काँडेभ्याकुर संरक्षणमा सिद्धलेकका स्थानीय सक्रिय

काँडेभ्याकुर संरक्षणमा सिद्धलेकका स्थानीय सक्रिय


नेपालमा मात्र पाइने दुर्लभ चरा काँडेभ्याकुरको संरक्षणमा धादिङको सिद्धलेक गाउँपालिका– २ का बासिन्दा सक्रिय भएका छन् ।

नेपालमा पनि कमै क्षेत्रमा मात्र पाइने चरा काँडेभ्याकुर सिद्धलेक गाउँपालिका– २ को ढेवा जङ्गलमा पाइन्छ । जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न काँडेभ्याकुर संरक्षण गर्न जरुरी भएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

साबिक नलाङको ठाँटीभञ्ज्याङमा हालै आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष सिलवालले सिद्धलेक क्षेत्रलाई काँडेभ्याकुरको अध्ययन क्षेत्र बनाउने घोषणा गरे । त्यसैगरी जिल्ला समन्वय समितिका सदस्य कृष्णप्रसाद अर्यालले काँडेभ्याकुरसँगै अन्य विविधताले सिद्धलेक भरिपूर्ण छ भन्दै जैविक विविधता संरक्षण गर्न सबैसँग आग्रह गरे ।

कार्यक्रममा २ नं. वडाका वडाध्यक्ष कमलबहादुर गुरुङले सिद्धलेकलाई काँडेभ्याकुरले चिनाउने भन्दै यसको संरक्षणमा लाग्न वडावासीसँग आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा वन तथा वातावरणविज्ञ शिव अधिकारीले काँडेभ्याकुरबारे जानकारी गराएका थिए । त्यसैगरी पत्रकारहरू राजाराम शर्मा र शिव सिलवालले यसको प्रचारप्रसारमा सहयोग गर्ने बताए ।

काँडेभ्याकुर संरक्षण र प्रचारप्रसारका लागि सिद्धलेक गाउँपालिकाले चालू आ.व. ०७४÷७५ मा बजेटसमेत विनियोजन गरेको छ ।