गुल्मी कांग्रेसका सभापतिले औंल्याए देउवाको कमजोरी

गुल्मी कांग्रेसका सभापतिले औंल्याए देउवाको कमजोरी


रमेश विक

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले नेतृत्वमा एकताको खाँचो भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको आषाढ ५, ६ र ७ मा हेटौँडामा सम्पन्न राष्ट्रिय भेलामा सभापति श्रेष्ठले गूल्मी कांग्रेसले सञ्चालन गरेको ५० दिने महाअभियानको बारेमा प्रष्ट्याएका थिए ।

आफ्नो मन्तव्यको अधिकांश समय ‘नेतृत्व कमजोर भएका कारण कांग्रेसको यो हविगत भएको’ भन्दै गुजारेका श्रेष्ठले हिजो सभापति सत्तामा हुँदा कमजोर भएका कारण स्थानीय प्रदेश र केन्द्रीय निर्वाचनमा कांग्रेस पराजय भएको आरोप लगाए ।

सत्तामा त सभापतिज्यू कमजोर हुनुभयो र यो हविगत भयो, अहिले प्रतिपक्षको भूमिकामा पनि निरिहीता देखाइयो भन्दै उनले ब्यंग्यसहित दुखेसो गरेका थिए । कांग्रेस सभापति देउवाप्रति प्रश्न राख्दै उनले सत्ताधारीले ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पास हुन दिइनु नै नेतृत्वको खुट्टा दह्रो नभएको प्रमाण भएको तर्क गरे ।

कांग्रेसलाई पूनर्जीवन दिन हेटौंडाबाट सभापति देउवाले हनुमान प्रवृत्तिका मान्छेका कुरा होइन जिल्लामा अहोरात्र खटेका कार्यकर्ताका कुरा सुनेर एकताको सन्देश दिन उनले आग्रह गरे । पार्टीलाई अगाडि बढाउन राजधानीमा बसेर सकुनी प्रवृत्ति गरेर होइन कि गाँउ-गाँउमा गएर जागरण अभियान थाल्न समेत नेतृत्वलाई गुल्मी सभापति श्रेष्ठले सुझाव समेत दिएका थिए ।

त्यसै क्रममा पार्टी सभापति शेरबहादुर दउवाले भने– ‘गुल्मीको रेसुङ्गा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातले मलाई दुःखी बनाएको छ । अब पार्टीलाई अन्तरघातबाट जोगाउन पार्टीमा हामी सबै एकढिक्का भएर अगाडी बढ्नुको विकल्प छैन ।’