तेस्रो नजर

तेस्रो नजर


pathakmanchकाङ्गे्रसमा शुद्धीकरण आवश्यक
नेपाली काङ्ग्रेस प्रजातन्त्रका लागि हरेकपटक सङ्घर्ष गर्दै आएको एक मात्र ठूलो प्रजातान्त्रिक पार्टी हो । जनताको हातबाट जब–जब प्रजातन्त्र खोसिन्छ त्यो समयमा काङ्ग्रेसले क्रान्तिको अगुवाइ गर्दै जनताका मौलिक हकअधिकार र स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ताका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्नबाट कहिले चुकेन । तर, पछिल्लो समय यता पार्टीभित्रै पार्टीको एजेन्डाभन्दा पनि माओवादीको एजेन्डा सफल बनाउन पार्टीभित्रकै पदाधिकारी लागेको देखिन्छ । यस्तो क्रियाकलापमा रातदिन लागिपर्ने व्यक्ति हुन्– महामन्त्री कृष्णप्रसाद सिटौला । पार्टीको एजेन्डा र केन्द्रीय समितिको निर्णयभन्दा बाहिर गएर र लाखौँ कार्यकर्ताको मर्म र भावनाविपरीतका अलोकतान्त्रिक गतिविधिका लागि उनी मसहुर देखिन थालेका छन् ।
विगतको संविधानसभाको चुनावमा पनि नेपाली काङ्ग्रेस पराजित हुनुमा सिटौलाको ठूलो योगदान रहेको छ । माओवादी लडाकुलाई खुलमखुला छोडिदिने, उनीहरूले जतिसुकै अराजक गतिविधि गरे पनि छुट दिने, नेपाली काङ्ग्रेसका हजारौँ कार्यकर्ता माओवादीबाट मारिँदा–कुटिँदा पनि कुनै किसिमको सहयोग नगरिनु, बेवास्ता गरिनु के एक जिम्मेवार पदमा बसेको नेताले गर्न मिल्दछ ? आफ्नो जीवनलाई सधैंभरि राजनीति इमानदारितामा, कुनै लोभलालचमा नपारी सादा र उच्च विचार लिएर राजनीति गरेको सोझो सभापतिलाई प्रधानमन्त्रीको पासो फालेर प्रधानमन्त्री बनाउन र राम्रोसँग पहल नगरी माओवादीको एजेन्डालाई सफल बनाउन सिटौलाको भूमिका महत्वपूर्ण रह्यो । पार्टीमा वरिष्ठ, त्यागी काङ्ग्रेसलाई अगाडि लैजानुपर्छ भन्ने राम्रो सोच भएका कैयौँ नेता हुँदाहुँदै सिटौलाजस्ता पार्टी डुबाउने, माओवादीको एजेन्डालाई पास गराउन काङ्ग्रेसभित्र भूमिका निर्वाह गर्ने व्यक्तिलाई महामन्त्री पदमा मनोनीत गर्नु पार्टीको ठूलो भूल थियो भन्ने अहिले पुष्टि भएको छ ।
अब नेपाली काङ्ग्रेसलाई पहिलेकै अवस्थामा पु-याउन सबैभन्दा पहिला पार्टीभित्रका भाइरस र भिजिलान्तेहरूलाई अबको महाधिवेसनबाट ठेगान लगाउनुपर्छ । यसका लागि देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली काङ्ग्रेसको भविष्य राम्रो देख्न चाहने कार्यकर्ता तथा शुभचिन्तक एक हुनुपर्छ । पार्टीलाई विभिन्न गुट–उपगुटमा विभाजन गरेर कोठे राजनीति गर्ने व्यक्तिको समेत पहिचान गरेर यस्ता गतिविधिमा लाग्नेलाई कार्यकर्ताले समयमा ठेगान नलगाउने हो भने काङ्ग्रेस इतिहासमा मात्र सीमित हुनेछ ।
