अब बजारमा खेलकुदको गीत घन्किने

अब बजारमा खेलकुदको गीत घन्किने


डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनले खेलकुदसम्बन्धी गीत बजारमा ल्याउने भएको छ । फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै ६ वर्षअघि नै तयार पारिएको गीत ९ असारमा ओलम्पिक डेको अवसर पारेर सार्वजनिक गरिने बताएको छ ।

गीत ६ वर्षअघि नै तयार भए पनि विविध कारणले त्यतिबेला सार्वजनिक गर्न नसकेको र अहिले भिडियोसहित गीत बजारमा ल्याउन लागेको जानकारी गराएको छ ।

फाउन्डेसनका अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठले सबैमा खेलकुदप्रति जागरण तथा अभिरुचि बढाउने उद्देश्यले खेलकुदका गीतहरू तयार पारिएको बताए । ‘खेलकुदलाई विषयवस्तु बनाएर रचना गरिएका गीतहरू नगन्य मात्रामा रहेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले मैले एकल प्रयासमा नै गीत तयार पारेको हुँ । आशा छ, यो खेलकुदसम्बन्धी गीत सबैको मुखमा गुन्जनेछ ।’

एल्बममा तीन गीत समावेश रहेका छन् । सबै गीतमा डा. खगेन्द्र श्रेष्ठले नै स्वर भरेका छन् । गीतको लोकार्पण भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ९ असारमा हुनेछ । फाउन्डेसनले स्थापनाकालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी तथा पदक विजेताहरूलाई सम्मानित गर्दै फाउन्डेसनको स्थापना २०६५ मा भएको थियो ।