उपेक्षाको सिकार बन्दै काङ्ग्रेसका योद्धा

380 Shares

– बुद्धि चामलिङ राई

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट मुख्य चोकदेखि पूर्वतर्फ गाईघाट, बेल्टार, रामपुर, चतरा, धरान सडकखण्डको सडकअन्तर्गत गाईघाटको मुख्य चोकदेखि पूर्व पुरानो गाईघाट, असारीसम्मको सडकलाई पछिल्लो समय स्वर्गीय लालशेर राई मार्ग नाम राखिएको छ । सोही लालशेर राई मार्गको गाईघाट मुख्य चोकदेखि पुरानो गाईघाट करिब १ किलोमिटर सडक छ । सोही सडकबीच करिव ७ सय मिटरमा देब्रेपटि गाईघाटकै ठूलो र आकर्षक घर समाजसेवी नरध्वज राईको घर छ । मुख्य सडकदेखि उत्तरतर्फ साकेलाटोल जाने बाटोको दाहिनेपटि दोस्रो एकतले घर छ । सोही घरमा परिवारका साथ पूर्व माननीय नारायणबहादुर कार्की बसोबास गर्दै आएका थिए । अधिकांश समय सेतो कमिज सुरुवाल लगाएर तिनै लालशेर राई मार्ग पैदल आवतजावत गर्दथे उनी ।

तर, २०७४ साल मङ्सिर १३ गते बुधबारदेखि ६ महिना १५ दिन अघिदेखि उनलाई गाईघाटवासीले त्यता हिँडेको देखेका छैनन् । हँसिलो मुहार, अग्लो खाइलाग्दो जिउडाल धेरैजसो उनी पैदल नै गाईघाट बजार आसपास मा हिँडेको देखिन्थे । धेरैजसो काङ्ग्रेसको कार्यकर्ता भेटघाट गर्ने चिया पसल, पाटी कार्यालय र जिल्लाको सरकारी अड्डातिर विकासे काममा देखिन्थे कार्की । त्यसबाहेक उनी आफ्नो निर्वाचन क्षेत्रतिर नै आवतजावत गर्दथे । कहिलेकाहीँ सर्ट, पाइन्ट र स्टिकोटमा समेत ठाँटिने कार्की सधैँ मन्दमुस्कानका साथ आफ्नो अभिव्यक्ति दिने गर्दथे ।

दुर्भाग्यवश करिब ६ महिना १५ दिन अघिदेखि उनी राजधानीस्थित महाराजगन्ज टिचिङ हस्पिटलको बेडमा कुँजिएर कष्टकर जीवन बिताइरहेका छन् । यो ६ महिनाको अवधिमा उनले आफ्नो दाहिने खुट्टा घुँडामुनि गुमाउनुपरेको छ भने शारीरिक दुखाइसँगै मनको पीडा भनीसाध्य छैन । बुबा नरबहादुर कार्कीका जेठो छोराको रूपमा २००५ साल फागुनमा उदयपुरको पश्चिमी (उत्तरी उदयपुरगढी गाउँपालिका– १ पञ्चावती नेपालटार (पुरानो पञ्चावती गाविस– १ मा जन्मेका पूर्वमाननीय कार्की हाल टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौंमा घाइते अवस्थामा छन् ।

काङ्ग्रेस नेता कार्कीले माध्यमिक तह कक्षा १० सम्म स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयबाट पूरा गरे । ०२० सालमा भएको एसएलसी परीक्षामा उदयपुरगढी माध्यमिक विद्यालयबाट सहभागी भई उदयपुर जिल्लाकै प्रथम भए । माध्यमिक तह कक्षा १० सम्म उनी नै पहिलो हुन्थे । उनको कक्षामा करिब २० जना साथी थिए । कक्षा १० मा पढ्दाताका उनका कक्षाका रोलनम्बर २ भएका साथी चक्रबहादुर श्रेष्ठ पछि इन्जिनियर बने । कक्षा १० मै पढ्ने उनका तेस्रो रोल्न नम्बर ३ भएका गिरिराज पौडेल मन्त्रालयका अधिकृत भए । तर, कार्की भने राजनीतिमा होमिए । राजनीतिमा पूर्वमाननीय कार्कीको यात्रा भने एसएलसीपछि काठमाडौंमा कलेज पढ्ने बेलादेखि सुरु भएको हो । २०२१ सालमा त्रिचन्द्र कलेजबाट आईएस्सी पढ्दै गर्दा उनले सोही क्याम्पसका नेविसङ्घबाट स्ववियु सभापति भएका कौशलराज रेग्मीबाट नेविसङ्घको सदस्यता लिएका थिए ।

