‘आप्रवासी नीति’बाट पछि हट्दै ट्रम्प !

‘आप्रवासी नीति’बाट पछि हट्दै ट्रम्प !


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो बनेका छन् । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमाबाबुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याए पनि सो नीतिको निकै आलोचना भएपछि त्यसप्रति राष्ट्रपति ट्रम्प केही लचिलो बनेका एएफपीले प्रकाशमा ल्याएको छ ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो । अमेरिकाजस्तो देशले पनि आफ्ना आमाबाबुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उनी उक्त निर्णयलाई उल्ट्याउन तत्पर भएका हुन् ।

बताइएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमतिको आदेश दिँदैछन् । यो निर्णय उनको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् ।

यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपतिले परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ भन्ने प्रतिक्रिया दिएका छन् । ।

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

उनले भनेका छन्– परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो ।