विश्वकपमा हेरी केनको दोश्रो ह्याट्रिक

विश्वकपमा हेरी केनको दोश्रो ह्याट्रिक


फिफा विश्वकप फुटबल समुह ‘जी अन्तर्गत इङ्गल्याण्ड र पानामाबीच भएको लिगको दोश्रो चरणको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले पानामालाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । इङ्गल्याण्डको तर्फबाट कप्तान हेरी केनले ह्याट्रिक गरेका थिए । केनले ३ गोल गर्दै ह्याट्रिक गर्ने क्रममा २ गोल पेनाल्टी किकबाट गरेका थिए ।

यसपटकको विश्वकपमा यो दोश्रो ह्याट्रिक हो । साथै विश्वकप फुटबलको इतिहासमा इङ्गल्याण्डको तर्फबाट ह्याट्रिक गर्ने केन तेस्रो खेलाडी बनेका छन् । यो ह्याट्रिकसंगै केनले दुई खेलमा पाँच गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । यसभन्दा अघि क्रिस्ट्रियानो रोनाल्डोले पहिलो ह्याट्रिक गरेका थिए ।

आज भएको खेलमा पानामालाई पराजित गरेपछि इङ्गल्याण्डले महत्वपूर्ण ३ अंक बटुल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यो भन्दाअघि भएको लिगचरणको पहिलो खेलमा इङ्गल्याण्डले ट्युनिसियालाई पराजित गरेको थियो । यो समुहमा बेल्जियम आफुले खेलको दुवै खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । पहिलो र दोश्रो चरणका दुवै खेलमा पराजित भएर ट्युनिसिया र पानामा विश्वकपबाट बाहिरिएका छन् ।

खेल शुभारम्भसँगै दबदबा बनाएको इङ्ल्याण्डले पहिलो हापमै ५ गोल गरेको थियो । इङ्गल्याण्डको तर्फवाट पहिलो गोल स्टोन्स र दोश्रो गोल कप्तान केनले गरेका थिए । त्यस्तै तेस्रो गोल लिङ्कगार्ड गरेका थिए भने चौथो गोल स्टोन्सले गरेका थिए । पाँचौं गोल पुनः पेनाल्टीवाट कप्तान केनले गरेका थिए । यसरी पहिलो हापमा पानामा विरुद्ध इङ्गल्याण्डले ५–० ले अग्रता बनाएको थियो ।

दोश्रो हापमा पनि इङगल्याण्ड पानामा विरुद्ध हावी बन्दै ६२ मिनेटमा गोल गर्न सफल भएको थियो । उक्त गोल कप्तान केनले गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । साथै विश्वकपमा इङ्गल्याण्डले सर्वाधिक ६ गोल गर्न सफल भएको थियो । यो भन्दाअघिका विश्वकपमा इङ्ल्याण्डले ४ गोल गरेको थियो ।

पहिलो पटक विश्वकप फुटबलमा प्रतिस्पर्धा गरिहेको पानामाले ७८ औं मिनेटमा सान्त्वना गोल गरेको थियो । यो ऐतिहासिक गोल फिलिप बालोयुले गरेका थिए ।