त्रिचन्द्र कलेजमा २ वर्ष आईएस्सी पढ्ने समयमा नेविसङ्घको केन्द्रीय सम्मेलन गर्ने क्रममा उनी २०२३ सालमा बालुवाटारबाट प्रहरीको पक्राउमा परे । प्रहरी पक्राउपछि थुनामा समेत परेका कार्की २०२३ सालमै आईएस्सीको पढाइ सकेर जन्मथलो उदयपुर फर्के । उनले आफू जन्मेकै ठाउँ उदयपुरगढीमा ३ वर्ष शिक्षण गरे । ३ वर्ष उदयपुरगढीमा शिक्षण गरेपछि उनी पुनः शिक्षण गर्न नै त्रिवेणी माध्यमिक विद्यालय कटारी गए । उनले त्रिवेणी माविमा ४ वर्ष शिक्षण गरे । त्यसपछि पुनः उनी उदयपुरगढी फर्किए र त्यहाँ उनले १२ वर्ष शिक्षण गरे र उदयपुरगढी माविको हेडमास्टरसमेत भए । १२ वर्ष शिक्षण गर्दा उनको परिचय हेडसर भइसकेको थियो । धेरैले उनलाई हेडसर भनेर पनि चिन्छन् । त्यसपछि कार्की शिक्षण पेसा छोडेर नेपाली काङ्ग्रेसको जिल्लाको राजनीतिमा होमिए ।

शिक्षण पेसामा करिब १९ वर्ष बिताएका कार्की २०४१ सालमा हेडसर हुँदै अवकाश लिई नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गरे । २०४८ सालमा उदयपुर जिल्ला नेपाली काङ्ग्रेसको पहिलो जिल्ला सभापति हेरम्बबहादुर थापा सभापति हुँदा उनी नारायणबहादुर कार्कीसमेत जिल्ला सदस्यतामा मनोनीत भए । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा हरिशङ्कर परियार जिल्ला विकास समितिको सभापति हुँदा कार्की जिविस सदस्य भए । २०५१ सालमा ४८ वर्षको उमेरमा नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति भएका कार्की लगातार ७ वर्ष नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सभापति भए ।

२०५८ सालमा स्वर्गीय नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबबीच टकराव बढ्दा काङ्ग्र्रेस नै फुट्न गयो र उनी देउवातिर लागे । २०५८ सालदेखि २०६३ सालसम्म पुनः कार्की नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको ५ वर्ष जिल्ला सभापति भए । कार्की काङ्ग्रेस फुट्नुअघि नेपाली काङ्ग्रेस र पार्टी फुटेपछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको गरेर करिब १३ वर्ष काङ्ग्रेसको उदयपुर जिल्ला सभापति भए । पछि संस्थापन पछि कोइराला र देउवापछि पार्टी पुनः एकता हुँदा उनले पार्टीको नेतृत्व जिल्ला सभापति विदुर बस्नेतलाई जिम्मा दिए । नेपाली काङ्ग्रेसको एकतापछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा कार्की उदयपुर जिल्लाको ३ नम्बर निर्बाचन छेत्र नेपाली काङ्ग्रेसको उम्मेदबार बने । २०६४ साल चैत २८ गते भएको संविधानसभाको निर्वाचनमा नेकपा माओवादीका उम्मेदबार मोहनबहादुर खत्री (दीपक)सँग उनी पराजित भए ।

कार्की दोस्रो भए भने नेकपा एमालेका उम्मेदवार पूर्व नेपाल बार एसोसिएसनका अध्यक्ष शम्भु थापा तेस्रो भए । त्यसपछि पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि पहिलो संविधानसभाबाट निर्वाचित सभासद् ४ वर्ष भत्ता पचाउन नै व्यस्त भए । कार्की त्यस ४ वर्षमा जिल्लामा नै सक्रिय रहे । २०७० साल मङ्सिर ४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा कार्की पुनः नेपाली काङ्ग्रेसको उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार भए र उनी भारी मतले विजयी भए । निर्वाचित भएपछि २०७० साल माघ ८ गते संविधानसभाको हल नयाँ बानेश्वरमा संविधानसभाको पहिलो बैठकमा पहिलोपटक कार्की ६०१ जना सभासद्को हुलमा उनले उदयपुर जिल्लाको क्षेत्र नम्बर ३ को प्रतिनिधित्व गरे ।

