त्रिशूली–गल्छी जलविद्युत आयोजनामा चीनले लगानी गर्ने

त्रिशूली–गल्छी जलविद्युत आयोजनामा चीनले लगानी गर्ने


सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवर्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ ।

चीनको आंपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाटबराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना निर्माण गर्नेसम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा आगामी अक्टुबरदेखि शुरु हुने भएको हो ।

त्रिशूली नदीस्थित नुवाकोटको तार्केश्वर गाउँपालिका–४ ढोडबँेसीमा बाँधस्थल र धादिङको गल्छी गाउँपालिका–१ हाँडीखोलाटारमा उत्पादन गृह हुने गरी निर्माण गर्न लागिएको सो आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाँ कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेसनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

उक्त आयोजनाका लागि इन्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (ईपीसी–एफ) ढाँचामा निर्माण गर्नेसम्बन्धी सम्झौता दोङफाङसँग गत चैत १४ गते हस्ताक्षर भएको त्रिशूली–गल्छी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिए ।

‘आयोजना निर्माणको काम ०७३ कात्तिक १७ मा विद्युत् उत्पादन अनुमतिपत्र पाएलगत्तै शुरु गरे पनि वित्तीय व्यवस्थापनले रोकिएकाले अब त्यो पनि सहज भएपछि आगामी अक्टुबरदेखि काम शुरु हुनेभएको छ,’ पण्डितले भने, ‘नुवाकोटमा बाँधस्थल र धादिङमा विद्युत् उत्पादन गृह हुने भएकाले दुवैतिर एकैसाथ काम अघि बढाउन लागिएको छ ।’

पण्डितका अनुसार उक्त आयोजना सम्पन्न गर्न लाग्नेमध्ये रु. १० अर्ब ८१ करोड चिनियाँ कम्पनीले लगानी गर्ने बुधबार भएको सम्झौतापत्रमा उल्लेख छ । आयोजनाको विद्युत् उत्पादन शुरु भएको एक वर्षभित्र आयोजनाको प्रवर्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकसँगको सहकार्यमा चिनियाँ कम्पनीलाई चार प्रतिशत ब्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।

आयोजनाको कुल लागत रु. १४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ । ‘निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको आयोजना शतप्रतिशत सुरुङ मार्गमार्फत निर्माण गर्न लागिएको हो,’ पण्डित भने, ‘त्रिशूली नदीस्थित नुवाकोटको ढोडबेँसीस्थित बाँध स्थलदेखि धादिङको हाँडीखोलासम्म आठ हजार १०० मिटर सुरुङ निर्माणको काम शुरु गर्ने पहिलो लक्ष्य छ ।

उनका अनुसार आयोजनाको काम सम्झौता भएलगत्तै शुरु गर्न लागिए पनि त्रिशूली नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाव कम भएपछि अक्टुबरदेखि कामलाई तीव्रता दिन लागिएको हो ।

आयोजना निर्माणसम्बन्धी चीनमा भएको सम्झौतामा चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धकाली पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङफाङका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

–रामहरि न्यौपाने (रासस)