विपरीत दिशामा किन बहकिइरहेछ काङ्ग्रेस !

विपरीत दिशामा किन बहकिइरहेछ काङ्ग्रेस !


– इन्द्रबहादुर बराल

केही महिनाअघि सम्पन्न तीनै तहका निर्वाचन र त्यसको परिणामले ल्याएको हलचल नेपाली काङ्ग्रेसमा कायमै छ । चुनावी परिणाम र त्यसको समीक्षा स्वाभाविक भए पनि पछिल्ला गतिविधिले सर्वसाधारण शुभचिन्तकमा भने चिन्ता बढाएको पाइन्छ । मतदातादेखि शुभेच्छुकमा चुनावी समीक्षाको वहानामा पार्टीलाई झनै कमजोर र अलोकप्रिय बनाउँदै गरेकोतर्फ अत्यन्तै नमीठो अनुभूति भइरहेको छ ।

कुनै एउटा चुनाव हार्दैमा यति साह्रो हतास र निराश हुनुपर्ने थिएन । चुनाव भनेकै हारजितको एउटा खेल हो । विगतमा विश्वकम फुटबल जितेका इटाली चालू वल्र्डकपमा प्रवेशै गर्न नपाएको ताजा घटना पनि हाम्रासामु छ । त्यसबाट केही सिक्नुपर्ने हो काङ्ग्रेसी नेता–कार्यकर्ता र यसका शुभचिन्तकहरूले ।

विशेषतः यसपटकको चुनावी परिदृश्यलाई हेर्दा हाल सत्तासीन पार्टीले तीनवटा कारणले जित हात पारेको यथार्थलाई नस्वीकार्नु नै काङ्ग्रेसभित्रको आन्तरिक विवादको पराकाष्टा हो । पार्टीलाई आफ्नै नेता–कार्यकर्ताले असहयोग गरेपछि हार निश्चित हुनु स्वाभाविकै ठहर्छ । अनि त्यही हारलाई आधार बनाएर पार्टी नेतृत्व हत्याउने खेलले ‘न रहे बाँस न बजे बाँसुरी’ भयो भने पनि त्यति नौलो नहोला ।

सबैले देखेकै हो कि चुनावमा जाँदा काङ्ग्रेस एक ढिक्का हुनै सकेन । यसैगरी पार्टीभित्रको लवीले एकले अर्कोलाई जिताउनेभन्दा हराउने खेलमा बढी केन्द्रित भएकै हुन् । यसमा दुवै पक्षको धेरथोर बेइमानी देखिन्छ । खास गरेर संस्थापन पक्षभन्दा संस्थापनइतर पक्ष बढी अन्तर्घाती खेलमा अग्रपङ्क्तिमा देखिन्थ्यो । सरकार सञ्चालनमा कमी–कमजोरी नभएको होइन, तर चुनावी पराजयका निम्न तीन प्रमुख कारण थिए जसले काङ्ग्रेसले नसोचेको परिणाम भोग्नुपऱ्यो । परिणामतः आज राज्य अधिनायकवादी बाटोमा अग्रसर भइरहँदा काङ्ग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका प्रदर्शन गर्न सकिरहेको छैन । जति आन्तरिक झगडामा संस्थाइतर सशक्त देखिँदै छन्, त्यति नै सत्तापक्षका सामु नतमस्तक । यो काङ्ग्रेसजनको लागि अत्यन्तै दुःखको अवस्था हो ।

यदि वाम गठबन्धन हुँदैनथ्यो भने निःसन्देह काङ्ग्रेसले बहुमत प्राप्त गर्न नसके पनि पहिलो पार्टी हुने थियो । यो तर्क पौडेल पक्षले स्वीकार नगर्नु पनि शङ्का उठ्ने कुरा बनेको छ । विगतका संसद्हरूमा पनि अहिले जति सिट जित्न सफल भएका थिए, त्यति नै लगभग कम्युनिस्टहरूको उपस्थिति थियो । यो सत्यलाई काङ्ग्रेसको एउटा पक्षले स्वीकार गर्न आनाकानी गर्दै, यही निहुँमा पार्टी–सत्ता कब्जा गर्ने रणनीति अवलम्बन गरेको देखिँदै छ । एकातिर टुक्राटुक्रामा विभाजित कम्युनिस्टहरू एकताबद्ध भएर उभिने, अर्कोतर्फ काङ्ग्रेस विभाजित मानसिकतामा देखिनुले कम्युनिस्टलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न अनुकूल परिस्थिति बनेको जगजाहेर नै छ ।