बम काण्डमा परेको ६ महिना ७ दिनपछि २०७५ साल जेठ २० गते आइतबार टिचिङ हस्पिटल महाराजगन्जमा पूर्वसभासद् कार्कीको दाहिने खुट्टाको घुँडामुनि काटिएको छ । हाल घाइते कार्की टिचिङ हस्पिटल महाराजगन्जमा कष्टकर जीवन बिताइरहेका छन् ।

कार्की नै सभासद् भएको बेला स्वर्गीय तत्कालीन नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा २०७२ साल असोज ३ गते संविधान घोषणा भएको थियो । कार्की संविधान घोषणा गर्न सफल सभासद् भए । आफ्नो काम पूरा गरे । नयाँ राज्य पुनः संरचनाअनुसार उदयपुर जिल्लालाई ३ वटा निर्वाचन क्षेत्रबाट घटाएर २ वटा निर्वाचन क्षेत्र बनाउँदा पहिलेको ३ नम्बर क्षेत्र हाल क्षेत्र नम्बर २ मा प¥यो र उनी २०७४ साल मङ्सिर २१ गतेको प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा कार्की तेस्रोपटक उम्मेदवार बने । उनी निर्वाचनको प्रचारप्रसारमा थिए, तर दुखद घटना त्यो २०७४ साल मङ्सिर १३ गते बुधबारको दिन । त्यो दिन २०७४ साल मङ्सिर १३ गते बुधबार बिहानको १० बजेर १५ मिनेट गएको थियो । उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ नेपालटार, दनुवारबेँसी (पुरानो पञ्चावती गाविस नेपालटार दनुवारबेँसी) मा चुनाव प्रचारप्रसारको क्रममा चुनावविरोधी नेकपा माओवादी विप्लव समूहले बम आक्रमण गऱ्यो । चुनाव प्रचार–प्रसारमा रहेका उम्मेदवार नारायणबहादुर कार्की र अर्की नेविसङ्घ नेतृ मीरा कटुवाल त्यो बम आक्रमणमा परी सख्त घाइते भए । हाल नेविसङ्घ नेतृ मीरा कटुवालको देब्रेखुट्टा काटिएको छ । हाल उनी स्टिलको खुट्टा जोडेर कष्टकर सामान्य हिँडडुल गर्न सक्छिन् ।

त्यस्तै बम काण्डमा परेको ६ महिना ७ दिनपछि २०७५ साल जेठ २० गते आइतबार टिचिङ हस्पिटल महाराजगन्जमा पूर्वसभासद् कार्कीको दाहिने खुट्टाको घुँडामुनि काटिएको छ । हाल घाइते कार्की टिचिङ हस्पिटल महाराजगन्जमा कष्टकर जीवन बिताइरहेका छन् । २०७४ साल मङ्सिर २१ गते प्रतिनिधिसभाको दोस्रो चरणको चुनाव हुँदै थियो । कार्की ८ दिनअगाडि नै बम काण्डमा परी सख्त घाइते भए । उनी हस्पिटल भर्ना भए । कार्की घाइते भएपछि उदयपुर जिल्ला २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका सहयोगी काङ्ग्रेसीजनहरूले निर्वाचन प्रचार (–प्रसार गरे । चुनाव प्रचार–प्रसार सहयोगका लागि भन्दै ओखलढुङ्गाका प्रतिनिधिसभा उम्मेदवार तथा संसद्मा चर्चित वक्ता मानिएका नेपाली काङ्ग्रेस ओखलढुङ्गाका पूर्वमाननीय रामहरि खतिवडाले कटारी झरेर चुनाव प्रचार–प्रसार गर्न सघाए । ८ दिनपछि भएको चुनावमा उम्मेदवार नारायणबहादुर कार्की एमाले (मावोवादी वाम गठबन्धनको एक्लो उम्मेदवार सुरेशकुमार राई (हिमाल) सँग ७ हजार १ सय ६ मतको अन्तरले चुनाव हारे । सुरेशकुमार राईले २२ हजार ५ सय ५१ मत पाय भने पराजित कार्कीले १५ हजार ४ सय ४५ मत पाए । एमाले–माओवादी वाम गठबन्धन नभएको भए कार्कीले जित्ने बढी सम्भावना थियो । तर, वाम गठबन्धनको अगाडि कार्कीको केही लागेन ।

