काङ्ग्रेस हेटौंडा-घोषणापत्रको ठहर : सरकारले राज्य आतङ्क मच्चायो

काङ्ग्रेस हेटौंडा-घोषणापत्रको ठहर : सरकारले राज्य आतङ्क मच्चायो


नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरूको भेलाले १९बुँदे घोषणापत्र जारी गर्दै सरकारले राज्य आतङ्क मच्चाएको आरोप लगाएको छ । सरकारको यस्तै रवैया कायम रहे उसले देशव्यापी आन्दोलनको चेतावनीसमेत दिएको छ ।

आज (शुक्रबार) सम्पन्न काङ्ग्रेस जिल्ला–सभापति भेलाले पार्टीमा देखिएको गुट–उपगुटको अन्त्य गर्ने र पार्टी सङ्गठन निर्माण गर्न देशभरि जागरण अभियान संचालन गर्ने जनाएको हो । तीन दिनसम्म चलेको भेलामा देशका सतहत्तरै जिल्लाका जिल्ला सभापतिहरू, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, नेताहरू र कार्यकर्ताहरूको सहभागी रहेको थियो ।

भेलाले जारी गरेको हेटौंडा घोषणापत्रमा सरकारले अधिनायवाद लाद्न खोजेको सबै कार्यकर्ताहरू चनाखो हुन आग्रह गरिएको छ । घोषणपत्रको १८ नंबर बुँदामा सरकारले काङ्ग्रेस समर्थकलाई पुर्वाग्रह राखेर पक्राउ गर्ने, राज्य आतंक मच्याउने र भौतिक आक्रमण गर्दै गिरफ्तार गर्न थालेकोले देशभर आन्दोलन गर्ने चेतावनी दिएको उल्लेख गरेको छ ।

भेलामा सहभागीहरूलाई बन्दसत्रका कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सभापति शेरबहादुर देउवाले निर्वाचनमा हारको जिम्मेवार सबैले लिंदै अब पार्टीलाई अघि बढाउन जिल्ला–जिल्लामा सरकारविरुद्धका कार्यक्रम चलाउन आग्रह गरे । उनले गुटमा सहभागी नभई सिङ्गो पार्टीमा लाग्न र संगठन निर्माणमा लाग्न पनि अनुरोध गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला लगायतका नेताहरूले पनि पार्टीभित्र देखिएको गुट अन्त्य गरेर सिंगो पार्टीको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा सहभागी जिल्ला सभापतिहरूले नेतृत्वका कारण पार्टी पराजय भएकोले सहि रूपमा समीक्षा गरेर नयाँ कार्यक्रम चलाउनपर्ने बताएका थिए । सभापतिहरूको भेलापछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले यो भेलाले पार्टीको आन्तरिक संगठन एक ढिक्का रहेको सन्देश दिएको बताए ।

यस्तो छ हेटौँडा घोषणापत्र :

(नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला–२०७५ द्वारा पारित हेटौंडा घोषणा पत्र)

नेपाली काङ्ग्रेसले जन्मकालदेखि नै नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै आदरणीय नेताहरू वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूप्रति गौरव गर्दछ ।

पछिल्लो कालखण्डमा नेपाली काङ्ग्रेसले दोश्रो जनआन्दोलन ०६२–०६३, शान्ति प्रक्रिया र अन्तरिम संविधान निर्माणमा सफल नेतृत्व प्रदान गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आदरणीय नेता गिरिजा प्रसाद कोइरालालाई सम्मान पूर्वक स्मरण गर्दछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गरि राष्ट्रिय आवश्यकतालाई सम्वोधन गर्ने कार्यमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय नेता सुशील कोइरालाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।

सविधान कार्यान्वयनको कार्य चुनौतीपूर्ण रहेको तत्कालिन परिस्थितिमा नेपाली काङ्ग्रेसको नेतृत्वमा संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गरि संविधानको कृयाशीलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

सात दशकभन्दा लामो बलिदानीपूर्ण संघर्ष र संविधानसभामार्फत संविधान निर्माण एवं यसको कार्यान्वयन गर्न नेपाली काङ्ग्रेसले प्रदान गरेको सफल नेतृत्व तथा मूलुकमा उदार लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न प्राप्त आफ्नो राजनीतिक विजय प्रति गौरव गर्दै आगामी दिनमा नेपाली काङ्ग्रेस पार्टीको संगठन थप सबल, सदृढ, आधुनिक एवं प्रभावकारी बनाउने जिल्ला सभापतिहरूको यो राष्ट्रिय भेला अठोट गर्दछ ।

१. पार्टी विधानसम्बन्धी विभिन्न जिल्ला, प्रदेस तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरूलाई मध्यनजर राखी गामी मुहासमिति बैठकबाट विधान संसोधन एवं परिमार्जन हुने कुरामा यो भेला विश्वास व्यक्त गर्दछ ।

२. विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै जिल्ला सभापतिहरूको यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरूको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने सामुहिक संकल्प गर्दछ ।