इतिहासकै शक्तिशाली सरकार बनाउन सफल प्रधानमन्त्री ओलीले अहिले बिर्सिएका छन् तिनै वृद्धवृद्धालाई ? ‘खोलो तऱ्यो लौरो बिर्सियो’ भन्ने उखान तरितार्थ भयो तर पनि काङ्ग्रेस ती विषयलाई न त चुनाव हार्नुको कारण मान्न तयार छ न बूढाबूढीलाई झुक्यायो भनेर जनसमक्ष नै जान सकेको छ ।

दोस्रो कारण हो नाकाबन्दीको समयमा लिइएको खोक्रो वा रित्तो राष्ट्रवाद । वामपक्षको त्यो चालले नेपालीजनको मनोभावना जित्न सफल भयो । नाकाबन्दीको समयमा नेपाली काङ्ग्रेसले मुख लुकाउनु दुर्भाग्य थियो । राष्ट्रियता के हो, राष्ट्रवाद भन्ने के हो, त्यसको मूर्त परिभाषा नै गरिएन, केवल अमूर्त रूपमा राष्ट्रियता र राष्ट्रवादको चर्को नारा गुञ्जियो, जसले सारा नेपालीको ध्यान आकर्षित गऱ्यो । त्यसैको परिणाम स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेले नसोचेको परिणाम हात पाऱ्यो । यता नेपाली काङ्ग्रेसले चाहिँ अझै पनि राष्ट्रियतालाई राष्ट्रवादको व्याख्या विश्लेषण गर्न सकिरहेको छैन ।

तेस्रो कारण हो, तत्कालीन एमालेको वृद्धभत्ताको हौवा । वृद्धवृद्धालाई एकीकरण सामाजिक सुरक्षाको समुचित प्रबन्धभन्दा सीधै हातहातमा पैसा बाँड्ने कार्यले त्यसको अपनत्व नेकपा (एमाले) अर्थात् अहिलेको नेपाल कम्युनिस्ट पार्टीले लिन पूर्ण रूपले सफल भयो । त्यति मात्रै होइन हालै सम्पन्न तीनै तहको निर्वाचनमा त झनै आकर्षक नारा दियो प्रत्येक वृद्धवृद्धालाई पाँच–पाँच हजार हातहातमा मासिक भत्ता दिने । त्यसकारण पनि अझै बढी प्रलोभनमा परे हाम्रा सम्मानित ज्येष्ठ नागरिक अर्थात् वृद्धवद्धाहरू ।

तर, इतिहासकै शक्तिशाली सरकार बनाउन सफल प्रधानमन्त्री ओलीले अहिले बिर्सिएका छन् तिनै वृद्धवृद्धालाई ? ‘खोलो तऱ्यो लौरो बिर्सियो’ भन्ने उखान तरितार्थ भयो तर पनि काङ्ग्रेस ती विषयलाई न त चुनाव हार्नुको कारण मान्न तयार छ न बूढाबूढीलाई झुक्यायो भनेर जनसमक्ष नै जान सकेको छ । त्यसमा पनि संस्थापनइतर पक्ष धेरै अनुत्तरदायी बन्दै गएको छ । अवसर पाउने अनि चुनाव हारेपछि भौतारिँदै आफ्नै आङ कन्याएर छारो उडाउने प्रवृत्तिले जो कोही पार्टी नेतृत्वमा आए पनि अहिलेकै दुर्नियत व्यहोर्न नपर्ला भन्न सकिँदैन ।

यसर्थ, चुनावी पराजयका प्रमुख कारण स्वीकार गर्दै अघि बढेमा काङ्ग्रेसको भविष्य उज्यालै छ, होइन यथास्थितिमै रहने हो भने काङ्ग्रेस मात्रै होइन सिङ्गो लोकतन्त्रको भविष्य पनि अन्धकारमा फस्नेछ । लोकतन्त्रको संरक्षण र स्थायित्वमा मात्र युवा पुस्ताको राजनीतिक भविष्य सुनिश्चित छ । खबरदार ! सीमित नेताहरूको स्वार्थले लोकतन्त्र र देशकै भविष्य खतरामा नपारियोस् ।