साउन्ड टेटेमा युवराज र स्मृतिलाई स्वर्ण

साउन्ड टेटेमा युवराज र स्मृतिलाई स्वर्ण


युवराज लामा र स्मृति कोइरालाले प्रथम बृहत् राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको फाइनलमा प्रदेश ३ का युवराजले प्रदेश १ का प्रेम लिम्बूलाई १२–१० र ११–७ को सोझो सेटमा पराजित गरेका हुन् । प्रदेश १ का छत्रबहादुर तामाङ र प्रदेश २ का लक्षमेश्वर महतो तेस्रो भए ।

सानो गौचरणस्थित काठमाडौं जिल्ला खेलकुद विकास समितिको हलमा भएको महिला सिंगल्स उपाधि भिडन्तमा प्रदेश १ की स्मृतिले प्रदेश ५ की जल्सा सापकोटालाई ११–७ र ११–८ को सीधा सेटमा पराजित गर्दै स्वर्ण जितेकी थिइन् । पुरुष\महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र १–१ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव कुमार पौडेललगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा ५६ खेलाडीले पुरुष–महिला सिंगल्समा प्रतिस्पर्धा गरेका थिए ।