प्रधानमन्त्रीसँग ल्हासाका नेपालीको आग्रह– नागरिकता र राहदानीको समस्या समाधान होस्

प्रधानमन्त्रीसँग ल्हासाका नेपालीको आग्रह– नागरिकता र राहदानीको समस्या समाधान होस्


चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

उनीहरूले राहदानी र नागरिकताका कारण आफूहरूलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।

चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओली शुक्रबार ल्हासा आइपुगेका बेला उनीहरूले सो आग्रह गरेका हुन् ।

नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार, वाणिज्य तथा सहयोगका सम्भावित अन्य क्षेत्रबारे पनि जानकारी गराएका थिए ।

नेपाली महावाणिज्यदूत गोविन्द कार्कीले नेपालीले ल्हासामा भोग्नुपरेका समस्या जानकारी गराउँदै समाधानका लागि आफूहरू पनि तत्पर रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाली समुदायको गुनासालाई सम्बोधन गर्न तयार रहेको र त्यसबारेमा तिब्बत सरकारसँग पनि कुराकानी गर्ने आश्वासन दिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

रासस