पूर्वमाननीय कार्कीलाई छिटो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दैगर्दा हालसम्म उपचार गर्न लागेको सबै खर्च राज्यले व्यहोर्नुपर्छ र उनलाई जीवनभर राज्यले उपचार गर्नुपर्छ भन्नु पनि जायज ठहरिने छ । उनी मात्र होइन, उनीसँगै बमकाण्डमा परेकी नेविसङ्घ नेतृ मीरा कटुवालको समेत राज्यले उपचार गर्नुपर्छ । यसका लागि नेपाली काङ्ग्रेसले दरिलो आवाज राज्यसमक्ष उठाउनुपर्दछ । घाइते भएका पूर्वमाननीय कार्कीलाई नेपाली काङ्ग्रेस पार्टीले अवसर पाएको समयमा उच्च मूल्याङ्कन गर्दै अवसर दिनुपर्छ ।

कार्की अहिले ७० वर्षको भए । सायद अब उनको दाहिने खुट्टामा स्टिलको खुट्टा जोडिनेछ र केही कष्टकर भएर पनि उनी पुनः हिँड्न सक्छन् । हाल नेकपाका वरिष्ठ नेताद्वय एमालेका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालभन्दा १ वर्ष, एमाले पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालभन्दा ४ वर्ष र हाल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीभन्दा तीन वर्ष जेठो रहेका पूर्वमाननीय कार्की हालसम्म नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटीको केन्द्रीय सदस्यसम्म पुग्न सकेका छैनन् । काङ्ग्रेस केन्द्रीय समितिले समेत कार्कीलाई कुनै चासो दिएको छैन । कार्कीभन्दा निकैपछिका पुस्ता उनका आधा उमेरका कार्कीका चेलाहरू अहिले केन्द्रीय समितिमा छन् । हुन त एउटा राजनीति गर्ने व्यक्तिलाई जिल्लाको नेता, सांसद, केन्द्रीय सदस्य, मन्त्री, केन्द्रीय पदाधिकारी, पार्टी सभापति, प्रधानमन्त्री, राष्ट्रपति बन्ने रहरबाट कार्की पनि अछुतो छैनन् होला । तर, समय बदलिएको छ । पछिल्लो समय सबै वाम एकै ठाम भएको समयमा काङ्ग्रेसले फेरि पालो नपाउला कि भन्ने चिन्ता पनि हामी माझ जीवितै छ ।

उदयपुर जिल्लामा २०७० सालसम्ममा ३ वटा निर्वाचन क्षेत्र थिए । जसमा कम्युनिस्टको लालकिल्ला मानिन्थ्यो । २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनावमा नेपाली काङ्ग्रेसको पहिलोपटक जित निकाल्दै कार्कीले इतिहास रचे । उनी नेपाली काङ्ग्रेस उदयपुरको लामो समय जिल्लाको सभापति भएर काम गरे । उदयपुर जिल्लाको विकासको निम्ति विवादरहित नेता बने । उनलाई उदयपुरमा मन्त्रीभन्दा कम मान्दैनन् उदयपुरवासीले । उनी हँसिलो छन् । कसैलाई भनी बिराउँदैनन् । कसैलाई तुच्छ बोल्दैन, रिसाउँदैन, सानो–ठूलो उमेर सबैलाई माया गर्छन् । यसो र पनि उनी सबैको अभिभावक नेता भएका छन् । उनी सबै उदयपुरवासीको विश्वासको पात्र बनेका छन् ।

२०५८ सालमा काङग्रेस फुट्दा उनले देउवालाई सघाए । अहिले तिनै देउवा पार्टीको सभापति छन् । केन्द्रीय समितिमा सदस्य तथा पदाधिकारी मनोनीत गर्दा देउवाले २०५८ सालमा आफूलाई सघाएका कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेबारे सोच्दा पनि सोचेनन् । यतिबेला उनलाई मनोनित गरिदिनु काङ्ग्रेसको कर्तव्य र कार्कीको सम्मान सावित हुने थियो । राजनीतिमा लागेर देश र जनताका लागि ज्यान बाजी राख्दै आफ्नो खुट्टा गुमाएका कार्कीको सम्मानका लागि पनि यो काङ्ग्रेसको कर्तव्य हुन आउँथ्यो । काङ्ग्रेसका लागि आफ्नो ज्यान बाजी राख्ने कार्कीजस्ता नेतालाई देउवाले चिन्न सकेनन्, चिनेर पनि कदर गर्न जानेनन् ।

380 Shares

प्रतिक्रिया