–२० सान क्रिकेट कप २०७५ को उपाधि कब्जा गर्न सफल भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको फाइनलमा वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस एकेडेमीमाथि ५ विकेटको जित हात पार्दै उपाधि हात पारेको हो । ग्रेट हिमालयले नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाण प्राप्त गरे । दोस्रो भएको नेक्ससले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा वर्षाले प्रभावित गरेपछि १० ओभरमा झारेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेक्ससले ९.४ ओभरमा पूरै विकेटको क्षतिमा ४४ रन मात्र बनाउन सफल भयो । नेक्ससका शाहिल पटेलले १२ बलमा ११ जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।

ग्रेट हिमालयका विवेक यादवले २ ओभरमा ७ रनका साथ २ विकेट लिए । यस्तै अभिषेक थापाले १.४ ओभरमा ८ रनमा २ विकेट, रामसुरत यादवले २ ओभरमा ४ रन १ विकेट, पीयुष केसी २ ओभर एक मेडन, ८ रन १ विकेट, विज्ञान गौतम २ ओभर ९ रन एक विकेट लिए ।

४५ रनको लक्ष्यका साथ प्रतिउत्तरमा उत्रेको वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले ९.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । विवेक यादवले १४ बलमा १६ रन र अभिषेक थापाले २५ बलमा १५ रन जोडे ।

नेक्ससका सुवास विक २ ओभर ५ रन १ विकेट, तृतराज दासले २ ओभरमा ९ रन १ विकेट, आविष्कार जोशीले २ ओभरमा ११ रन १ विकेट र चिराग शाहीले २ ओभर १२ रन १ विकेट लिए ।
प्रतियोगिताको म्यान अफ दी म्याच ग्रेट हिमालयका विवेक यादव घोषित भए । उनले १४ बलमा १६ रन जोड्नुका साथै २ ओभरमा ७ रनका साथ २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ४ म्याचमा १०१ बलमा ११५ रनका साथ ओएसिसका आइश भट्टराई, उत्कृष्ट बलर ३ म्याचमा ९ विकेट लिएका एञ्जल्स स्पोर्टस्का किशोर बोगटी, इमर्जिङ खेलाडी बालुवाटार क्रिकेट क्लबका प्रतीक पण्डित र म्यान अफ दी सिरिज ४ म्याचमा ६ विकेट ६४ रनका साथ ओएसिसका सचिन शर्मा घोषित भए ।

विजयी टिम तथा खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, वडा नं. ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता राजाराम पुडासैनी, वडा सदस्य अष्टलाल श्रेष्ठ, राष्ट्रिय टिम तयारी समितिका प्रमुख अर्जुन विक, राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापा, क्रिकेटका प्रमुख प्रशिक्ष जगत टमाटालगायतले पुरस्कार वितरण गरेका थिए ।