इमरानकी पूर्वपत्नीले मच्चाइन् खलबली

इमरानकी पूर्वपत्नीले मच्चाइन् खलबली


पाकिस्तानी पूर्वक्रिकेटर तथा राजनीतिकर्मी इमरान खानकी पूर्वपत्नीले प्रकाशित गर्न लागेको आत्मकथाको एक पुस्तकले पाकिस्तानमा ठूलो खलबली मच्चाएको छ । आत्मकथा प्रकाशित हुनुअघि नै रेहमको ज्यान लिइने धम्की दिइएपछि पुस्तक प्रकाशनअघि नै चासो र चर्चाको विषय बन्न पुगेको छ । उक्त आत्मकथामा रेहमले आफ्ना पूर्वपति एवम् पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) नामक पार्टीका अध्यक्ष इमरान खानबारे अहिलेसम्म सार्वजनिक नभएका थुप्रै सन्दर्भ समेटेको बताइन्छ । रेहमको सो आत्मकथा यस्तो बेला प्रकाशित हुन लागिरहेको छ जतिबेला पाकिस्तानमा आमचुनाव हुन गइरहेको छ ।

प्रकाशोन्मुख पुस्तकबारे रेहम खानले लन्डनमा दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘आत्मकथा लेखेर प्रकाशित गर्न लागेकोमा मलाई हत्याको धम्की दिइएको छ । यस विषयसँग जोडेर मलाई बदनाम तुल्याइने चेतावनी पनि दिइएको छ । यो अत्यन्त निराशादायी कुरा भए पनि म आशावादी नै छु । अब जे–जस्ता कुरा गरेर बदनाम गर्न खोजिए पनि म निच हुनेछैन ।’

रेहमले आत्मकथा प्रकाशित गर्न लागेको खुलासा केही समयअघि मात्रै गरेकी थिइन् । स्वाभाविक रूपले आत्मकथामा इमरान खानसँग सम्बन्धित कुराहरूले प्रमुखता पाउने अन्दाज जो–कसैले लगाउन सक्छ । रेहम स्वयम्ले पनि यस्तै बताएकी छिन् । आफ्नो आत्मकथा प्रकाशित भएपछि संसारले इमरानको असली रूप चिन्ने र उनको राजनीतिक जीवन नै तहसनहस हुनेसमेत रेहमको दाबी छ । तत्काल हुन गइरहेको पाकिस्तानी आमचुनावमा इमरानको पार्टीको हविगत शर्मनाक हुने पनि उनको भनाइ छ । रेहमको दाबीअनुसार यसरी पुस्तकबारे खुलासा गरिएपछि उनीमाथि हत्याको धम्की आउन थालेको हो ।

रेहमको प्रकाशोन्मुख आत्मकथाको एकथरीले निकै आलोचना गरेका छन् । यस सन्दर्भमा रेहम भन्छिन्, ‘प्रकाशित हुनुअघि नै लिक भएकोले मेरो पुस्तकको आलोचना भएको होइन, बरु यसमा समेटिएको एकसेएक सत्य–तथ्य विवरणका कारण यसलाई आलोचनाको सिकार बनाउन खोजिँदै छ ।’ पेसाले पत्रकारसमेत रहेकी रेहमले आफ्नो पुस्तकमा यथार्थ घटनालाई ज्वलन्त रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै सत्य स्वीकार गर्न डराउनेहरूले आफूलाई भयानक धम्की दिए पनि आफू विचलित नहुने बताएकी छिन् । आफ्नो जिन्दगी खुला किताबजस्तै भएकोले अब कुनै कुरा या कसैसँग पनि डर नमान्ने उनको भनाइ छ ।

ज्ञात रहोस्, आत्मकथाको सन्दर्भसँग जोडेर रेहमले पाकिस्तानका पूर्वतानाशाह परवेज मुसर्रफमाथि पनि प्रहार गरेकी छिन् । उनले भनेकी छिन्, ‘मुसर्रफले ट्विटमार्फत महिलाले यस्ता अभिव्यक्ति दिन नहुने बताएका रहेछन् । महिलाले के बोल्ने र के नबोल्ने भनी तय गर्ने मुसर्रफ को हुन् ? मैले त समाजको बन्धन तोडेकी हुँ । यसैलाई कारण बनाएर मेरो हत्या गर्ने धम्की दिन थालिएको छ । तर, म मुसर्रफजस्ता व्यक्तिमाथि होइन अल्लाहप्रति मात्र जजवाफदेही छु ।’