बालश्रम नियन्त्रणमा ट्रेड युनियन कांग्रेस सक्रिय

बालश्रम नियन्त्रणमा ट्रेड युनियन कांग्रेस सक्रिय


नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहमा बालश्रम नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनियनको शनिबार बसेको बैठकले जिल्लालाई बालश्रमरहित जिल्लाको रूपमा रूपान्तरण गर्न सबै स्थानीय तहमा अभिमुखीकरण र प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्ने निर्णय हो । युनियनले विगत तीन वर्ष अघिदेखि जिल्लामा बालश्रम नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैठकले जिल्लाका सबै स्थानीय तहमा युनियनको संरचना विस्तार गर्न प्रतिनिधिसमेत तोकेको छ । बैठकले शिवपुरी गाउँपालिकामा रामबहादुर थापा, ककनीमा शिव देवकोटा, लिखुमा कल्याणभक्त पाण्डे, बेलकोटगढीमा जनार्दन सिलवाल, तारकेश्वरमा मञ्जु प्रधान, म्यागङमा सुनील श्रेष्ठ, किस्पाङमा पूर्णबहादुर थापा, विदुरमा मछिन्द्र्र खड्कालाई प्रतिनिधि तोकेको छ । यसैगरी सूर्यगढीमा केदार रिमाल, तादीमा सीताराम भण्डारी, पञ्चकन्यामा रविन थापा र दुप्चेश्वरमा किरण अधिकारीलाई प्रतिनिधिका रूपमा खटाएको छ ।

युनियनका जिल्ला अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा युनियनको केन्द्र्रीय महाधिवेशन र प्रदेश ३ को अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको सचिव मछिन्द्र्र खड्काले जानकारी दिए ।