केही समयअघि गरिएको विभाग गठनको पूर्णतालाई लिएर पार्टीभित्र फेरि असन्तोष पैदा गराएको छ जुन स्वाभाविक पनि देखिन्छ । किनभने जनसम्पर्क विभाग भनेर नाम राखेपछि सम्पर्क समिति विभागमा सम्पर्क समितिमा आबद्ध व्यक्ति तथा सदस्यलाई राख्नुपथ्र्यो । पार्टीभित्रका केही कोठे राजनीति गर्न सिपालु जसको पार्टी तथा जनतामा कुनै किसिमको जनाधार छैन त्यस्तो व्यक्तिको इसारा र सल्लाहमा काम गर्दा काङ्ग्रेस पार्टी कमजोर हुँदै जाने निश्चित छ । नेपाली काङ्ग्रेस पार्टी भनेको कसैको पेवा र आफ्ना नातेदार आफन्त मात्रलाई भर्ती गर्ने संस्था होइन । काम गर्ने सबै व्यक्तिको समान पहुँच र अधिकार हुनुपर्छ । जनजाति, महिला दलित, मधेस, मुस्लिम र उत्पीडित वर्गको बारेमा नेपाली काङ्ग्रेसले उनीहरूको समस्या र मागबारे सम्बोधन गर्नु जरुरी देखिन्छ । कुनै व्यक्तिविशेषको भरमा मात्र पार्टी चलाउने हो भने निश्चित रूपमा पार्टी अप्ठ्यारो अवस्थामा पुग्न सक्दछ । कुनै पनि निर्णय गर्दा पार्टीले संस्थागत गरेर जानुपर्छ । यो कुरालाई नेपाली काङ्ग्रेसका नेताले समयमै मनन गर्दा सबैको भलो होला ।
आगामी निर्वाचनमा पनि नेपाली काङ्ग्रेसले आफ्नो स्थापित मूल्य र मान्यतालाई आत्मसात् गर्दै स्थापित एजेन्डा लिएर जनतामाझ जानुपर्छ । पार्टीमा इमानदार, सक्षम र जनतामा विशेष प्रभाव राख्ने व्यक्तिलाई उम्मेदवार बनाउन सक्यो भने काङ्ग्रेसको जित सुनिश्चित छ । फेरि पनि पार्टीमा भागवण्डा लगाएर ‘कोइराला’ र ‘देउवा’ भनेर पर्सेन्टेजको आधारमा कोटा सिस्टम बनाउन थालियो भने काङ्ग्रेसका लागि योभन्दा अर्को दुर्भाग्य केही हुने छैन । किनकि, अब हुने निर्वाचन नेपाली काङ्ग्रेसका लागि जीवनमरणको सम्बन्ध हुनेछ । त्यसैले नेपाली काङ्ग्रेसभित्रका अवसरवादी, माओवादीको एजेन्डा बोकेर काङ्ग्रेसलाई कमजोर बनाउन लागेका भिजिलान्तेहरूलाई सच्चा पार्टीलाई माया गर्ने कार्यकर्ताले पहिचान गरी आउँदो महाधिवेशनमा ठेगान लगाउनुपर्छ । वास्तवमा अब तीन शीर्ष नेताहरू पार्टीको संरक्षक भएर बस्नुपर्छ र पार्टी हाँक्ने जिम्मा अर्जुननरसिंह केसी, डा. रामशरण महत, नरहरि आचार्य, विमलेन्द्र निधि, चित्रलेखा यादव, गगन थापा, बालकृष्ण खाँण, चन्द्र भण्डारी, मनमोहन भट्टराई, धनराज गुरुङ, मीन विश्वकर्मा, विश्वप्रकाश शर्मालगायतक युवा नेताहरू खोजी–खोजी जिम्मा दिनुपर्छ । अनि मात्र काङ्ग्रेस र सिङ्गो देशकै दशा सुध्रने छ ।
– चित्र केसी (अध्यक्ष, जनसम्पर्क समिति यूएई)

काङ्गे्रस नेताको आपत्ति
नेपाली काङ्ग्रेसको संसदीय विभागमा आफूलाई जानकारी नदिई सदस्य मनोनयन गरेकोमा काङ्ग्रेस नेता एवम् पूर्वमन्त्री तारिणीदत्त चटौतले आपत्ति जनाउनुभएको छ । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला केन्द्रीय सदस्य रहिसक्नुभएका चटौतले यसअघि नै क्रमश: परराष्ट्र र प्रशिक्षण विभाग संयोजकको जिम्मेवारी सम्हालिसकेको स्मरण गराउँदै आफूलाई ‘ह्युमिलियट’ गराउन यसरी सदस्य मनोनयन गरिएको अनुभूति भएको बताउनुभयो । आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारीसमेत स्वीकार नगर्ने सोच बनाएर बसेको व्यक्तिलाई यसरी विभागको सदस्यमा बिनासोधपुछ गरिएको नियुक्ति फिर्ता लिन उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।