ट्रम्पको नरम नीतिसँगै पेन्टागनले बनाइदिने भयो आप्रवासी बालबालिकाका लागि वासस्थान

ट्रम्पको नरम नीतिसँगै पेन्टागनले बनाइदिने भयो आप्रवासी बालबालिकाका लागि वासस्थान


अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाका लागि करिब २० हजार विछ्यौनासहितको वासस्थान निर्माण गर्ने भएको छ ।

पेन्टागनका प्रवक्ता ज्यामिन डेभिसले बिहीबार एएफपी समाचार समितिलाई दिएको जानकारीअनुसार अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा विभागको अनुरोधमा आप्रवासी बालबालिकाका लागि २० हजार अस्थायी विछ्यौनासहितको वासस्थानको व्यवस्था गर्न लागिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिप्रति केही लचिलो भएर आप्रवासी नागरिकका बालबालिकालाई पनि सँगै बस्न दिइने नीतिमा सहमति जनाएलगत्तै यो समाचार आएको छ ।

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमाबाबुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि यो नीति आएकोमा अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिएपछि यस नयाँ नीतिसँगै पेन्टागनको यो निर्णय आएको छ ।