१९ वर्षीय किशोरले फ्रान्सलाई अन्तिम १६ मा पुऱ्याए

१९ वर्षीय किशोरले फ्रान्सलाई अन्तिम १६ मा पुऱ्याए


फिफा विश्वकप फुटबल समुह ‘सी’अन्तर्गत भएको दोश्रो खेलमा फ्रान्सले पेरुलाई १–० ले पराजित गरेको छ । यो विजयसँगै फ्रान्स ६ अंक बटुल्दै अन्तिम १६ मा पुगेको छ । फ्रान्सका लागि १९ वर्षीय युवा खेलाडी किलियन म्बाप्पेले गोल गरेका थिए । उक्त एक मात्र गोलपछि खेलकै निर्णायक गोल सावित भएको थियो । लगातार दोश्रो खेलमा पनि पराजित भएपछि पेरु विश्वकपबाट बाहिरिएको छ ।

सन् १९९८ को विश्व विजेता फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । दोश्रो खेलमा पनि विजय हासिल गरेपछि फ्रान्स ६ अंकका साथ फ्रान्स अंक तालिकामा पहिलो स्थान बनाएको छ । फ्रान्सको तर्फवाट ३४ औं मिनेटमा म्बाप्पेले गोल गरेका थिए । यो विश्वकपमा आफ्नो राष्ट्रको लागि गोल गर्ने म्बाप्पे सवैभन्दा कान्छो खेलाडी बनेका छन् । उनले यो गोल १९ वर्ष १८३ दिनको उमेरमा गरेका थिए । यो भन्दाअघि फ्रान्सकै युवा खेलाडी डेविड ट्रेजेगुएटले २० वर्ष २४६ दिनमा गोल गरेका थिए ।

पेरुमाथि आरम्भदेखि नै हाबी भएको फ्रान्सले दुवै हापमा गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि असफल भएको थियो । पेरुले पनि पटक–पटक गोल गर्ने अवसर नपाएको होइन तर फ्रान्सको बलियो डिफेन्सको अगाडि निरीह सावित भएको थियो । दोश्रो हापमा पेरुले फ्रान्समाथि निकै दबाब बनाएको थियो । तर, पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पेरु विश्वकपबाट बाहिरिन पुग्यो । फ्रान्ससँग भएको दोश्रो खेलमा पेरुले गोल गर्न नसेकपनि आफ्नो खेलले दर्शकहरुको मन भने जित्न सफल भएको छ ।