अज्ञात समूहको आक्रमणबाट नाइजेरियामा ८६ को मृत्यु

अज्ञात समूहको आक्रमणबाट नाइजेरियामा ८६ को मृत्यु


नाइजेरियाको मध्यप्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ ।

विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

शंकास्पद बन्दुकधारीले शनिबार राति अबेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरू ६ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।

त्यसैगरी दुई कार र १५ मोटरसाइकलमा पनि पूर्ण षति पुगेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

एकजना प्रहरी प्रवक्ताले आक्रमणको कारणबारे अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन् ।

आक्रमणकारीबाट विशेष गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाउँलगायतका ठाउँहरू बढी प्रभावित भएका छन् । बन्दुकधारीहरूको आक्रमणबाट ११ गाउँ प्रभावित भएका हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए ।

राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्विटरमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।