प्राप्त हक खोसिएको भन्दै स्थानीय सरकारप्रमुखको ध्यानाकर्षण

प्राप्त हक खोसिएको भन्दै स्थानीय सरकारप्रमुखको ध्यानाकर्षण


– हेमशंकर सिंह

राजविराज । लामो सङ्घर्षबाट प्राप्त हक स्थानीय सरकारले खोसेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले सप्तरीको राजविराज नगरपालिका र रूपनी गाउँपालिकाका प्रमुखको ध्यानाकर्षण गराएको छ ।

महासंघ पदाधिकारीसहित आदिवासी नेताहरूको डेलिगेसनले राजविराज नगरपालिका र रूपनी गाउँपालिका कार्यपालिकाको कार्यालयमा पुगी हिजो आइतबार ध्यानाकर्षणपत्र बुझाएको हो ।

आफूहरूको खोसिएको हक पुनस्र्थापना गर्न माग गर्दै स्थानीय सरकारप्रमुखहरूको ध्यानाकर्षण गराएको उनीहरूले बताए । आदिवासी जनजाति, मधेसी, दलित, महिला, ज्येष्ठ नागरिकसहित उत्पीडित समुदायको आन्दोलन र लामो संर्घषवाट प्राप्त लक्षित समूह विकास बजेट आ—आफ्नो आधिकारिक संस्थामार्फत सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै स्थानीय सरकारप्रमुखको ध्यानाअकर्षण गरेको आदिवासी जनजाति नेताहरूले बताएका छन् ।

आफूहरूको समस्या र आवश्यकताअनुसार कार्यक्रम ल्याउन पाउने हकबाट वञ्चित गरी कमिसनको बलमा गैरसरकारी संस्थामार्फत बजेट खर्च गरेकोले ध्यानाकर्षण गराउनुपरेको आदिवासी जनजाति महासंघ रूपनी गाउँपालिकाका अध्यक्ष भूपेन्द्रसिंह थापामगरले बताए ।

जनप्रतिनिधिविहीन अवस्थामा समेत लक्षित समुदायलाई प्राप्त हुँदै आएको अधिकार खोसेर स्थानीय सरकारले लक्षित समुदायमाथि विभेद गरेकोले बाध्य भएर आफ्नो हक सुनिश्चितताका लागि ध्यान केन्द्रित गरेको नेपाल आदिवासी जनजाति महासंघ राजविराज नगरपालिकाका अध्यक्ष अनारकुमारी चौधरीले बताइन् ।

बजेटलाई एनजीओकरण गरेर उत्पीडित समुदायमाथि चरम भेदभाव गरेको आरोप लगाउँदै उनले सदियौँदेखि केन्द्र सरकारले गर्दै आएको विभेदको झल्को दिने गरी स्थानीय सरकारले समेत विभदकारी नीतिलाई निरन्तरता दिन खोजेको बताइन् ।

ध्यानाअकर्षणपत्र बुझ्दै राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले लक्षित समुदाय विकास कार्यक्रम आगामी नीति तथा कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले आव ०७५÷७६ को लागि वडाहरूबाट बजेट संकलन गर्ने कार्य भइरहेको हुँदा वडास्तरबाट योजना पेस गर्न सुझाव दिए ।

रूपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले ऐनकानुनले मिलेसम्म लक्षित समुदायको कार्यक्रम लक्षित समुदायलाई प्रत्यायोजन गरेको दाबी गरे । आफ्नो कहिले पनि उत्पीडित समुदायको अधिकार खोस्ने नियत नरहेको बताउँदै लक्षित समुदायको हकअधिकार सुनिचितताका लागि सधैं गम्भीरतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रशासकीय अधिकृत रामसुन्दर थापा र उपाध्यक्ष बेचनीदेवी सरदारलाई सँगै राखी महासंघले उठाएको सवालहरूमा गम्भीर बन्न आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासंघ रूपनी गाउँपालिकाका अध्यक्ष भूपेन्द्रसिंह थापामगरको नेतृत्वमा रूपनी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाउन जिल्ला अध्यक्ष वृजमान तामाङ, पूर्व जिल्ला उपाध्यक्षहरू कुमारमान श्रेष्ठ, खड्गबहादुर योञ्जन तामाङ, पूर्व जिल्ला कोषाध्यक्ष विष्णुबहादुर थापामगर, थारू कल्याणकारिणी सभा सप्तरीका कोषाध्यक्ष दिलकुमारी चौधरी, आदिवासी जनजाति महासंघसँग आबद्ध जातीय संगठनका प्रतिनिधि, विभिन्न वडाका अध्यक्ष एवम् प्रतिनिधिहरूलगायतका आदिवासी जनजाति अगुवाहरूको उपस्थिति रहेको थियो ।

यस्तै, नेपाल आदिवासी जनजाति महसंघ राजविराजका अध्यक्ष अनारकुमारी चौधरीको नेतृत्वमा आइतबारै नगर समितिका पदाधिकारी र आदिवासी नेताहरू राजविराज नगरपालिका पुगी प्रमुख यादवको ध्यानाकर्षण गराए ।

यसअघि सप्तरीकै अगनीशायर कृष्णासोवरण गाउँपालिका प्रमुखलाई महासंघका स्थानीय पदाधिकारीहरूले लक्षित वर्गको कार्यक्रम एनजीओकरण गरेको भन्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।