३. केन्द्रिय समितिको बैठकले राष्ट्रिय जागरण अभियान प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवस्यक प्याकेज तर्जुमा गरि अविलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो पुरै वर्षलाई ‘प्रशिक्षण वर्ष’को रुपमा अघि बढाऊन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।

४. जिल्ला सभापतिहरूको समेत प्रतिनिधित्व हुनेगरी अबिलम्ब विधान मस्यौदा समिति गठन गर्न तथा महासमितिको बैठकको स्थान र मिति अविलम्ब तोक्न यो भेला हार्दिक अनुरोध गर्दछ ।

५. प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।

६. पार्टीभित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै भेला हार्दिक अनुरोध गर्दछ । संविधानसम्मत प्रकृयालाई अक्षरशः कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्व समक्ष यो भेला हार्दिक अनुरोध गर्दछ ।

७. स्थानीय र प्रदेस संरचनाअनुरूप गरि संरचना निर्माण गर्न आवश्यक कार्यविधि बनाई अवश्यक व्यवस्था गर्न केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दछ ।

८. अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ–सस्थाहरूको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिवेशन गर्ने ।

९. कम्युनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रवैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावादउन्मूख रहेको प्रष्ट छ । अतः लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानूनअन्तर्गत रही निर्वाध पेसा व्यवसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली काङ्ग्रेस दृढतापुर्वक उभिने प्रण गर्दछ ।

१०. कम्युनिष्ट सरकार बनेपछि आमनागरिकले चर्को मुल्यवृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलाले गम्भिरतापूर्वक लिएको छ । मुल्यवृद्धि बारे एकातर्फ प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र मूल्यवृद्धिको विरोधमा आम विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रस्ट्याएको छ । यसै क्रममा नेपाली काङ्ग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरि दोहोरिएमा यो भेला सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।

११. निर्वाचनको बेला स्थिरताको नारा दिने तर शासन–प्रणालीलाई नै अस्थिरतातर्फ धकेल्ने गरि राष्ट्रपतीय प्रणाली बारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्वारा निर्मित वर्तमान संविधानलाई विफल पर्ने षड्यन्त्रको रुपमा लिन्छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने यो डिजायनले लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई समाप्त पार्न उद्यत तत्वहरूलाई सहयोग पुर्याउने खतरातर्फ सचेत गर्न चाहन्छ ।

१२. तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत रहेको भेला ठहर गर्दछ ।

१३. संविधान निर्माण तथा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराई मधेशमा रहेको भाव समेतलाई ध्यानमा राखि तत्कालीन समयमा नेपाली काङ्ग्रेस नेतृत्वमा रहेका सरकारहरूले गरेको संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघात भन्नेहरू नै आज संशोधन आवश्यक रहेको निष्कर्षमा पुग्न तिनको नैतिक पराजय र हाम्रो राजनैतिक विजय हो । संसोधन गर्छौं भन्ने तर अलमल्याइ राख्ने र त्यसलाई सत्ताको सोदावाजीका लागि प्रयोग गर्ने प्रवृत्तिलाई मधेसमाथिको नयाँ पड्यन्त्रका रुपमा यो भेला ठहर गर्दछ ।

१४.
नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले भूकम्पपीडितहरूलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्ज्युरीलगायत गम्भीर प्रकृतिका रोगीहरूलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५००० उपलब्ध गराउने, ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने जस्ता विगतका जनहितकारी निर्णयलाई उल्याट्याउनुले यो सरकारको सामाजिक सुरक्षाप्रतिको सम्वेदनहीनतालाई उदाङ्गो पारेको छ । अविलम्ब यी कार्यक्रमहरूलाई निरन्तरता दिन यो भेला जोडदार माग गर्दछ ।

१५. प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेस सभा सम्पूर्ण स्थानीय व्यवस्थापिकाभित्र नेपाली काङ्ग्रेसका प्रस्तुतिलाई सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृत्तिका विरुद्ध थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धताका लागि यो भेला हार्दिक अनुरोध गर्दछ ।

१६. नेपालको संविधानले प्रदेस र स्थानीय तहलाई दिएको अधिकार समेतलाई कुण्ठित गर्दै वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट बिनियोजनले प्रदेस र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउँदै लगेबाट यो सरकार संघीयताविरोधि बाटोमा अग्रसर भएको प्रस्ट हुन्छ । यो भेला संविधानविरोधि कार्यको घोर भत्र्सना गर्दछ ।

१७. वर्तमान सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको छ । पूर्वाग्रहपूर्ण ढङ्गले क्रमागत बहुवर्षीय विकास निर्माणका योजनाहरू समेत कार्यक्रमबाट हटाइएका प्रति यो भेला गम्भीर आपत्ति प्रकट गर्दछ ।

१८. देशैभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण, अलग विचार राख्ने नेता कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउने जस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दुरासयपूर्ण यस्ता गतिविधि तत्काल बन्द नगरिए यो भेला देशब्यापी आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।

१९. नेपाली काङ्ग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजन गर्ने केन्द्रिय कार्यसमिति तथा आतिथ्यपूर्ण व्यवस्थापन गर्ने नेपाली काङ्ग्रेस मकवानपुर जिल्लालाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।