अहिलेको शिक्षाबाट समाजवाद आउँदैन मन्त्रीज्यू : सांसद डा. पाठक

अहिलेको शिक्षाबाट समाजवाद आउँदैन मन्त्रीज्यू : सांसद डा. पाठक


नेकपा एमालेका सांसद डा. सूर्य पाठकले अहिलेको शिक्षा प्रणालीले मुलुकमा समाजवाद आउँदैन भन्दै शिक्षामा तत्कालै व्यापारीकरण रोक्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

संसदमा आज विशेष समय लिएर बोल्दै उनले भने– ‘हामीले मुलुकमा जानाजानी दुईखाले नागरिक उत्पादन गरिरहेका छौँ, यस्तो शिक्षा पद्दतिले समाजवाद आउँदैन, तत्कालै प्रणालीमा सुधार गर्नु जरुरी छ ।’

सांसद डा. पाठकले हुनेखानेहरुले ठूल्ठूला र महँगा बोर्डिङ स्कुल पढ्ने र भनेजति शुल्क तिर्न नसक्ने नागरिकका छोराछोरीले सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको र यस्ता विद्यालयको पठनपाठनमा सरकार र समाजकै ध्यान नपुग्नाले गुणस्तर प्रतिदिन खस्किएकोतर्फ सरकारको तत्कालै ध्यान जाओ भने ।

यसरी हामीले देशमा दुईखाले नागरिक उत्पादन गरिरहेकोले यस्तो अवस्थालाई रोक्न अहिलेको बलियो सरकारलाई पनि केले रोकेको हो– उनको प्रश्न थियो । उनले भने– ‘यस्तो शिक्षा पद्दतिले देशमा समाजवाद आउँदैन मन्त्रीज्यू तपाईंले तत्कालै सोच्नुपर्यो ।’

‘अरु देशमा सामुदायिक विद्यालयमा पढ्न नसकेर छोराछोरीलाई निजी स्कुलमा पठाउन बाध्य हुने गरेका तर हामीकहाँ भने निजी स्कुलमा शुल्क तिर्न नसकेर सामुदायिकमा जानुपर्ने उल्टो अवस्था रहेकोले यस्तो अवस्थाको निराकरण गरी जनताको शिक्षाका आधारभूत अधिकारलाई सबल बनाउन सरकारलाई केले रोकेको हो ?’– डा. पाठकको प्रश्न थियो ।

शिक्षा र स्वास्थ्य जस्तो नागरिकको आधारभूत आवश्यकताको विषयमा पनि अझै व्यापारीकरण हुनु दुःखद हो भन्दै उनले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि ध्यानाकर्षण गराए ।

उनले भने– ‘वर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पहिला यही रोष्टममा उभिएर सरकारले स्वास्थ्यलाई ब्यापारीकरण गरेको भनेर भन्नुभएको थियो, आज उहाँ नै मन्त्री हुनुहुन्छ, तपाईंले रोक्नुपर्यो स्वास्थ्यको व्यापारीकरण ।’

सांसद पाठकले श्रमिकको न्युनतम ज्यालामा पनि वृद्धि गर्न माग गरे । सरकारले हाल मजदुरलाई जम्मा ९ हजार ७०० रुपैयाँ मासिक ज्याला दिएकोमा बढाएर न्युनतम २५ हजार बनाउनुपर्ने उनको जिकीर छ ।

राष्ट्रबैंकको महँगीको पछिल्लो वृद्धिदर हेरेर ज्यालामा वृद्धि गर्न उहाँले श्रममन्त्रीको ध्यानाकर्षण गराए । उनले भने– ‘हामीले मुलुकमा साँच्चिकै समृद्धि ल्याउने हो र यो देशको विकास गर्ने हो भने अहिले खाडीमा रहेका २५ लाखभन्दा बढी नेपाली युवालाई स्वदेश फर्काउन देशमा श्रमिकहरुलाई समयानुकुल ज्याला दिनुको अर्काे विकल्प छैन ।’