नेपाली पश्मिना सतचालीस मुलुकमा निर्यात

नेपाली पश्मिना सतचालीस मुलुकमा निर्यात


नेपालमा निर्मित पस्मिना विश्वका ४७ मुलुकमा निर्यात हुने गरेको छ ।

सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पस्मिना उद्योगबाट मुलुकले प्रशस्त आर्थिक लाभ लिन सक्ने नेपाल पस्मिना उद्योग संघले जनाएको छ ।

पस्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थका रूपमा ‘पस्मिना यार्न, सिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन् । नेपालको पस्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पस्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए । पस्मिनाको कारोबार सन्तोषजनक रहेको उनको भनाइ छ ।

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पस्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा दुई अर्ब ५० करोड रुपैयाँको पस्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा रु. दुई अर्बबराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्यालको भनाइ छ ।

अधिकांश पस्मिना उद्योग काठमाडौं उपत्यकामा रहेका छन् । च्यांग्राको रौँ पस्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पस्मिना उत्पादन हुन्छ ।